प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्दो

लमजुङ– पछिल्ला वर्षहरुमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण घट्न थालेको छ । उच्च शिक्षा अध्ययन गर्न विदेसिने प्रवृत्ति र रोजगारीका अवसर कम हुन थालेपछि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्न थालेको हो ।
प्राविधिक शिक्षा अध्ययनका लागि कुनै बेला विद्यार्थीको चाप थेगी नसक्नु हुने गरेको थियो । अहिले प्राविधिक शिक्षालयलाई विद्यार्थी खोज्नुपर्ने बाध्यता छ । केही वर्ष अघिसम्म प्राविधिक शिक्षामा विद्यार्थी भर्ना गर्न सोर्सफोर्ससम्मका अभ्यास हुने गरेका थिए । तर अहिले फकाएर विद्यार्थी भर्ना गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
राजनीतिक दवावमा जथाभावी सम्बन्धन, खर्चिलो शिक्षासँगै रोजगारीको अवसर नहुनुलगायतका कारण विद्यार्थी संख्या घट्दै गएको जिल्लास्थि सीप विकास प्रतिष्ठान गैरी क्याम्पस सञ्चालक समितिका अध्यक्ष गमप्रसाद गुरुङको भनाइ छ । उच्चशिक्षा अध्ययनका लागि धेरै विद्यार्थी विदेसिनु र प्राविधिक शिक्षाको गुणस्तर नहुनुले पनि विद्यार्थीको आकर्षण घट्दै गएको हो । प्राविधिक शिक्षाप्रति विद्यार्थी घट्नु चिन्ताको विषय भन्दै विज्ञहरुले यसको पुनसंरचना गर्नुपर्नेमा शिक्षक तथा अभिभावकहरुले जोड दिएका छन् ।
प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण कम हुनको मुख्य कारण धेरै विद्यालयमा प्राविधिक धारको पढाइ सुरु हुनु र पूर्व डिप्लोमा तह पढेकाका लागि लोकसेवाको विज्ञापन हुन छाड्नुजस्ता रहेका छन् । जेनतेन पढाइ भएका विद्यालयमा स्थानीय विद्यार्थीको सहभागिता अत्यन्तै न्यून छ ।
छात्रवृत्ति भएकै कारण टाढा टाढाबाट आएका विद्यार्थी मात्र प्राविधिक शिक्षामा छन् । गाउँगाउँमा स्वरोजगारमूलक शिक्षाका लागि खुलेका प्राविधिक शिक्षालयमा स्थानीयकै आकर्षण कम पाइएको छ । एसईई दिने विद्यार्थी पर्याप्त हुँदापनि तिनै विद्यार्थी थप अध्ययनका लागि शहरतिर पुग्ने गरेका छन् ।
सिटिईभिटीले न्यूनतम् सी प्लस ग्रेड ल्याउने विद्यार्थीमात्र प्राविधिक शिक्षा पढ्न पाउने व्यवस्था खुकुलो बनाउँदासमेत विद्यार्थीको संख्या अत्यधिक घटेको हो । स्थानीयको आकर्षण नहुनुमा सामुदायिक विद्यालयमा पढने विद्यार्थी नेपाली माध्यमबाट अंग्रेजी माध्यममा पढ्न गाह्रो हुने गरेका अभिभावकको अनुमान छ । पहुँचका भरमा प्राविधिक शिक्षा अध्ययनका लागि भन्दै सम्बन्धन ल्याएका विद्यालयमा विद्यार्थी अभावमा सञ्चालनमा कठिनाइ छ ।
विद्यार्थी जति भएपनि शिक्षक व्यवस्थापन, पुस्ताकालय, प्रयोगात्मक व्यवस्थापनका लागि ठूलो खर्च हुन्छ । तर अहिले धेरै विद्यालय विद्यार्थी अभाव र खर्च व्यवस्थापन गर्न नसक्दा सुचारु गर्ने वा बन्द गर्ने अन्योलमा परेका छन् ।
प्राविधिक शिक्षाको विकास र विस्तारलाई सरकारले प्राथमिकतामा राखेको छ । तर बर्सेनि विद्यार्थीको आकर्षण घट्नुले सीटीईभीटीले पढाउने पाठ्यक्रममाथि नै प्रश्न उठेको छ । जिल्लामा विभिन्न क्याम्पसहरुमा उच्च शिक्षा अन्तर्गत सिभिल इन्जिनियरीङ, वन विज्ञान विषयमा पढाई हुँदै आएको छ भने सोबाहेक इलेक्ट्रिकल, सिभिललगायतका विषयमा औपचारिक कक्षा एवं अन्य छोटा तालिमहरु सञ्चालन हुँदै आएका छन् ।