एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्रे
तनहुँ– निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्रे भएको छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म आर्थिक वर्ष २०८०/०८१ मा एकतर्फी रूपमा हिसाब गर्दा ५५ किलोमिटर खण्ड दुई लेन कालोपत्रे भएको हो ।
हालसम्म भने एकतर्फी रूपमा ६३ किलोमिटर खण्ड कालोपत्रे सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । वर्षाका कारण अहिले कालोपत्रेको काम रोकिएको छ । उनले भने, ‘अन्य काम भइरहे पनि वर्षाका बेलामा कालोपत्रे गरेका छैनौ । वर्षा सकिएपछि बाँकी खण्डमा कालोपत्र हुनेछ ।’
पूर्वी खण्डअन्तर्गत व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछन् । त्यसमध्ये व्यास नगरपालिकाको दमौली बजार र डुम्रे बजारका केही भागमा घरटहरा हटाउन ढिलाइले कालोपत्रे काम अगाडि बढ्न सकेको छैन । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएको पाण्डेले जानकारी दिए ।
व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब र बिम बनाउने चरणमा पुगेको उनको भनाइ छ । पाण्डेका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा भूक्षय रोकथामका लागि विभिन्न ठाउँमा बायो इन्जिनियरिङको काम गरिएको छ । त्यस अवधिमा केही घरटहरा हटाउन ढिलाइ हुँदा काममा समस्या भएको उनको भनाइ छ । त्यस्तै पहिराजन्य समस्याले पनि काममा अवरोध पुगेको पाण्डेको भनाइ छ ।
उनले भने, ‘सडक विस्तारका लागि भित्ता खार्ने काम हुँदा पहिराको समस्या भोग्नुपरेको छ । आयोजना सञ्चालन भइरहेको अवधिमा त्यस्ता पहिराजन्य समस्या समाधानको काम आयोजनाबाटै हुनेछ ।’ यस वर्षका लागि आयोजनाका लागि पुँजीगततर्फ दुई अर्ब ९९ करोड बजेट विनियोजन भएकामा दुई अर्ब १४ करोड खर्च भएको जनाइएको छ । यो खण्डको म्याद गत वैशाख २ गते सकिएपछि १५५ दिन पुन: म्याद थप गरिएको आयोजनाले जनाएको छ ।
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाखमा लागेको छ ।