मासु व्यवसायीलाई अन्तर्राष्ट्रियस्तरको तालिम

बाँकेको मासु व्यवसायीलाई अन्तर्राष्ट्रियस्तरको तालिम दिन थालिएको छ । मासुलाई हाइजेनिक बनाउने र स्टोरेज गर्ने तरिका सिकाउन तालिमको व्यवस्था गरिएको हो । व्यावसायिक कृषी तथा व्यापार आयोजना र फ्रेस हाइजेनिक फुड, बाँकेले संयुक्त रूपमा खजुरा गाउँपालिकाको सोनपुरमा पाँच दिने प्रशिक्षण कार्यक्रम सुरु गरेका हुन् । प्याक्टको सहयोगमा प्रशिक्षण सुरु गरिएको फ्रेस हाइजेनिक फुड बाँकेका सञ्चालक दीपेन्द्र जोशीले बताए ।
पाँच दिनसम्म चल्ने सो तालिममा बाँके, बर्दियालगायत ८ जिल्लाका मासु व्यवसायी सहभागी छन् । तालिमको प्रमुख प्रशिक्षकका रुपमा नेदरल्यान्डका कोर कार्भल आएका छन् ।
अन्तर्राष्ट्रिय प्रशिक्षक कार्भलले मासुलाई कसरी हाइजेनिक बनाउने र स्टोरेज गर्ने विधिलगायतका विषयमा धेरै देशका तालिम दिइसकेको सञ्चालक जोशीको भनाइ छ ।
खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले तालिमको उद्घाटन गर्दै स्वस्थ्य मासुको व्यापार गर्न तालिमले सहयोग पुराउने बताए । उनले व्यवस्थित बधशालाको अभावमा जहाँ पायो त्यहीँ मासु काट्ने र जसरी पायो त्यसरी बिक्री गर्ने गरिएको पाइएकाले निकट भविष्यमै व्यवस्थित बधशाला निर्माण गरिने बताए ।
हाइजेनिक फुडका सञ्चालक जोशीले तालिमबाट अन्तर्राष्ट्रियस्तरको मापदण्डमा खसी, बंगुरलगायतका पशुलाइ बेहोस बनाई काटेर स्टोरेज गर्न सिकाउने तालिमको मुख्य उद्देश्य रहेको बताए ।
कार्यक्रममा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख जोत्सना श्रेष्ठ, पशु विकास अधिकृत कमल उपाध्यायलगायतले अन्य खाद्य सामाग्री जस्तै मासुको गुणस्तरप्रति सजग रहनुपर्ने सुझाव दिए ।