आन्तरिक पर्यटकको आकर्षण बन्दै सिप्टिचौर
मुगु– मुगुको कनक सुन्दरी–१ र छायानाथ रारा नगरपालिका–७ को सिमानामा पर्ने सिप्टीचौर पाटन आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । हिउँदमा रमाउन र बर्खामा वनस्पतिसँग खेल्न आन्तरिक पर्यटकहरूको भिड लाग्ने गरेको हो ।
कर्णाली राजमार्गको नाग्म गमगढीको भुलभुलेदेखि केही माथि कर्णाली राजमार्गले छोएको यो देश कै ठूलो पर्यटकीय गन्तव्य रहेको रारा ताल जान सिप्टिचौर पाटन भएर आउनु पर्ने भएकोले पनि यसको महत्त्व बढेको छ । यो पाटनमा गाडी, बस, मोटरसाइकललगायतका सवारी साधनबाट ओर्लेर फोटो, टिकटक खिच्ने, पाटनमा फुल्ने विभिन्न प्रजातिका फूल, वनस्पति, विभिन्न प्राकृतिक दृश्य अवलोकन गर्न त्यहाँ पुग्दा सबै दुख हराउने पर्यटकहरुले बताएका छन् ।
वरिपरि घना सल्ला, धुपी,लागीगुराँसलगायतका वन जंगलले घेरिएको बीच पाटनमा चरिरहेका गाई, घोडा, भेडा बाख्रा, भैंसी बस्तुभाउ, चराचुरुगीहरुको चिरचिरबाट पर्यटकले आनन्द लिन सक्छन् । रारा घुम्न आउने पर्यटकलाई यो पाटनमा पुगेपछि व्यक्तिगत तथा सामूहिक फोटा खिच्न आकर्षित गर्ने गरेको छायानाथ रारा नगरपालिका– ५का मीन बहादुर रावल बताउँछन् ।
सुर्खेत, नेपालगन्ज भएर गाडीको यात्रा गर्दै रारा गन्तव्य मनाएर आएका पर्यटकहरूलाई सिप्टिचौरले थकान मेटाउन तथा प्राकृतिक सुन्दरताले स्वागत गर्न बसेको जस्तो लाग्ने गरेको सिप्टिचौरमा भेटिएका रञ्जन शर्माले बताए । उनीसँगै मोटरसाइकलमा आएका बर्दियाका निकल बस्नेतले कर्णालीको बिजोक सडक र जटिल यात्राको बीचमा पनि सिप्टिचौरले सबै दु:ख भुलाउने गरेको बताए ।
सिजनमा दैनिक दुई सयसम्म आन्तरिक पर्यटकहरू पुग्ने गरेको कनक सुन्दरी गाउँपालिका– १ भुलभुलेका होटल व्यवसायी देवीलाल भण्डारीले बताए । पछिल्लो समय रारा पुग्ने पर्यटकहरूको रोजाइमा परेको यो पाटनमा विभिन्न व्यक्ति, कार्यालय तथा संघ सस्थाहरुले वार्षिक, जन्म उत्सव, पिकनिक एवं डकुमेन्टी बनाउनेलगायतका कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
यो पाटनबाट सवारी साधन भएर रारा ताल पुग्न १ घण्टा मात्र लाग्ने भएकोले पनि पर्यटकहरू अघिल्लो रात बुलबुलेमा रहेका होटेलमा बास बस्ने र बिहान १/२ घण्टा सिप्टीचौरमा रमाउने गर्छन् । त्यसपछि छायानाथ रारा नगरपालिका पिना, ढोटु, झ्यारी, टोना, सल्यारी हुँदै रारा पुग्ने गर्छन् । सिप्टिचौरमा पर्यटक मैत्री भौतिक विश्राम स्थाल, गोलघर, पार्किङलगायतका पूर्वाधारको कुनै पनि विकास गरिएको छैन । अहिले जे छ त्यो प्रकृतिको वरदान मात्रै हो ।
यहाँ पर्यटकहरूलाई भुलाउने अन्य पूर्वाधारका संरचनाहरू बनाउन सकिएमा पर्यटकहरूको बसाइ लम्बिने अपेक्षा स्थानीयले गरेका छन् । सिप्टिचौर रारा राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने भएको हुनाले यहाँ पुग्ने पर्यटकहरूले निकुञ्जको नीति भित्र रहेका विभिन्न कार्यक्रम गर्न र मनोरञ्जन गर्ने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताए ।