अनुदानको खाद्यान्न अभावसँगै मूल्य अकासियो

जुम्ला– जुम्लामा सरकारी अनुदानको खाद्यान्न अभाव भएपछि मूल्य अकासिएको छ । खाद्यान्न अभावसँगै गत साउन ९ बाट रोकिएको खाद्यन्न बिक्री सञ्चालनमा आउन नसकेपछि मूल्य अकासिएको हो । आफ्नो उत्पादनले ४/५ महिना नपुग्ने स्थानीयहरूको दैनिकी सरकारी अनुदानकै चामलको भरमा चलेको छ । २० साउनबाट नियमित बिक्री गर्ने भनिए पनि चामल ढुवानी नभएको भन्दै विगतको जस्तो सबै खाले चामलको बिक्री सुरु भएको छैन ।
यद्यपि, मोटा चामल भने बिक्री सुरु भइसकेको छ । जन्म, मृत्यु, विपद् तथा कारागारका लागि बाहेक सर्वसाधारणका लागि खाद्यान्न अपुग भएको भन्दै ९ साउनदेखि बिक्री रोकिएको थियो । सरकारी अनुदानको चामल अभाव हुनु र बजारमा खाद्यान्नको मूल्य अकासिनुले सर्वसाधारण दोहोरो मारमा परेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाको गोदाममा विपद, जन्म, मृत्यु, कारागारका लागि एक हजार चार सय क्विइन्टल खादान्न मौज्दात रहेको छ । गत आर्थिक वर्षमा जिल्लामा नौं हजार क्विन्टल चामलको कोटा रहेको थियो । सबै ढुवानी भइसकेको छ । टेण्डर भइसकेको र आगामी भदौ दोस्रो सातासम्म चामल पुग्ने भएकोले सहज तरिकाले वितरण गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका सूचना अधिकारी लक्ष्मण शर्माले बताए ।
जिल्लाको सिंजा क्षेत्रमा पर्ने धाँपा र तिला गाउँपालिकाको जुम्लाकोट डिपोबाट समेत चामल वितरण हुने गरेको छ । अहिले कोटा निर्धारण नहुँदा डिपोबाट चामल बिक्री वितरण बन्द भएको छ । कम्पनीले यहाँका तीन बिक्री केन्द्र हिमा गाउँपालिकाको बाजागाँडा, पातारासी गाउँपालिकाको लुम्मसमेत चामल वितरण गरेको छैन । बजारमा यति बेला आर्शीवाद चामलको मूल्य २ हजार ७ सय ५० रुपैयाँ प्रतिबोरामा बिक्री भइरहेको छ ।
सामान्य चामल पनि २ हजार ४ सयदेखि बिक्री भइरहेको छ । दैनिकी ज्यालामजदुरी गरेर छाक टार्ने सर्वसाधारणलाई अनुदानको चामल अभाव हुनु र बजार मूल्य अकासिनुले दोहोरो मर्कामा परेका छन् । गोदाममा न्यून मात्रामा मौज्दात रहेको मोटा चामल मात्रै साउन २० देखि वितरण सुरु भएका हो । मोटा चामल प्राय स्थानीयले रुचाएका छैनन् । मसिनो चामलको खाद्यमा मौज्दात शून्य छ ।
यतिबेला संस्थानको चामल ढुवानी भएको छैन । चालु आर्थिक वर्षका लागि कम्पनीले चामल खरिदका लागि टेण्डर गरेको छ । टेण्डर आह्वान भए पनि ढुवानी हुन समय लाग्ने भएकोले जुम्लामा खाद्यन्न अभावले चरम रुप लिने देखिएको छ । गत वर्ष जुम्लामा नुनका लागि ठूलो झडप भएर डिपोनै तोडफोड भएको थियो । लामो समय चामल ढुवानी नभएको खण्डमा चामलका लागि सकसको अवस्था आउन सक्छ ।
महँगीले स्थानीय मारमा
बजारमा खाद्यान्नको मूल्य बढेपछि स्थानीय वासी मारमा परेका छन् । विगतमा २ हजार ३ सय रुपैयाँ देखि पाँच सय रुपैयाँसम्ममा बिक्री हुने आर्शिवाद चामलको मूल्य अहिले २ हजार ७ सय ५० रुपैयाँ पुगेको छ । अन्य चामलको मूल्य पनि बढेको छ । तेल, चिनीलगायतका दैनिक उपभोग्य सामग्री महँगिएको छ । यसमा पनि सबैभन्दा बढी बिक्री वितरण हुने चामल हो । मसिनो चामल कम्पनीले वितरण बन्द गर्नु र बजारमा महँगो हुनुले दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने स्थानीय मारमा परेका छन् ।
चन्दननाथ नगरपालिका– ८ का बलबहादुर दमाईका अनुसार लुगा सिलाएर दैनिक ४/५ सय रुपैयाँ पनि ज्याला आउँदैन । खाद्यमा चामल पाइदैन । बजार मूल्य दिनप्रति दिन बढिरहेको छ । दैनिक ज्याला मजदुरी गरी खानेका लागि निकै समस्या भएको छ । उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले मूल्य वृद्धिका विषयमा व्यापारीसँग बुझिरहेको बताए ।
उनले भने,‘उत्पादन नै कम भएकोले चामलको मूल्य वृद्धि भएको छ । विशेषगरी चामलको मूल्य बढेको छ । अनुदानको चामल अभाव हुनु र मूल्य बढ्नु संयोग भए पनि उत्पादन कम हुदैँ जाँँदा बजारमा चामलको मूल्य बढेको हो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार खाद्यको गोदाममा चामल मौज्दात न्यून छ । ‘चालु आर्थिक वर्षका लागि खरिद प्रक्रिया चलिरहेको छ । थप कोटा माग गरेका छौं,’ उनले भने,‘ बजार मूल्य वुद्धिका विषयमा अनुगमन गर्ने छौं ।’