हिले-छिन्ताङ जोड्ने सडक कालोपत्रे
धनकुटा– धनकुटाका ग्रामीण क्षेत्र जाने तीनवटा सडक लामो समयको प्रतीक्षापछि कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् । धनकुटा सदरमुकामको बिहीबारे हटिया, तांखुवा–तेलिया परेवादिन हुँदै तेह्रथुम जोड्ने सडक र गुठीटारबाट बाघखोरबाट छिँडी जोड्ने सडक र उत्तरी व्यापारिक केन्द्र हिले हुँदै छिन्ताङ जोड्ने सडक कालोपत्रे भएपछि स्थानीयमा खुसी छाएको हो ।
सडक कालोपत्रे भएसँंगै यहाँका दैनिक जनजीवन नै परिवर्तन भएको छथर जोरपाटी गाउँपालिका–४ का तीर्थबहादुर लिम्बुले बताए । उनले भने, ‘सडक नबन्दासम्म हाटबजार र प्रशासनिक कामकाजका लागि सदरमुकाम धनकुटा बजार जान आउन ८ घण्टा पैदल हिँड्नु पथ्र्यौ सडक नबन्दा यहाँका स्थानीय गाडीमा सदरमुकाम जानुपर्दा काजिमान, चुलाचुली, जोरपाटी, हिलेको घुमाउरो सडकमै दिन बित्थ्यो तर अहिले एक घण्टामै सदरमुकाम पुगिन्छ । सडक कालोपत्रे भएसंँगै आवतजावतमै मात्र नभएर यहाँ उत्पादित कृषि उपजले समेत मूल्य बजार पाउन थालेको स्थानीय मेघराज खतिवडाले बताए ।
त्यस्तै ट्र्याक खन्न सुरु भएको झण्डै ४० वर्षपछि हिले, उत्तरपानी, छिन्ताङ खण्डको १० किलोमिटरमा कालोपत्रे भएको छ । उत्तरपानी हुँदै थलथलेसम्म कालोपत्रे भइसकेको छ । २०३६ सालमा चलेको भोकमरीविरुद्धको आन्दोलनमा तत्कालीन पञ्चायती शासकद्वारा १६ सर्वसाधारणको हत्या गरिएको यो गाउँ धार्मिक, ऐतिहासिक र राजनीतिक महत्त्वले चर्चित छ । २०५८ सालमा ट्रयाक खोलिएको सडक कालोपत्रे भएपछि यो क्षेत्रका नागरिक खुसी भएका छन् ।
लामो समयको प्रतीक्षापछि सडक कालोपत्रे भएको छ यसले स्थानिय लाई धेरै खुसी बनाएको स्थानिय जगत मोतनको भनाई छ । सडक पूर्वाधार लाई देशको आर्थिक विकास र जनताको जनजीवनसँंग जोड्नु पर्ने र त्यसले मात्र सडकमा गरिएको लगानी सहीरूपमा सदुपयोग हुने ग्रामीण विकासका उपप्राध्यापक किरण घिमिरे बताउँछन् ।
गुठिटार बाघखोर छिँडि १२ किलोमिटर सडक कालोपत्रे गर्न कोशी प्रदेश सरकारले २४ करोड ९९ लाख ५७ हजार रुपैयाँ लगानी गरेको छ । यस्तै २३ किलोमिटर दूरीको बिहीबारे हटिया तांखुवा, तेलिया, परेवादिन हुँदै तेह्रथुम जोड्ने सडकमा ६० करोड ६० लाख र ३१ करोड रुपैयाँको लागतमा हिले उत्तरपानी छिन्ताङ सडकको १० किलोमिटरमा कालोपत्रे गरिएको छ । सदरमुकाम जोड्ने सडक कालोपत्रे भएपछि स्थानीय किसानमा जागरण मात्र आएको छैन, दशकौं अघि बसाइ सरेर हिँडेका पनि विस्तारै विभिन्न नयाँ व्यावसायिक परियोजना लिएर गाउँ फर्कन थालेको स्थानीयको भनाइ छ ।