एनआरएनए नाइजेरियाद्वारा चौधरीलाई सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्य समिति (एनसीसी) नाइजेरियाले तिहारमा देउसीभैलो खेली जम्मा गरेको रकम टिकापुरका मृगौला पीडित रमेश चौधरीलाई सहयोगार्थ प्रदान गरेको छ ।
करिब ६५ हजार ८६७ रुपैयाँ बराबरको सहयोग रकम कैलालीको टिकापुर नगरपालिकास्थित सितापुरका स्थायी वासिन्दा चौधरीलाई प्रदान गरेको हो । चौधरीको दुबै मिर्गौला काम नलाग्ने भएपछि उनलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउँदै आइएको छ ।
बिपन्न परिवारका चौधरीको उपचार सहयोगस्वरुप एनआरएन नाइजेरियाले सो रकम प्रदान गरेको हो । एनआरएनए नाइजेरियाका सदस्यहरुमध्ये हिक्मत थापाले १०० डलर, चिरञ्जीवी रोकाले १०० डलर, विश्वास पौडेलले १०० डलर, बिदुर घिमिरेले ५० डलर, संजय थापाले १०० डलर, अभिषेक मान सिंहले ५० डलर, आशा श्रेष्ठ सरकारले २८ डलर र सोनेश अर्यालले ५० डलर गरी जम्मा ५७८ अमेरिकी डलर बराबरको सहयोग रकम संस्थाले टिकापुर सरोकार समूह मार्फत उनकी श्रीमति रिताकुमारी चौधरीको खातामा जम्मा गरेको हो ।
मृगौला प्रत्यारोपणका लागि करिब १० लाख खर्च लाग्ने बताइएको छ । यो रकमको जोहो गर्न उनको परिवारलाई असम्भव हुनाले देशविदेशमा रहने दाताले बैंक अफ काठमाण्डूको खाता नं.२१२८००००१२०४५२४ मा रिता कुमारी चौधरीको नाममा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।