१० करोड लागतमा जाजरकोटको चौखामा सबस्टेसन निर्माण

वीरेन्द्रनगर (सुर्खेत)– जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा सबस्टेसन निर्माण भएको छ । ३३/११ केभी विद्युत प्रसारणलाइन दुई जिल्लामा पुर्याउनका लागि नेपाल विद्युत प्राधिकरणको झण्डै १० करोड लागतमा सबस्टेसन निर्माण भएको हो ।
नेपाल विद्युत प्राधिकरणसँग वाइबा इन्फ्राटेक प्रालिले उक्त सबस्टेसन निर्माण गर्नका लागि सम्झौता गरेको थियो । एक महिनाभित्र उक्त सबस्टेसन चार्जिङ गर्ने लक्ष्य रहेको वाइबा इन्फ्राटेक प्रालिका वरिष्ठ सर्वेक्षक करुण शाहीले जानकारी दिए । जाजरकोटको कुदुबाट आएको प्रसारणलाइन चौखासम्म निर्माण नभएका कारण रुकुम पश्चिमको बाफिकोट सबस्टेसनबाट आएको विद्युतबाट चार्जिङ गर्ने लक्ष्य छ । जाजरकोट खण्डको लामो समयदेखि प्रसारण लाइनको काम नहुँदा सबस्टेसनसम्म विद्युत लिन रुकुम पश्चिमको बाफिकोटस्थित सबस्टेसनबाट आएको विद्युत प्रयोग गर्नुपर्ने बाध्यता छ ।
यो सबस्टेसन निर्माणसँगै जाजरकोट खण्डमा पनि प्रसारणलाइन निर्माण गर्न दबाब बढेको छ । ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत उत्पादन गृहको छेउमै यो सबस्टेसन निर्माण भएको हो । यही सबस्टेसनबाट जगदुल्ला जलविद्युत १०६ मेगावाट आयोजना निर्माणस्थलमा विद्युत लिने लक्ष्य राखिएको छ । त्यस्तै डोल्पाको त्रिपुराकोटमा निर्माण हुन लागेको सबस्टेसनमा समेत यही चौखाबाट विद्युत जडान गरिने छ । तल्लो डोल्पाका साथै पूर्वी जाजरकोटको अधिकांश ठाउँमा विद्युतीकरण गर्नका लागि यो सबस्टेसनले काम गर्ने नेपाल विद्युत प्राधिकरण प्रदेश कार्यालयले जानकारी दिएको छ ।
पुल निर्माण नहुँदा विद्युतीकरणमा समस्या
भेरी करिडोरको जाजरकोट–डोल्पा सडक खण्डमा पुल निर्माण नहुँदा विद्युतका ठूला आयोजना निर्माणमा समस्य हुने भएको छ । नलगाड नगरपालिकामा मात्र पाँच वटा ठूला पुल निर्माण बाँकी छ । सडक निर्माणको काम चलिरहेको भए पनि पुल निर्माणमा विलम्ब हुँदा समस्या भएको छ । पुल निर्माणका लागि ठेक्का लागेकाको समयमै काम नहुँदा हैरानी भोग्नु परेको छ ।
विद्युतीकरण गर्नका लागि सामान लिनुपर्ने भए पनि ठूला खोला तथा नदीमा पुल निर्माण नहुँदा काममा बाधा पुगेको हो । सबैभन्दा बढी वर्षायाममा यस क्षेत्रका स्थानीयबासीले समस्या भोग्नु परेको छ । यति बिल्डर्स प्रालिले गरिरहेको सडकको कामले गति लिए पनि क्याराभानले लिएको पुलको काम अलपत्र छ ।
वडावन, समाइका काम पाँच प्रतिशतमात्र
कर्णाली प्रदेश कार्यालयबाट भएको ठेक्काको काम पूरा भए पनि केन्द्रबाट गरिएका ठेक्काको काम विजोग अवस्थामा छ । चौखाको सबस्टेसन प्रदेशबाट ठेक्का गरिएको थियो । अन्य समाइला र वडावनमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयबाट गरिएको ठेक्काको काम पाँच प्रतिशत पनि भएको छैन । उक्त ठेक्काको काम २४ महिनाभित्र निर्माण गर्ने लक्ष्य रहेको भए पनि वर्ष दिन बित्दासमेत कामको प्रगति निरासाजनक छ ।
सो ठेक्का टुन्डी निर्माण सेवाले दिएको छ । प्रसारण लाइन र सबस्टेसनको निर्माण गर्ने जिम्मेवारी लिएको टुन्डीले अहिलेसम्म सबस्टेसन निर्माणस्थलमा ढुंगा, माटो हटाउनेबाहेक अन्य केही नगरेको नेपाल विद्युत प्राधिकरण, जनाजरकोटले जनाएको छ । यत्ता कुदुबाट चौखासम्म प्रसारणलाइन निर्माण गर्ने जिम्मेवारी लिएको लामा निर्माण सेवा चरिकोट दोलखाले काम नगर्दा चौखा सबस्टेसनमा विद्युत जडानको काम हुन सकेको छैन । ६ वर्षभन्दा बढी समय बित्दा पनि काम नगर्दा समस्यामाथि समस्या थपिएको छ ।
विकास निर्माण लथालिंग, सरोकारवाला मौन
जाजरकोट निवर्तमान ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको निर्वाचन क्षेत्र हो । चार पटकसम्म मन्त्री बनाउनका लागि जाजरकोटीले भोट हालेर जिताएका छन् । त्यस्तै पूर्वआर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह अहिले बहालवाला कर्णाली प्रदेशसभाका सदस्य हुन् । उनीसँगै अर्का आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहको निर्वाचन क्षेत्र जाजरकोट ख हो । अर्थात् वडावन सबस्टेसन उनकै निर्वाचन क्षेत्रमा पर्छ । सिंहको निर्वाचन क्षेत्रभित्र चौखा र समाइला पर्छ ।
ऊर्जामन्त्री आफै भएका बस्नेत माओवादीभित्रका प्रभावशाली नेता मानिन्छन् । जाजरकोटमा भारी मात्रामा विकास निर्माणको ठेक्का लागेको छ, तर पूरै लथालिंग अवस्थामा छ । विकास निर्माणको काममा जाजरकोट मात्र केन्द्रित नभई नेपालभरि नै मुख्य ध्यान दिने गरेका कारण जाजरकोटको विकास निर्माण लथालिंग अवस्थामा पुगको उनीमाथि आरोप लाग्दै आएको छ ।
उत्ता कांग्रेसबाट निर्वाचित सिंह र शाहले भने जाजरकोटमा भइरहेको विद्युतीकरणका विषयमा प्रदेशसभाका कहिले पनि कुरा उठाएको देखिँदैन । नलगाड जलविद्युत आयोजनाबाट मुआब्जा पाउने लिस्टमा सिंह पनि भएकाले सो विषयमा पटकपटक बोलेको सुनिन्छ । किनकि सिंहको घर, जग्गा नलगाड जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्दछ । विकास निर्माणका कार्यकर्ताले ठेक्का लिएका कारण मन्त्री तथा सांसद नबोलेको आरोप लाग्दै आएको छ ।