सस्तो बजारले ब्राण्डिङ बनेको जितपुर

बारा– घरायसी प्रयोजनका लागि आवश्यक सबै सामग्री सस्तोमा सहजै पाइने बजारका रुपमा बाराको जितपुर जिल्लमै प्रख्यात बनेको छ । खाद्यान्न, भाँडाकुँडा, कस्मेटिक, लत्ताकपडालगायतका वस्तुको बिक्रीमा बजारभित्रै आन्तरिक प्रतिस्पर्धा हुने भएकाले उपभोक्ताले सस्तो मूल्यमै सामान पाउने भएपछि जिल्लामा रहेका अन्य बजारको तुलनामा जितपुर सस्तो बजार प्रख्यात बनेको हो ।
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सबै थरीका सामग्री सहजै पाइने जितपुरमा खुला र भित्री बजार रहेका छन् । सस्तो समान पाइने हुँदा सर्वसाधारणको दैनिक भीड लाग्ने यो बजारमा सबै समुदायको चाडबाडका बेला सर्वसाधारणको घुइँचो हुने कस्मेटिक व्यवसायी संघका अध्यक्ष रिना बजगाईले बताइन् । उनले थोरै मुनाफामा धेरै बेच्ने यहाँका व्यापारीबीच प्रतिस्पर्धा हुँदा जितपुर बजार आम उपभोक्ताका लागि सस्तो बनेको बताइन् ।
स्थानीय तथा रैथाने उत्पादन तरकारी, मासु, माछा, दुधजन्य परिकार, माटो तथा बाँसका सामग्रीको बिक्री केन्द्रसमेत बनेको यो बजार पछिल्लो समय भारतीय लत्ताकपडाका लागि नगरबाहेक अन्य जिल्लाका ग्राहकको रोजाइसमेत बनेको छ । पारिवारीक समारोहका लागि लत्ताकपडा किन्न भारतको रक्सौल हिँडेका चितवनका दिप्सन शर्माको परिवार जितपुरमै कपडा किनेर फर्किएको छ । उनले रक्सौलमा एक दाम भनेर व्यापारीले सिण्डिकेट लगाएकाले आफ्नै देशमा छानी छानी कपडा किन्न पाएको बताए ।
जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले दसैं तिहार, छठ, होली जस्ता प्रमुख चाडमा जिल्लामा एकमा बजारले १० गुणा बढी ग्राहकलाई सेवा दिने बताए । यहाँ निजगढ, कोहल्बीलगायतका पालिकादेखि सर्वसाधारण दैनिक सामान खरिद गर्न आउने गरेको अध्यक्ष शर्माले बताए । जितपुरसिमरा उपमहानगरले आफ्ना एक सय सटर सामान्य शुल्कमा व्यावसायिक प्रयोजनका लागि जितपुर बजारमै स्थापना गरेको छ ।
व्यावसायिक प्रयोजनमा प्रयोग भइरहेका घरधनीले समेत सहज वातावरण बनाएपछि जितपुर बजार पूर्ण व्यावसायिक बजार बनेको हो । राजर्माग र यातायातको सहज पहुँच रहेको यो बजारलाई मुख्य व्यापारिक हब बनाउन उपमहानगरले फुटपाथ बजार हटाएको छ भने ग्रामीण सडकमा लिंक जोड्ने काम यसै आर्थिक वर्षदेखि थाल्ने भएको छ । करीब पाँच सय व्यासायिक स्थलमार्फत दैनिक व्यापार भइरहेको जितपुरमा घरायसी तथा व्यावसायिक प्रयोजनका लागि सातामा दुई दिन लाग्ने राँगा, भैंसीको बजार नेपालमै प्रख्यात मानिन्छ ।