पाँच जिल्लाका सात हजार विपन्नलाई इन्डक्सन चुल्हो

इलाम– कोसी प्रदेशका पाँच जिल्लामा विद्युतीय चुल्हो प्रवर्द्धन परियोजना सुरु भएको छ । प्राक्टिकल एक्सन नेपालको आर्थिक सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्र इलामले कोसी प्रदेशका पाँचवटा जिल्लामा अनुदानमा चुल्हो वितरण गर्ने भएको हो । इलामसहित तेह्रथुम, संखुवासभा, धनकुटा र सुनसरी जिल्लाका सात हजार घरधुरीमा विद्युतीय चुल्हो प्रवर्द्धन गर्ने परियोजना सञ्चालन गरेको हो ।
परियोजना संयोजक घनेन्द्र भण्डारीका अनुसार मुख्य उद्देश्य दाउराबाट खाना पकाउने घरधुरीलाई स्वच्छ र स्वदेशी ऊर्जाको प्रयोग गरी खाना पकाउने र महिला तथा बालबालिकामा हुने धुवाँजन्य रोगलाई न्यूनीकरण गर्ने रहेको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार नेपालमा प्रतिवर्ष करिब २३ हजार मानिसको मृत्यु धुवाँजन्य रोगले हुने गरेको तथ्यांक छ ।
कार्यक्रमले विद्युतीय चुल्हो इन्डक्सन, इन्फ्रारेड र इलेक्ट्रिक प्रेसर कुकरलाई प्रवर्द्धन गर्नेछ । कार्यक्रमले गरिब तथा विपन्न वर्ग र लक्षित समुदायलाई अनुदानको पनि व्यवस्था गरेको छ । सो परियोजना अन्तर्गत दुई हजार वाटको इन्डक्सन चुल्हो र इलेक्ट्रिक प्रेसर कुकरलाई प्रतिपरिवार दुई हजार ७० रुपैयाँ, १४०० वाटदेखि १६०० वाटसम्मको इन्डक्सन चुल्होलाई एक हजार ७५० रुपैयाँ, इन्फ्रारेड चुल्होलाई एक हजार दुई सय रुपैयाँ अनुदानको व्यवस्था गरेको छ ।
त्यसैगरी स्थानीय सरकारले पहिचान गरेका अतिविपन्न समुदायका घरपरिवारलाई भान्सा घरमा विद्युतीय चुल्हो राख्न वायरिङका लागि एक हजार एक सय घरधुरीलाई प्रतिपरिवार एक हजार ६ सय रुपैंयाँ उपलब्ध गराउनेछ । अनुदानको व्यवस्था स्थानीयस्तरमा उपलब्ध र कार्यक्रम प्रवर्द्धनमा इच्छुक बिक्रेता छनोट गरी बिक्रेतामार्फत् उपलब्ध गराइने संयोजक घनेन्द्र भण्डारीले जानकारी दिए ।
विद्युतीय चुल्हो प्रयोग गरेर विद्युतको महसुल चार महिनाका लागि प्रतिमहिना १३७ रुपैयाँ तर ५५० मा नबढ्ने गरी विद्युतीय चुल्हो प्रयोग गरेवापत प्रोत्साहन रकमको पनि व्यवस्था गरेको छ । कार्यक्रमले पाँचवटा जिल्लाका २५ गाउँपालिका नगर पालिकालाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउनेछ ।