पालिकाले आलु किनेपछि जलजलाका कृषकलाई राहत

पर्वत– पर्वतको जलजला गाउँपालिकाले स्थानीय किसानले फलाएको आलुको बीउ खरिद गरिदिएको छ । कृषकले गत आर्थिक वर्षमा आलुको मूल बीउ उत्पादन गरेका थिए । उक्त आलु पालिकाले नै खरिद गरेर बजार व्यवस्थापन गर्नका लागि खरिद गरेपछि कृषकलाई राहत मिलेको छ ।
१० लाख ७५ हजारभन्दा बढी मूल्य बराबरको आलुको बीउ पालिकाले खरिद गरेको छ । जलजला गाउँपालिका–६ शालिजाका तीनवटा कृषक समूहले उत्पादन गरेको ३५ हजार ४७० किलोग्राम बीउ आलु खरिद गरेको हो । बीउ आलु बिक्री गरेका कृषकलाई १० लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको गाउँपालिकाको कृषि शाखाका अधिकृत राजु गौतमले जानकारी दिए ।
प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको दुई हजार २७० किलोग्राम मूल बीउ प्रतिकेजी ३५ का दरले ७९ हजारमा खरिद गरेको छ । नमुना र प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको ३३ हजार दुई सय किलोग्राम पहिलो पुस्ताको बीउ नौ लाख ६ हजारमा खरिद गरेको हो ।
बीउ उत्पादन गर्ने सबै कृषकलाई समूहलाई नगद उपलब्ध गराएको हो । कृषकबाट खरिद गरेको बीउ पोखरामा रहेको चिस्यान गृहमा भण्डारण गरेर राखिएको छ । बीउ, मल र उत्पादन सामग्री उपलब्ध गराउने गाउँपालिकाले कृषकले उत्पादन गरेको आलुको मूल बीउ पनि खरिद गरिदिएको हो ।
गाउँपालिकाले कृषकबाट बर्खायाममा खरिद गर्ने बीउ चिस्यान गृहमा भण्डारण गर्ने र हिउँदमा कृषकलाई नै बिक्री गर्ने गरेको छ । आलुको बीउ बिक्री गरेर जलजला गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा २९ लाख ७१ हजार आम्दानी गरेको छ । गाउँपालिकाको आन्तरिक आम्दानीको २२ प्रतिशत आलुको बीउ बेचेर भएको हो ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय बीउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बीउ विस्थापित र बीउ आलुमा आत्मनिर्भर बनाउन दुई वर्षयता पिबिएम (पूर्व बीउ आलु) कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । जलजलाको धेरै भूगोलमा आलु खेती भए पनि वर्षौंदेखि एउटै बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकिराको समस्या देखियो,’ उनले भने, ‘गुणस्तरीय बीउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्व मूल बीउ भित्र्याएर मूल बीउ उत्पादन गरी कृषकलाई बिक्री वितरणको ब्यवस्था मिलाएका छाैं ।’
गाउँपालिकाले समूहमार्फत खरिद गरेको बीउ आलु पोखराको कोल्ड स्टोरमा भण्डारण गरी सिजनमा गाउँपालिकाभित्रका बीउ उत्पादक कृषक समूहलाई नै वितरण गर्ने अधिकृत गौतमको भनाइ छ ।
जलजला आलु उत्पादनका लागि उर्वर मानिए पनि विगतमा उन्नतजातको आलुको बीउ समयमै नपाउँदा निराश हुने कृषकको समस्या समाधान भएको प्रगतिशील बीउ उत्पादन समूह तारानाथ भुसालले बताए । ‘गाउँपालिकाले सहयोग गरेपछि यहाँ कृषक आलु उत्पादनमा हौसिएका छन्, अनुदान दिने, खरिदमा पनि सघाउनु हाम्रो लागि ठूलो राहत हो,’ अगुवा कृषक भुसालले भने । आलुको गुणस्तर राम्रो भएकाले अन्य पालिकाबाट समेत बीउ लिन आउने गरेका छन् ।
यसैबीच गाउँपालिकाले गत आर्थिक बर्ष २०८०/०८१ मा ६६ हजार ७० केजी उन्नत बीउ बिक्री गरी २९ लाख ७१ हजार रुपैयाँ आन्तरिक आम्दानीतर्फ राजस्व संकलन गरेको छ । गाउँपालिकाले कृषकबाट खरिद गरेको आलुको बीउ ५० प्रतिशत अनुदानमा कृषक र कृषि ज्ञान केन्द्रमार्फत् सिफारिस भएका कृषक समूह तथा म्याग्दी, कास्कीलगायतका जिल्लाका कृषकलाई ३५ हजार ९७७ केजी बीउ बिक्री गरी २१ लाख ९८ हजार आम्दानी गरेको हो ।