पुल नबन्दा आवतजावतमा समस्या «

पुल नबन्दा आवतजावतमा समस्या

विराटनगर-मोरङको कसेनीस्थित लोहान्द्रा खोलामा पुल निर्माण नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
दुई वर्षअघिको बाढीले पुल बगाएपछि वर्षायाममा मात्रै होइन हिउँदमा समेत आवतजावत गर्न समस्या भएको छ । चतरा नहर बनाउँदा भारतले खोलामा पुल बनाइदिएको थियो । जीर्ण अवस्थामा पुगेको पुल बाढीले बगाउँदा पूर्वी मोरङका साविक आधा दर्जन गाविसका बासिन्दालाई सदरमुकाम विराटनगर आउन कठिनाइ भएको छ । पुल नहुँदा वर्षाको समयमा घुमाउरो बाटो भएर विराटनगर पुग्नुपर्ने अवस्था रहेको बाहुनीका प्रेमचन्द्र गिरी बताउँछन् । “बर्खामा त वारिको वारि र पारिको पारि हुनुपर्ने अवस्था छ,” गिरीले भने, “नेताहरूले आश्वासन मात्रै दिने गरेका छन् । पुल भत्किएको दुई वर्ष बितिसकेको छ ।”
मोरङको होक्लाबारी, केरौन, कसेनी, बाहुनीलगायतका साविकका गाविसका स्थानीयलाई पुलले विराटनगरसँग जोडेको थियो । बाहुनी, कसेनी हाल बेलबारी नगरपालिकाअन्तर्गत पर्छन् भने केरौन, होक्लाबारी कानेपोखरी गाउँपालिकामा पर्दछन् । होक्लाबारीका प्रेम पुरीका अनुसार बर्खामा विराटनगर आउँदा भाउन्नेबाट इटहरी हुँदै र आमतोला हुँदै घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ । “यो पुल स्थानीयको लाइफ लाइनकै रूपमा रहेको छ,” पुरीले भने, “बाढीले बगाएपछि नयाँ पुल निर्माण गर्न कतैबाट पनि चासो देखाइएको छैन ।”
स्थानीय विद्यार्थी विराटनगरका कलेज र बोर्डिङमा समेत अध्ययन गर्न आउने गरेका छन् । हिउँदभरिका लागि होमपाइप लगाएर बनाइएको छ । ह्युमपाइपबाट खोलाको पानी निकास गरिएको छ । पुल नहुँदा होमपाइपबाट जोखिमपूर्ण रूपमा यात्रा गर्न बाध्य छन् स्थानीय । स्थानीयले उत्पादन गरेका आलु, तरकारी, दूध, गहुँ, चामललगायतको प्रमुख बजार विराटनगर नै हो । “बर्खामा त दूध र तरकारी विराटनगर ल्याउने अवस्थै छैन,” पुरी भन्छन्, “घुमाउरो वैकल्पिक मार्ग प्रयोग गर्दा पनि सबै सडक जीर्ण छन् ।” त्यसो सो क्षेत्रमा उत्पादित तरकारी, दूध र अन्य खाद्यान्नको मुख्य बजार विराटनगर भए पनि इटहरी, बेलबारीलगायतका क्षेत्रमा पनि जाने गरेको छ । बाहुनी, कसेनी, होक्लाबारी, केरौन, दर्वेशालगायत मोरङका कृषि उत्पादनका लागि उर्वर भूमि मानिन्छ ।
पटक–पटक सांसद र सरकारको ध्यानाकर्षण गराउँदा पनि निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको कसेनीका सुदर्शन भण्डारीले गुनासो पोखे । “हिउँदमा त ठीकै छ बर्खामा त धेरै नै दुःख हुन्छ,” भण्डारीले भने, “उपचार गर्न जान नसकेर घरमै मर्नुपर्ने अवस्था छ ।” गत वर्षको बाढीमा एम्बुलेन्स बगाउँदा झण्डै बिरामी र आफन्तको मृत्यु भएको उनले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस्