मकवानपुरको निर्यात व्यापारमा संकुचन
हेटौंडा– मकवानपुरको निर्यात व्यापारमा संकुचन आएको छ । आव २०७८–७९ मा ३ अर्ब ४ करोड रुपैयाँको औद्योगिक उत्पादन निर्यात भएकोमा आर्थिक वर्ष २०८०–८१ मा सवा ५९ करोडको मात्रै निर्यात व्यापार भएपछि व्यापारमा संकुचन देखिएको हो ।
मुलुककै ठूला औद्योगिक सहरमध्येको हेटौंडाले भारतलगायत तेस्रो मुलुकमा गर्ने निर्यात व्यापारमा अपेक्षाकृत प्रगति गर्न सकेको छैन । हेटौंडा औद्योगिक क्षेत्रभित्र मात्रै सयभन्दा बढी उद्योगका साथै बहुराष्ट्रिय कम्पनीहरूले औद्योगिक उत्पादन गरिरहे पनि उत्पादित सामग्री विदेशी निर्यातको अवस्था भने निराशाजनक रहेको तथ्यांकले देखाएको छ ।
अघिल्लो वर्षभन्दा अघि मकवानपुरका ७ उद्योगले ५९ करोड २१ लख रुपैयाँको औद्योगिक तथा कच्चा उत्पादन भारत र तेस्रो मुलुकमा निर्यात गरेका थिए । आर्थिक वर्ष २०७९–८० मा निर्यात व्यापार साढे ६८ करोड रुपैयाँ थियो ।
पेय पदार्थको बिर्को उत्पादन गरी भारत निर्यात गर्ने प्याक्ट ग्रुप क्लोजर सिस्टम नेपाल प्रालि र पानमा प्रयोग हुने मसला निर्यात गर्ने हिमालय कत्थाले मकवानपुरको निर्यात व्यापारमा सबैभन्दै धेरै योगदान गरिरहेको छ । बितेको वर्ष प्याक्ट ग्रुपले मकवानपुरबाट ३० करोड ७४ लाख ३३ हजार रुपैयाँको सामग्री निर्यात गरेको थियो । बहुराष्ट्रिय उद्योगहरूको पेय पदार्थको बिर्को उत्पादन गरिरहेको कम्पनीले आव २०७९–०८० मा पनि ३१ करोड ८४ लाख रुपैयाँको सामान भारत र अष्ट्रेलिया पठाएको थियो ।
प्लाष्टिकको बोरा उत्पादन गरी निर्यात गरिरहेको गोदावरी पोलिप्याक्स एण्ड फेबिक प्रालिले बिगतका वर्षहरूमा करोडौंको निकासी गरिरहेकोम बितेको वर्ष शून्य निर्यात गरेको थियो ।
२०७८–७९ मा एक अर्ब ४२ करोड ६८ हजार रुपैयाँको सामान निर्यात गरेको गोदावरी पोलिप्याक्स एण्ड फेबिक प्रालिको निर्यात आव २०७९–०८० मा ७२ लाख ४७ हजारमा खुम्चिएको थियो । बितेको वर्ष भने गोदावरीको निर्यात शून्य भयो । २०७९–८० मा १७ करोड ८८ लाखको निर्यात गरेको हिमालय कत्था उद्योगको निर्यात बितेको वर्ष २३ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
रिद्धिसिद्धि सिमेन्टले पनि गत वर्ष ४६ लाख ९६ हजार रुपैयाँको सिमेन्ट निर्यात गरेको तथ्यांक मकवानपुर उद्योग वाणिज्य संघले दिएको छ । स्थानीय जडीबुटीको प्रयोग गरी क्यान्सरको औषधि उत्पादन गर्ने इभान्स लाईफ साइन्सेस प्रालिले बितेको वर्ष ३ करोड ५३ लाख रुपैयाँको सामग्री निर्यात गरेको छ । आव २०७९–८० मा कम्पनीको निर्यात २ करोड ५४ लाख रुपैयाँ मात्रै थियो । यसैगरी सिक्स भिल्ला प्रालिले ४४ लाख ७८ हजार रुपैयाँको सामग्री दुबई निकासी गरेको थियो भने नेपाल इकरात इन्जिनियरिङ कम्पनीले २४ लाख ९२ हजार रुपैयाँको ट्रान्समिटर भार निकासी गरेको थियो । बिस्कुट उत्पादन गर्ने खजुरीले १ लाख १७ हजारको सामग्री विदेश निर्यात गरेको मकवानपुर उद्योग वाणिज्य संघका सहायक अधिकृत विजय भण्डारीले जानकारी दिए ।
आर्थिक मन्दीलगायतका कारण निर्यात व्यापार खुम्चँदै गएको उद्योग वाणिज्य संघको बुझाई छ । मकवानपुरमा भएका बहुराष्ट्रिय कम्पनीहरूले पनि आफ्नो उत्पादन नेपालमै सीमित गर्नु र धेरै उद्योगहरू बन्द हुनुका कारणले मकवानपुरको निर्यात व्यापारमा कमी आएको मकवानपुर उद्योग वाणिज्य संघका सहायक अधिकृत विजय भण्डारीले बताए । ‘बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल, कार्पेट उत्पादन गरी निर्यात गर्ने एमएम पोलिमर्सको निर्यात वर्षौँदेखि शून्य रहेको छ । दशकअघि क्रसरजन्य उत्पादनहरू, जडीबुटी, अदुवा, लसुनहरू विदेशमा निर्यात हुने गरेकोमा हाल सबै व्यापार ठप्प छ,’ भण्डारीले भने ।
वर्षेनी करोडौंको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योगहरू बन्द भइसकेका छन् । त्यस्तै एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एण्ड टानिङ जस्ता उद्योगहरू पनि हाल अस्तित्वमा छैनन् । एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुट जस्ता बहुर्राष्ट्रिय उद्योगले पनि १० वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् । चुरोटको निकासी गर्दै आएको गोर्खा लाहारी प्रालिले पनि केही वर्षअघिदेखि भारत निकासी बन्द गरिसकेको छ ।
हेटौंडा औद्योगिक क्षेत्रमा अहिले सयभन्दा बढी उद्योग सञ्चालनमा छन् भने चार हजार जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । मकवानपुरबाट क्रसरजन्य उत्पादन विदेश निकासी बन्द भएपछि निर्यातजन्य व्यापारमा ठूलो प्रभाव परेको मकवानपुर क्रसर उद्योग व्यवसायी संघका अध्यक्ष राजाराम कार्कीको भनाइ छ । क्रसरजन्य निकासी हुँदासम्म अरबौँको निकासी हुने गरेको र जसले गर्दा मुलुकको अर्थतन्त्र चलायमान हुने गरेको उनले स्मरण गरे । ‘सबै कुरा किनेर खानुपर्ने देशमा ढुंगागिट्टी बेच्ने अवसर थियो, त्यो पनि रोकिएपछि धेरै ठुलो प्रभाव परेको छ,’ उनले भने, ‘भारतमा गिट्टी बालुवा बिक्रीबाटै भारतको सिमानाका जिल्लाबाट दैनिक २० करोड रुपैयाँ नेपाल भित्रन्थ्यो, ३३ प्रतिशत त सरकारले राजस्व पाउँथ्यो । क्रसरजन्य उद्योग निकासी बन्द गरिएसँगै ५ लाख जनाको रोजगारी पनि गुमेको छ ।’