Logo

रोजगारी खोज्दै गत वर्ष ८११७२ महिला पुगे विदेश

काठमाडौं– वैदेशिक रोजगारीमा जाने महिलाको संख्या वर्षेनि बढेको छ । अधिकांश महिला केयरटेकर, नर्स र घरेलु कामदारका रुपमा यूएई, कतार, साउदी अरेबिया, कुवेत, साइप्रस, जोर्डनजस्ता गन्तव्य मुलुकमा जाने गरेका छन् । गत आवमा मात्र ८१ हजार १७२ जना महिला कामका लागि विभिन्न मुलुकमा पुगेका छन् ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार रोजगारीका लागि विदेश जाने महिलाको संख्या अघिल्लो वर्षको तुलनामा गत वर्ष पनि वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पाँच वर्षअघि ५ प्रतिशत रहेकोमा अहिले ११ प्रतिशतको हाराहारीमा पुगेको छ ।

सरकारले वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रुपमा जाने महिलाको श्रमस्वीकृति रोक्का गरे पनि विगत ५ वर्षको तुलनामा आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रमस्वीकृति लिएका छन् । २०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु श्रमिकका रुपमा जाने महिला असुरक्षित रहेको जनाउँदै रोक्न सरकारलाई निर्देशन दिएपछि बीचमा विदेश जाने महिलाको संख्या घट्दै गएको थियो ।

पाँच वर्षअघिको तुलनामा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ७ प्रतिशतले वृद्धि भएर गत वर्षसम्म आइपुग्दा करिब ११ प्रतिशत पुगेको छ । पाँच वर्षअघि विदेश जाने नेपालीमध्ये ५ प्रतिशतमात्र महिलाले श्रमस्वीकृति लिएका थिए । विदेशिने महिलाको संख्या प्रतिवर्ष १–१ प्रतिशतका दरले वृद्धि भएको देखिन्छ ।

गत आवमा ७ लाख ४१ हजार विदेश गएकोमा महिलाको संख्या १०.९३ प्रतिशत अर्थात् ८१ हजार १७२ पुगेको छ । नेपालले औपचारिक रूपमा १११ राष्ट्र वैदेशिक रोजगारीका लागि खुला गरेको छ । कामका लागि विदेशिएका अधिकांश नेपाली महिला केयरटेकर, नर्स र घरेलु कामदारका रुपमा खाडी तथा मध्यपूर्वका मुलुकमा जाने गरेका छन् ।

कोभिड संक्रमणअघि २०७४–७५ मा ३२ हजार ९६४ महिलाले विदेश जान श्रमस्वीकृति लिएकोमा गत आवमा ८१ हजार नाघेको छ । महिलासहित समग्र रुपमा श्रमस्वीकृति बढेको देखिएको छ । विभागका निर्देशक लोकनाथ भुसालले रोजगारीका अवसर बढेसँगै यूएई, कतार, कुवेत, साइप्रस, मलेसिया तथा सरकारी तवरबाट कोरिया तथा इजरायल जान श्रमस्वीकृति लिनेको संख्या बढेको बताए । ‘यसमा महिलाको संख्या पनि बढेको छ । घरभित्र सीमित भएका महिला अब रोजगारीको अवसर पाएर विदेश जान थालेको देखिन्छ,’ उनले भने ।

वैदेशिक रोजगारीका लागि सयभन्दा बढी देश खुला गरिएको भए पनि नेपाली महिलाका लागि मलेसिया, कतार, साउदी अरेबिया, यूएई र कुवेत नै संस्थागत वैदेशिक रोजगारीका मुख्य गन्तव्य रहेको देखिन्छ । त्यसमा पनि यूएई र कतारले मात्रै ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको पाइन्छ । संस्थागत (मेनपावर) बाट वैदेशिक रोजगारीमा जानेमध्ये महिलाको अनुपात ३ प्रतिशतभन्दा कम छ ।

वैदेशिक रोजगारीमा जाने कुल संख्या हेर्दा अधिकांश तराईका जिल्ला र त्यसमा पनि मधेश प्रदेशको बाहुल्य भए पनि महिला श्रम आप्रवासनको प्रकृति भने फरक रहेको छ । वैदेशिक रोजगारीमा जाने महिलाहरूको कुल संख्याको विश्लेषण गर्दा केही पहाडबाट बसाइँ सरेर मिश्रित समुदायको बसाइ भएका तराईका जिल्लाहरू बाहेक बागमती प्रदेशका पहाडी जिल्लाहरूको बाहुल्य रहेको छ । यसले मिश्रित समाज वा जनजाति बाहुल्य क्षेत्रका महिलाहरू नै वैदेशिक रोजगारीमा गएको देखिन्छ । जिल्लागत हिसाबले सबैभन्दा बढी वैदेशिक रोजगारीमा जानेमा झापा, सिन्धुपाल्चोक, मोरङ र काठमाडौंका महिला छन् ।

आप्रवासन विज्ञ पूर्णचन्द्र भट्टराई पछिल्लो समय लाभका हिसाबले राम्रा श्रम गन्तव्य इजरायल र कोरियामा महिलाको माग बढेका कारण पनि संख्या वृद्धि भएको बताउँछन् । केन्द्रीय तथ्यांक विभागले प्रकाशन गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार हाल विदेशमा २१ लाख ६९ हजार ४७८ जना नेपाली बसोबास गरिरहेका छन् । यीमध्ये १८.७२ प्रतिशत अर्थात् ४ लाख ६ हजार १६३ महिला छन् ।

प्रतिक्रिया दिनुहोस्