Logo

विद्युत प्रसारण लाइन निर्माण गर्न ६ हजार रुख काटिने

वीरेन्द्रनगर (सुर्खेत)– कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइनअन्तर्गत पर्ने रूख कटानको अनुमति दिइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ हजारभन्दा बढी रूख कटानको अनुमति दिएको हो ।

यसअघि नै राष्ट्रिय निकुञ्जमा पर्ने ६ हजार आठ सय रूखमा छपान गरिएको थियो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख विद्युत विस्तार क्षेत्रमा पर्ने भएकाले कटान गर्न लागिएको हो । साउन १६ गते विभागले रूख कटानको अनुमतिको पत्र दिएको आयोजना प्रमुख रवि चौधरीले बताए ।

अहिले रूख कटान आदेशको पत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पेस गरिएको छ । अब निकुञ्जले रूख कटानको स्वीकृति दिएपछि मात्र कटान सुरु हुनेछ । यो अनुमतिसँगै विद्युत विस्तारको काम रफ्तारमा अघि बढ्नेछ । बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार ९९१ र बर्दिया राष्ट्रिय निकुञ्जमा तीन हजार ३२० रूख कटानका लागि विभागले अनुमति दिएको हो ।

२०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख कटान आदेश दिएको थियो । सोही आदेश अनुरूप रूखमा छपान गरी कटानको प्रक्रिया अघि बढाइएको छ । रूखमा चिनो लगाएको करिब दुई महिनापछि आयोजनाले रूख कटानका लागि स्वीकृति पाएको हो । अहिले दुई वटा राष्ट्रिय निकुञ्जमा रूख कटान अनुमतिको फाइल पेस गरिएको आयोजनाले जनाएको छ ।

जग्गा विवाद कायमै
आयोजना स्थलमा जग्गा विवाद भने कायमै रहेको छ । अहिलेसम्म विवाद समाधान हुन सकेको छैन । विद्युत लाइन विस्तार गर्दा बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्नेछ । तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् ।

त्यहाँका स्थानीयले आयोजनाविरुद्ध उच्च अदालत बाँकेमा मुद्दा दर्तासमेत गरेका छन् । उक्त स्थानमा कुनै पनि काम हुनसकिरहेको छैन । हालसम्म विद्युत प्रसारणलाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको छ । १२५ वटा फाउन्डेसन निर्माण गरिएको छ । हालसम्म २५ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्