Logo

पर्यटन क्षेत्रबाट लाभ लिन तीनै तहका सरकार उदासिन

विराटनगर– मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रबाट लाभ लिन तीनै तहका सरकार उदासिन रहेका छन् । कोशी प्रदेशमा विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नेपालको होचो कचनकवलसम्म परे पनि त्यसबाट लाभ लिन सरकार उदासिन बनेको हो ।

यी बाहेक अन्य दर्जनौं आकर्षक र पुग्नै पर्ने गन्तव्य पनि प्रदेशमा छन् । कोशी प्रदेश सरकार र पर्यटनकर्मीले यहाँ भएका सम्भावनाको प्रचार गर्न नसक्दा लोकप्रिय पर्यटकीय गन्तव्यहरू ओझेलमा परेका छन् । पर्यटक भित्र्याएर विदेशी मुद्रा आर्जनमा प्रदेश सरकार उदासिन रहेको देखिएको छ ।

कोशी प्रदेशमा रहेका ८ हजार मिटरमाथिका पाँच हिमालमध्ये विश्वकै अग्लो सगरमाथा, तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं मकालु र छैटौं अग्लो चोओ यु छन् । प्राकृतिक र जैविक विविधताले भरिपूर्ण कोशी प्रदेशले पर्यटनबाट पर्याप्त आम्दानी गर्न सक्छ ।

प्रदेश सरकार परिवर्तन र आन्तरिक द्वन्द्वका कारण पछिल्लो समय पर्यटन क्षेत्रको अवस्था नाजुक बनेको सरोकारवाला बताउँछन् । साथै स्थानीय तहदेखि नै पूर्वाधार निर्माणमा पर्यटनको महत्त्वलाई प्राथमिकता दिइएको पाइँदैन । विराटनगरका पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठको बुझाइमा पर्यटन सम्पदाको उचित प्रचार नहुँदा पर्यटक आकर्षित हुन सकेका छैनन् । उनी भन्छन्, ‘प्रदेश सरकारले यस क्षेत्रमा कामै गर्न सकेको छैन । सोही कारण छिमेकी देशका पर्यटक कोशी प्रदेशमा घुम्न आएका छैनन् ।’

प्रदेश सरकार र सम्बन्धित मन्त्रालयले पयर्टन नै नबुझेको उनको तर्क छ । ‘बजेट सक्दैमा पर्यटनको विकास हुन सक्दैन,’ श्रेष्ठ भन्छन्, ‘पर्यटन भनेको व्यवसायीको बिजनेस मात्रै होइन, सरकारको बिजनेस पनि हो ।’

भारतको जोगबनीदेखि सिलगढीसम्मका मानिसको दार्जिलिङ र सिक्किम घुम्न ताँती लाग्ने गरेको छ । तर त्यहाँका भन्दा आकर्षक गन्तव्य प्रचार नगरेकै कारण ओझेलमा परेका छन् । पर्यटन व्यवसायी श्रेष्ठकै शब्दमा गर्मीले हपहपी भएर पसिनाको धारो बग्ने ठाउँबाट करिब डेढ घण्टाको दूरीमा ज्याकेट लगाउनुपर्ने भूवनोट र वातावरणमा पुग्न सकिन्छ । पूर्वमा भेडेटारजस्ता दर्जनौं गन्तव्यहरू तराईबाट छोटो यात्रामा पुग्न सकिन्छ ।

पूर्वको पर्यटकीय गन्तव्य इलामको श्रीअन्तुमा होटलहरू खाली हुनुले पनि पर्यटनको अवस्था खस्किएको स्पष्ट हुने उनले बताए । बाह्य पर्यटकसम्म सरकार पुग्न नसक्नु, आन्तरिक पर्यटकलाई पर्यटकमैत्री व्यवहार नगर्नु र पर्यटक लक्षित काम गर्न नसक्नु जस्ता समस्या छन् ।

‘प्रदेश सरकार न कोशी कटेर उता प्रचार गर्न गएको छ न भारतको सिलगढी र जोगबनी पुगेको छ । कोशी प्रदेशमा भएका प्रशस्त सम्भावनाको प्रचार गर्न नसक्दा सोचेजस्तो पर्यटनमा विकास गर्न सकेका छैनौं,’ अर्का पर्यटन व्यवसायी पुण्य भट्टराईले भने, ‘काठमाडौंका अधिकांश मान्छे सिधै पोखरा हुँदै जोमसोम जाने चलन छ । पोखरा र जोमसोमका मान्छे दार्जीलिङ र सिक्किम जाँदा कोशी प्रदेशमा आउने अवस्था छैन । यो सबै प्रचारको कमी र पर्यटकमैत्री व्यवहार नभएका कारणले हो ।’

देशमा आर्थिक मन्दी भएका कारण पर्यटन क्षेत्र दर्बिलो बन्न नसकेको उनले सुनाए । एक दुई वटा होटल चल्दैमा पर्यटनको विकास भएको स्वीकार गर्न नसकिने उनी बताउँछन् । सरकारले दुई लाख र पाँच लाख बजेट हालिदिएँ भनेर कार्यकर्ताको चित्त बुझाउने गरी पैसा छर्ने काम मात्रै गरेको छ ।

‘सरकारी बजेटमा केही होटल चलिरहेका होलान् । तर आमपर्यटनका पूर्वाधार समस्यामा छन्,’ उनले भने, ‘अहिलेको अवस्थामा कसैले पनि नियमित रूपमा होटलको भाडा नतिरेको अवस्था छ । बैंकको ब्याज नतिरेको अवस्था छ ।’ उनले कोशी प्रदेशमा वार्षिक रूपमा कुनै एक ठाउँको खास प्रचार गरेमा यहाँको पर्यटन प्रवर्द्धन हुने सुझाए । ‘हामीले मकालु, कञ्चनजंघा वा कुनै धार्मिकस्थल वा वन्यजन्तुको मात्रै प्रवर्द्धन गर्ने नीति ल्याउनुपर्छ । कुनै निश्चित क्षेत्र लक्षित कार्यक्रम गर्न सकेमा प्रशस्तै सम्भावना छन्,’ उनले भने, ‘हामी त्यहाँ पनि चुकिरहेका छौं । भारतीय पर्यटकलाई कोशी प्रदेशका हरेक ठाउँ घुम्न सक्ने गरी प्रचार गर्न सक्नुपर्छ । नेपाल भनेको काठमाडौं मात्रै भन्ने बुझाइ चिर्न आवश्यक छ ।’

उद्योग वाणिज्य संघ कोशी प्रदेश पर्यटन विभागका संयोजकसमेत रहेका पर्यटन व्यवसायी श्रेष्ठले पर्यटन क्षेत्र गाह्रो अवस्थामा रहेको बताए । ‘नयाँ गन्तव्य आउने र नयाँ होटल खुल्ने भइरहेका छन् । तर पर्यटनको क्षेत्र गाह्रो छ । कोशीमा पर्यटनको अवस्था त्यति राम्रो छैन,’ श्रेष्ठले भने, ‘होटल सुनसान छन् । पर्यटनसँग सम्बन्धित गतिविधि सुस्त स्थितिमा छ । ट्राभल एजेन्सीका सक्रिय गतिविधि घटेका छन् ।’ सरकार र निजी क्षेत्र मिलेर पर्यटक आकर्षित गर्नुपर्ने उनले बताए । तर कोशी प्रदेशको विडम्बना सरकार नै नरहेकोजस्तो अनुभूति भएको उनले सुनाए । ‘हाम्रो अभिभावक सरकार हो । कोशी प्रदेश सरकारले स्थायित्व दिन सकेन,’ उनी भन्छन्, ‘त्यसैले प्रदेश तहमा केही कामै भएको अवस्था छैन । एक त कामै भएका छैनन् ।’

स्थानीय सरकारले आफ्नोभन्दा अरुको ठाउँ राम्रो कहिल्यै नभनेको उनले सुनाए । एउटा पालिकाले अर्को पालिका राम्रो छ भन्ने वातावरण नभएका कारण पनि पर्यटक नभित्रिएको उनी बताउँछन् । ‘अभिभावक नै कमजोर छन् । केन्द्रबाट केही नहेर्ने, प्रदेशले वास्तै नगर्ने र स्थानीय तहले आफू बाहेक अन्य स्वीकार गर्न नसक्ने भएका कारण पर्यटन क्षेत्र थप पछाडि परिरहेको छ,’ पर्यटन व्यवसायी श्रेष्ठ भन्छन्,‘नयाँ गन्तव्य खोजिरहेको अवस्था पनि छ । भइरहेका ठाउँहरूको प्रचार गर्न सरकारी पक्षबाट पनि कमजोरी भएको छ ।’ बैंक र वित्तीय संस्थाहरूले लिएको ब्याज तोकिएभन्दा बढी लिएका कारण पर्यटनको अवस्था तहसनहस भएको उनको आरोप छ ।

उनका अनुसार तेस्रो मुलुकका पर्यटकहरू हिमाल चढ्नेबाहेक पहाडी र मधेश क्षेत्रमा कम आउने गरेका छन् । ‘हाम्रो क्षेत्रका सबैभन्दा धेरै पर्यटक भारतीय पर्यटक हुन् । तर उनीहरू आउने वातावरण छैन । सरकारी वा अन्य पक्षले र हरेक राजनीतिक दलले आफू राम्रो बन्नका लागि भारतीयलाई गाली गर्नेबाहेक केही छैन,’ उनी भन्छन्, ‘सदनदेखि सडकसम्म भारतलाई गाली गरेर देशभक्ति र स्टन्टबाजी गर्ने चलन छ ।’ भारतीय पर्यटकलाई म सुरक्षित छु भन्ने नदेखिएको उनी बताउँछन् । भारतीय गाडीहरूलाई चेकिङका नाममा ट्राफिकदेखि स्थानीय तहले पनि विभिन्न बहानामा दु:ख दिइरहेको उनको अनुभव छ ।

भारतको बिहार, पश्चिम बंगाल र उत्तर प्रदेशका पर्यटक भित्र्याउन सके कोशी प्रदेशको पर्यटन क्षेत्रको विकासले गति लिने उनले बताए । यी तीन प्रदेशमा मात्रै ४० करोडभन्दा बढी जनसंख्या रहेको छ । ४० करोडको १ प्रतिशतमात्रै पर्यटक भित्र्याउन सके ४० लाख हुन्छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले छिमेकमा दुई ठूला शक्तिराष्ट्रबाट नेपालले फाइदा लिन नसकेको बताए । छिमेकी भारत र चीनबाट बढीभन्दा बढी लाभ लिन सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्