राजनीतिक तथा मनोवैज्ञानिक त्रासमा सेयर बजार

सेयर बजार जोखिम सहन परीक्षण गर्ने बजार हो भने लगानीकर्ताको विश्वास, झुकाव, चाल र आत्मबलको आधारमा खेलिने रोमाञ्चक खेल पनि हो । |
सेयर बजारमा देखिएको विकास, विस्तार तथा आधुनिकीकरणलाई ओझेलमा पार्ने मुख्य जड भनेको राजनीतिक नेतृत्वले जुनसुकै बखत गर्न सक्ने बोली, व्यवहार तथा नीतिगत परिवर्तन र लगानीकर्तामा देखिएको लगानी असुरक्षासम्बन्धी त्रास नै हो ।
पुँजीबजारले ससाना व्यक्तिगत तथा अन्य बचतहरूलाई एकत्रित गरी उत्पादनमूलक क्षेत्रमा पुँजीका रूपमा परिचालन गर्ने कार्य गरी देश विकासका लागि अति आवश्यक पुँजी निर्माण एवम् परिचालन प्रक्रियामा महत्वपूर्ण योगदान गर्छ । पुँजीबजारको प्राथमिक बजारले पुँजी जुटाउने कार्यमा सहयोग पु¥याउँछ भने अर्काे महत्वपूर्ण पाटोका रूपमा रहेको दोस्रो बजारले पुँजीबजारमा पुँजी निर्माण तथा परिचालनका लागि उत्प्रेरकका रूपमा कार्य गर्छ । कुनै पनि देशको अर्थतन्त्रमा आएको सानो परिवर्तन अर्थात् राजनीतिक, आर्थिक, सामाजिक एवम् प्राविधिक परिवर्तनले पुँजीबजारमा ठूलो असर पार्छ । नेपालको विगत १० वर्षको दोस्रो बजारको प्रवृत्तिलाई नियाल्दा नेप्से परिसूचक सबैभन्दा तल २ सय ९२ र सबैभन्दा माथि १ हजार ८ सय ८१ बिन्दुमा पुगेको देखिन्छ । पछिल्ला तीन आर्थिक वर्षमा कारोबार रकम र बजार परिसूचकहरू निरन्तर ओरालो लागिरहेको तथा सेयर बजारले न्यूनतम बिन्दुलाई पछ्याइरहेको आभास भइरहेको छ ।
देशको पुँजीबजार मुख्यतया लगानीकर्ताहरूको विश्वासमा अडेको हुन्छ । नेपालमा लगानीकर्ताहरू विश्वस्त भई पुँजीबजारमा दिल खोलेरै लगानी गर्ने वा लगानी बढाउने आधारहरू अस्पष्ट रहेका देखिन्छन् । लामो समयसम्म रहेको राजनीतिक द्वन्द्वको अन्त्य भई दुई पटक संविधान सभाको चुनावपछि बनेको नयाँ संविधान र दुई अलग राजनीतिक धारका पार्टीहरू एक भई बनेको बलियो सरकार छ । सम्बन्धित क्षेत्रमा विज्ञ भनाउँदा व्यक्तिहरूले क्षेत्रगत नेतृत्व सम्हालेका छन् । सरकारले कंगारु उफ्राइ तीव्र आर्थिक विकास भइरहेको र हुने आश्वासन बाँडिरहेको छ । तर, अर्थतन्त्रको ऐनाका रूपमा हेरिने पुँजीबजारको दिशा एवम् गति भने उल्टो रहेको छ ।
यसो भन्दै गर्दा पुँजीबजारको विकास, विस्तार तथा आधुनिकीकरणका लागि सरकार तथा नियामक निकायहरूबाट पहल कदमी अगाडि नबढेका होइनन् । वि.सं. २०५० मा पुँजीबजारलाई व्यवस्थित गर्न नियामक निकायका रूपमा धितोपत्र बोर्डको स्थापना भयो । ६२ वटा सूचीकृत कम्पनीबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दोस्रो बजार कारोबार गर्न ओपन आउट क्राई सिस्टमको सुरुवात भयो । वि.सं. २०६४ बाट उक्त प्रणालीलाई विस्थापित गरी स्वचालित कम्प्युटरकृत प्रणालीमार्फत कारोबार सञ्चालन भयो । प्रविधिमा आएको परिवर्तन र अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात् गर्दै हाल अनलाइन ट्रेडिङ सिस्टममार्फत इन्टरनेट सेवा पुगेका जुनसुकै स्थानबाट नेप्सेमा सूचीकृत २ सय ४५ कम्पनीहरूको सेयर कारोबार तथा लगानी गर्न सम्भव भएको छ । घण्टौं लाइनमा बसेर कम्पनीले निष्कासन गरेको साधारण सेयरमा आवेदन गर्नुपर्ने बाध्यता हटेको छ । सर्वसाधारणले नजिकैको बैंक तथा वित्तीय संस्थामा बैंक खाता र डिम्याट खाता खोली क्षणभरमै सेयर आवेदन गर्न सकिने भएको छ । यति हुँदाहुँदै पनि सेयर बजारप्रति आमलगानीकर्ता विश्वस्त भई ढुक्कसित सेयर कारोबार तथा लगानी बढाउन उत्साहित देखिंदैनन् । सेयर बजारमा देखिएको विकास, विस्तार तथा आधुनिकीकरणलाई ओझेलमा पार्ने मुख्य जड भनेको राजनीतिक नेतृत्वले जुनसुकै बखत गर्न सक्ने बोली, व्यवहार तथा नीतिगत परिवर्तन र लगानीकर्तामा देखिएको लगानी असुरक्षासम्बन्धी त्रास नै हो ।
सेयर बजारको प्रत्यक्ष सम्बन्ध सधैं कम्पनीको प्रतिफल, किताबी मूल्य, प्रतिसेयर आम्दानी तथा अन्य सैद्धान्तिक पक्षहरूमा मात्र निहित हुँदैन । यो जोखिम सहन परीक्षण गर्ने बजार पनि हो भने लगानीकर्ताको विश्वास, झुकाव, चाल र आत्मबलका आधारमा खेलिने रोमाञ्चक खेल पनि हो । नेपालको सेयर बजारको उतारचढावलाई हेर्दा कुनै पनि सैद्धान्तिक जगमा उभिएर वस्तुपरक विश्लेषण र प्रक्षेपण गर्न सकिने अवस्था देखिंदैन । नेपालका कतिपय बुद्धिजीवी र नियामक निकायका पदाधिकारीहरूसमेतले यदाकदा सेयर बजारलाई जुवासँग तुलना गरेर अभिव्यक्ति दिने गरेको पनि पाइन्छ । अझ भनौं, राजनीतिक भागबन्डाको भरमा विभिन्न समितिमा आबद्ध रहेका व्यक्तिहरूले दिएको अस्वाभाविक एवम् हास्यास्पद अभिव्यक्तिले सेयर बजारमाथि राजनीतिक खेलबाड भइरहेको प्रस्ट देखिन्छ ।
बजारमा कतिपय लगानीकर्तालाई यो लोभको बजार पनि लाग्न सक्छ भने कतिलाई यो भविष्य निर्माण गर्ने अवसर पनि लाग्न सक्छ । एउटै बजारप्रति विभिन्न प्रकारका मानिसको बुझाई पनि फरक–फरक रहन गएको पाइन्छ । अतः यसमा विभिन्न वर्ग, समूह एवम् परिवेशमा रहेका लगानीकर्ताको मनोविज्ञानले धेरै प्रभाव पार्छ । लामो समयसम्म स्थिर रहेको बजारमा केही लगानीकर्ताको आर्थिक हैसियत सुध्रिएको समाचार प्रकाशित÷प्रसारित हुँदा सेयरमा लगानी गर्नेहरू अग्रसर हुने वा हौसिने र केही लगानीकर्ता समस्यामा परेको देखेमा सम्भावित लगानीकर्ताहरूसमेत तर्सिने वा भाग्ने प्रवृत्तिले नेपालको सेयर बजार पूर्ण प्रभावित हुने गरेको छ ।
नेपाली सेयर बजारको अझ डरलाग्दो पक्ष भनेको नियमित कारोबारको परिमाण र नेप्से परिसूचकमा हुने व्यापक उतारचढाव नै हो । परिसूचक र कारोबार परिमाणलाई विश्लेषण गर्न खोज्ने हो भने नेपाली सेयर बजार सैद्धान्तिक जगमा अडिएको छ भन्न कठिन छ । नेप्सेमा सूचीकृत कम्पनीको त्रैमासिक वित्तीय विवरणमा खुद मुनाफा, किताबी मूल्य तथा प्रतिसेयर आम्दानी लगायतका वित्तीय सूचकांकहरू बढोत्तरी भएको सार्वजनिक भएकै बखत उक्त सेयरको बजार मूल्य नकारात्मक दिशातर्फ ओरालो लाग्ने गरेको देखिन्छ । यो परिदृश्यले सेयर बजारप्रति लगानीकर्ताको मनोविज्ञान सकारात्मक नभएको प्रतिविम्बित गर्छ ।
सेयर बजारप्रति लगानीकर्ताको आकर्षण कम भई विश्वसनीयता धर्मराउनुको अर्काे मुख्य जड भनेको विगतका वर्षहरूमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा भएको पुँजी वृद्धि र अपेक्षित प्रतिफलमा आएको ह्रास नै हो । त्यस्तैगरी सरकारले विभिन्न प्रलोभनसहितका नारासहित कमजोर वित्तीय अवस्था भएका हाइड्रोपावर कम्पनीहरूलाई सेयर जारी गरी पुँजी जुटाउने अवसर प्रदान गरेको तर लगानीकर्ताको हित संरक्षणमा कम चासो दिएका कारण सेयर बजारप्रति लगानीकर्ताको नकारात्मक धारणा बढ्दै गएको पाइन्छ ।
हाल नेपालको सेयर बजारमा सेयरको मूल्य न त सैद्धान्तिक आधारमा अनुमान गर्न सकिन्छ, न त बजारमा देखिने अस्वाभाविक परिवर्तनलाई नकारात्मक रूपमा मात्रै विश्लेषण नगरी यसमा भएका कमी–कमजोरी, विकृति एवम् विसंगतिहरूलाई समयमै वैज्ञानिक, दिगो एवम् पारदर्शी ढंगबाट सच्याउनेतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ । सेयर बजारमा देखिएका समस्याहरूको निराकरण गर्नका लागि नेपाल सरकार, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सम्बन्धित सूचीकृत कम्पनीलगायतका सम्बद्ध पक्षहरूले समस्याका बारेमा सूक्ष्म अध्ययन गरी उपयुक्त निकास निकाल्नु आवश्यक हुन्छ ।