Logo

नेपाल-भारत बीचका संयन्त्रको बैठक सुचारु गर्नेबारे छलफल

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले पररराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका छन् । विदेशसचिव मिस्रीले सोमबार काठमाडौंको नक्शालस्थित होटल हिल्टनमा परराष्ट्र मन्त्रालयकी सचिव लम्सालसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा दुई देशका बीचमा विगतमा भएका सहमतीहरु तथा भारतीय सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरुलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको बताइएको छ । भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल–भारत सम्बन्धको सबै पक्षहरुको बीचमा समिक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

उनले भारतीय सहयोगमा सञ्चालित परियोजनाहरु र दुई देशका बीचमा भएका विभिन्न संयन्त्रहरुको बैठक सुचारु गर्ने विषयमा पनि कुराकानी भएको बताए । उनले भारतको विदेश सचिवले नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमण गर्ने प्रचलन रहेको भन्दै अहिलेको भारतीय विदेश सचिव र नेपालकी परराष्ट्र सचिवबीचको भेटवार्ता परिचयात्मक भेटवार्ता मात्रै भएको बताए । भेटका क्रममा कुनै सहमती वा समझदारीहरु नभएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्