स्वदेशी इनोभेसनलाई बढावा दिन नास आइटी अवार्ड
काठमाडौं– नेपालमा पहिलो पटक नेपाली इनोभेसनलाई अन्र्तराष्ट्रिय बजारमा ब्राण्डिङ गर्ने उद्देश्यले नास आइटी अवार्ड २०२४ हुने भएको छ ।
नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड २०२४ को आयोजना गर्न लागेको हो । नेपालको सूचना प्रविधि क्षेत्रका इन्नोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजना प्रवर्द्धन तथा प्रोत्साहन गर्न नास आईटी अवाईस आयोजना हुन लागेको हो ।
नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नास आईटी अवार्डमार्फत नेपाली स्टार्टअप तथा इन्नोभेसनलाई आफ्नो क्षमता प्रदर्शन गर्न एउटा अन्तर्राष्ट्रिय अवसर प्राप्त हुने बताए । ११ विधामा प्रदान गरिने अवार्ड बैंकिङ, बीमा, वित्त, मार्केटप्लेस, शिक्षा, यातायात लजिष्टिक छन् ।
यसका साथै फिनटेक, आइसिटी सेवा सोलुसन, सेक्युरिटी सोलुसन, प्रोफेसनल सेवा सोलुसन, हेल्थ एण्ड वेल बिङ, सरकार, नागरिक सेवा, डिजिटल सरकार तथा स्नातक तहका विद्यार्थीका परियोजना, स्टार्टअप र इन्नोभेसनले अवार्डमा आवेदन दिन सक्ने छन् ।
नास आईटी अवार्ड २०२४ मा आगामी भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ । अवार्ड विजेतालाई डिसेम्बर २०२४ मा ब्रुनाइमा आयोजना हुने एसिया प्यासिफिक आइसिटी अलायन्स (एपिक्टा) अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुने आयोजकले जनाएको छ ।
विगत २३ वर्षदेखि एपिक्टा अवार्डले एशिया प्यासिफिक क्षेत्रमा आइसिटी प्रडक्ट तथा इन्नोभेसन शोकेस गर्ने महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्दै आएको छ । यस वर्ष एपिक्टा अवार्डमा नेपालसहित अस्ट्रेलिया, बंगालादेश, बु्रनाइ, चीन, चिनियाँ ताइपेइ, हङकङ, इण्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाइल्याण्ड र भियतनाम गरी १७ देशबीच प्रतिस्पर्धा हुनेछ ।
यसैबीच नेपालको आईटी इकोसिस्टको विकास र प्रवर्द्धन गर्न ज्ञान आदान प्रदान, क्षमता अभिवृद्धि र जनचेतनामा काम गर्ने गरी नास आइटी र सूचना प्रविधि क्षेत्रमा कलम चलाउँदै आएको पत्रकारहरुको संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ) बीच सहकार्य गर्ने सम्झौता भएको छ । नवप्रवर्तन, सशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति पैरवीमा काम गर्दै आएको संस्थाले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य छ ।