पुल अभावमा दुई पालिकाका स्थानीयलाई सास्ती

स्याङ्जा– स्याङजाको चापाकोट नगरपालिका–४ र हरिनास गाउँपालिका–५ जोडने घैटेस्थित खानीखोलामा पुल नहुँदा दुई पालिकाका स्थानीयलाई आवतजावतमा निकै समस्या हुँदै आएको छ । वर्षात्को समयमा खाद्यान्न किनमेलदेखि बिरामी भएर अस्पतालसम्म पुग्न निकै कष्टकर हुँदै आएको हो ।
हिउँदमा वारपार गर्न स्थानीयले बनाएको फड्के (खोला तर्न बनाएको अस्याथी काठको पुल) समेत खोलाले बगाउँदा सास्ती थपिएको छ । हिउँदमा होस या वर्षात्को समयमा स्थानीयले सहज यात्राको कहिल्यै महसुस गर्न पाएका छैनन् । वर्षात् समय लागेसँगै घैटे खानीखोलाको उर्लंदो भेलले स्थानीयले निर्माण गरेको फडकेसमेत बगाउँदा दैनिक आवतजावत गर्न जोखिम मोलेरै खोला तर्न बाध्य छन् ।
सामान्य समयमा भन्दा बिरामी भएको अवस्थामा नागरिकलाई उपचारका लागि अस्पताल लैजान बोकेरै खोला तर्नुपर्ने उच्च जोखिम रहेको स्थानीय विश्वास पुरीले बताए । चापाकोट नगरपालिकाका विभिन्न वडा तथा हरिनासका स्थानीय दैनिक किनमेलका लागि उक्त बाटो प्रयोग गर्दछन् । त्यतिमात्र होइन पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको भिमाद जोड्ने करिब ५४ किलोमिटरकोे छोटो दूरीको सडक निर्माण भए पनि घैटे खानीखोलामा पुल नबन्दा लामोदूरीको सडक प्रयोग गर्न बाध्य छन् ।
पछिल्लो समय गण्डकी प्रदेश सरकारले पुल निमार्णका लागि पहल गरे पनि पर्याप्त बजेट नहुँदा पुल निमार्णको काम अगाडि बढ्न नसकेको चापाकोट–४ का वडाध्यक्ष अर्जुन खाँणले बताए । पुल नहुँदा वर्षात्को समयमा सरकारी कामका लागि स्थानीय कार्यालय आउनसमेत असहज भएको उनले बताए ।
खानिखोला पुल निर्माणका क्रममा वारिपारिको सडक ढलान गरिएको भए पनि पुल निमार्णका लागि डिपीआर पुरा भइसकेको तर प्रदेश सरकारले चासो दिए पनि स्थानीय सरकारले खासै पहल नगर्दा पुल बन्न नसकेको हरिनास गाउँपालिका–५ का वडाध्यक्ष निर्मल लम्सालले बताए । चापाकोट तथा हरिनासका आम सर्वसाधारणलाई जिल्ला सदरमुकामदेखि पर्यटकीय नगरी पोखरा आवतजावत गर्न र किनमेलका लागि घैटे खानीखोला हरेक वर्ष बाधक बन्दै आएको छ ।
पुल निर्माण नहुँदा स्थानीयलाई पुर्याएको पीडा समाधानका लागि तिनै तहका सरकारले त्यस्ता ठाउँमा ध्यान पुर्याउन आवश्यक देखिन्छ । ७० को दशकमा ज्याग्दी करिडोर निर्माण गरेर पोखरा–नवलपुर जोड्ने उद्देश्यले पारित भएको योजनाअन्तर्गत पुल निर्माण हुनुपर्ने स्थानीयको जोड छ । स्याङ्जाको हरिनास–१ सालडाँडादेखि चापाकोट–८ दामाचौरसम्म ट्रयाक खोल्ने काम भए पनि थप प्रगति हुन सकेको छैन । उक्त करिडोर तनहुँको भिमाद, स्याङ्जाको चापाकोट, पाल्पाको रामपुर हुँदै नवलपुर जोड्ने महत्त्वकांक्षी योजना हो ।