Logo

अलैंचीको पुनर्राेपणले किसान उत्साहित

बिर्तामोड– अलैंचीको पुनर्राेपणले किसान उत्साहित भएका छन् । अलैंचीमा रोगव्याधि प्रकोपले बगानै मासिएपछि निरास भएका किसान नेपाल अलैंची व्यवसायी महासंघले पुनर्राेपण अभियान सुरु गरेपछि उत्साहित भएका हुन् । अरू अन्न नफल्ने भिरालो खोल्सा र पाखाभित्तामा पनि हुने अलैंची रोगव्याधिको प्रकोप र वर्षौं पुराना बोट भएका कारण अलैंची खेती मासिँदै जाँदा किसानहरु निराश भइरहेका बेला पूर्वी पहाडी जिल्ला इलामबाट नयाँ प्रविधिमा आधारित अलैंची पुनर्रोपण अभियान सुरु गरिएको हो ।

यसले अलैंची खेती गर्ने किसानहरुमा खुशीयाली छाएको अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । अलैंचीका बोटमा रोग किरा लागेर औषधि अभावमा उपचार गर्न नपाएर बगानै सखाप भई अलैंची खेतीबाट अलैंची किसान पलायन हुन थालेपछि अलैंची विकास केन्द्र फिक्कलको प्राविधिक सहयोगमा महासंघले पूर्वी पहाडी जिल्ला इलामबाट अलैंची पुनर्राेपण अभियान सुरु गरको उनले बताए ।

इलामको रोङ गाउँपालिका र शुक्रबार देउमाई नगरपालिकामा अलैंची विकास केन्द्रले टिस्यु क्लचर प्रविधिबाट उत्पादन गरेको स्वस्थ नयाँ विरुवा रोपण गरेर अभियान सुरु गरिएको अलैंची व्यवसायी महासंघका अध्यक्ष भट्टराईले जानकारी दिए । इलाम अलैंचीको उद्गम जिल्ला भएको र विभिन्न रोगका कारण यसै जिल्लाबाट अलैंची मासिन थालेकोले अलैंची पुनर्रोपण अभियान इलाम जिल्लाबाट सुरु गरिएको उनले बताए ।

प्रदेश तथा स्थानीय सरकार, व्यवसायी, किसान तथा प्राविधिक क्षेत्रसमेत सबै सरोकारवालाको सहभागितामा यो अभियान सुरु भएकोले यसबाट राम्रो प्रतिफल प्राप्त हुने उनको भनाइ छ । इलामबाट सुरु भएको अलैंची पुनर्रोपण अभियान सफल भएमा पूर्वदेखि–पश्चिमसम्मका अलैंची उत्पादन हुने जिल्लासम्म अलैंची पुनर्रोपण अभियान विस्तार गरिने उनले बताए ।

कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहाल, रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवास, देउमाई नगरपालिका–६ का वडाध्यक्ष सुरेन वस्नेत, ३–का वडाध्यक्ष पदम कटुवाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपाल, अलैंची महासंघका अध्यक्ष भट्टराई, वरिष्ठ उपाध्यक्ष इन्द्रचन्द विन्दललगायतले संयुक्त रूपमा विरुवा रोपेर अभियानको शुभारम्भ गरेका थिए ।

रोङ गाउँपालिका–४ किटेनीस्थित सुम्निमा नर्सरी उद्योगमा नर्सरी विरुवा रोपण गरेर र देउमाई नगरपालिका ६ मा स्थानीय सुरज वस्नेतको खेतमा उत्पादनयोग्य विरुवा रोपण गरेर अभियान शुभारम्भ गरिएको अलैंची महासंघका महासचिव नारायण चिमरियाले बताए । रोङमा अलैंची नर्सरीकै लागि नेपाल अलैंची व्यवसायी महासंघको आर्थिक सहयोगमा निर्माण गरिएको टनेलमा नर्सरीकै लागि चारसय विरुवा रोपण गरिएको अलैंची विकास केन्द्रका प्रमुख राजन परियारले बताए । यो नर्सरीबाट आगामी वर्ष चार हजार विरुवा उत्पादन हुने र सो विरुवा उत्पादनका लागि पुन: किसानहरुलाई वितरण गरिने परियारले जानकारी दिए ।

देउमाईमा अलैंचीका विरुवा रोपणका साथै स्थानीय किसानहरुलाई ४ हजार नयाँ विरुवा वितरण गरिएको अलैंची महासंघका उपाध्यक्ष सुवास भट्टराईले बताए । टिस्यु क्लचर प्रविधिबाट सुरक्षित ल्याबमा तयार गरिएकोले अलैंचीका यी विरुवा रोगमुक्त र बढी आम्दानी दिने किसिमको रहेको केन्द्र प्रमुख परियारले जानकारी दिए । अलैंची विकास केन्द्रले टिस्यु क्लचर प्रविधिबाट तयार गरेको विरुवाले आगामी ४०–५० वर्षसम्म आम्दानी लिन सकिने बताउँदै उनले किसानले रोपण प्रविधि, कल–सिँचाइ र सरसफाईमा विशेष ध्यान पुर्‍याउनु पर्ने उनले बताए ।

कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालले विभिन्न कारणले मासिन लागेको अलैंचीले पुनर्रोपण अभियानमार्फत पुनर्जीवन प्राप्त गर्ने बताउँदै कोशी प्रदेशको आयको प्रमुख स्रोत अलैंचीको उत्पादन वृद्धि, र सहज बजारीकरणका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । रोङ गाउँपालिकाका किसान सोमराज लेप्चाले अलैंची मासिएर निराश बनेका किसानमा रोगमुक्त विरुवा रोपणको यो अभियानले उत्साह जगाएको बताए ।

यसैगरी, देउमाईका किसान धनसिंह राउतले रोगमुक्त र स्वस्थ नयाँ विरुवा रोपणबाट उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको बताउँदै बेला–बेलामा प्राविधिक सहयोग उपलव्ध गराउन आग्रह गरे । कुल १९ हजार हेक्टरमा उत्पादन हुने अलैंचीबाट वार्षिक ७ देखि ८ अर्ब रुपैयाँ नेपाल भित्रिने गरेको छ । नेपालको अलैँची उच्च गुणस्तरको हुने भएकाले विदेशी बजारमा यसको माग उच्च रहेको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंचीको अधिक माग र मूल्य समेत उच्च रहेकाले अलैंची उत्पादनमा पुन: किसानहरु जागरुक देखिएकाले यो अभियान सफल हुने बताइएको छ ।

नेपालमा उत्पादित अलैंचीको मुख्य बजार भारत हो । पूर्वी नेपालमा उत्पादित अलैंची झापाको बिर्तामोडबाट भारत हुँदै तेस्रो मुलुक निर्यात हुने गरेको छ । अलैंची उत्पादन हुने खास सिजन भदौ, असोज र कात्तिक महिना हो । मंसिर पहिलो साताभित्र सबै किसानले बगानबाट टिपेर प्रशोधनसहित भण्डारणको काम सक्ने गरेका छन् ।

नेपाल अलैंची व्यवसायी महासंघका अनुसार पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, सोलखुम्बु, तेह्रथुम, धनकुटा, खोटाङ, भोजपुर, ओखलढुंगा र पश्चिमका लमजुङ, कास्की, दोलखा, काभ्रे, बागलुङ, अर्घाखाँची, सल्यान, जाजरकोट, धादिङसहित ४० जिल्लामा अलैंची खेती भइरहेको छ । मसलाको परिकार, बिस्कुट, बेकरी, सुगन्धित तेल, अत्तर, औषधि आदि बनाउन र मदिरामा अलैंचीको प्रयोग हुने गरेको छ ।

नेपालमा भने सिंहदरबार वैद्यखाना र आयुर्वेदिक औषधि कम्पनीले अलैंची प्रयोग गरेर रक्तशोधक, शक्तिवर्धक, दम र खोकी आदिको औषधिमा अलैंची मिसाउने गर्छन् । झापाको बिर्तामोडमा निजी क्षेत्रबाट अलैंची प्रशोधनका लागि एभरेस्ट लार्ज कार्डमम इन्डस्ट्रिज प्रालि स्थापना गरिएको र उक्त कारखानामा अलैंचीको ग्रेडिङ गर्ने र मसाला बनाउने काम हुने अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई बताउँछन् ।

कृषि वर्ष मनाउने क्रममा २०३२–३३ सालमा सरकारले नै अलैंचीका चार लाख बेर्ना बाँडेको थियो । २०३३ सालमा सरकारले नै इलामको फिक्कलमा अलैंची विकास केन्द्र स्थापना गर्‍यो । २०६० को दशकदेखि नेदरल्यान्ड विकास नियोग, मर्सिकोर नेपाल जस्ता अन्तर्राष्ट्रिय संघसस्थाले अलैंची कृषकलाई संगठित गर्दै आधुनिक खेती तथा प्रशोधनसम्बन्धी ज्ञान दिन थालेका छन् ।

अलैंची विकास केन्द्र फिक्कलले पाँचथर र इलामका विभिन्न स्थानमा बेर्ना उत्पादनका लागि अलैंची नर्सरी स्थापना गरिरहेको छ । २०६५ सालसम्म राम्ररी फस्टाएको अलैंची बालीमा त्यसपछि क्रमश: गानो कुहिने, पातमा छिर्का बस्ने र बोट मर्ने समस्या देखिन थालेको र अलैंचीका बोट सखाप भएपछि किसान निराश भएको र अहिले पुनर्रोपण अभियान सञ्चालनले किसानमा उत्साह थपेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपालले बताए ।

नेपाल व्यापार प्रवर्द्धन केन्द्रको पाँच वर्षअघिको तथ्यांकअनुसार नेपालमा उत्पादित अलैंची भारत, पाकिस्तान, युएई, सिंगापुर, बंगलादेश, अफगानिस्तान तथा अमेरिका निर्यात हुँदै आएको छ । नेपालमा एक लाख किसान अलैँची खेती तथा व्यवसायमा आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्