Logo

बुद्बुदीको पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण

जुम्ला– तातोपानी गाउँपालिका–३ स्थित ऐतिहासिक महत्त्व बोकेको धार्मिक पर्यटकीयस्थल ‘बुदबुदी’को प्रवर्द्धनका लागि पूर्वाधार निर्माण गरिएको छ । तातोपानीकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा बुद्बुदी क्षेत्रको प्रवर्द्धनका निम्ति तातोपानी गाउँपालिकाले पूर्वाधार निर्माण गरेको हो । पवित्र तीर्थस्थलका रूपमा रहेको बुद्बुदीको संरक्षण तथा प्रवर्द्धनका लागि व्यवस्थित घेराबारसहित नयाँ मन्दिर लगायतका पूर्वाधार निर्माण गरिएको छ ।

बुद्बुदीमा निर्माण गरिएका मन्दिरलगायत अन्य संरचनाको शुक्रबार विधिवत रूपमा उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्यले मन्दिरको उद्घाटन गरेका हुन् । वडाले ऐतिहासिक धार्मिक पर्यटनस्थलको प्रवर्द्धन र संरक्षणका लागि पूर्वाधार निर्माण गर्नु स्वागतयोग्य काम भएको बताए । जिल्लामा थुप्रै ऐतिहासिक महत्त्व बोकेका पर्यटकीय गन्तव्य भए पनि संरक्षणको अभावमा लोप हुँदै गएका छन् । तातोपानी गिडिदह, तातोपानी, बुद्बुदी, गुरुफोक्टो लगायतका पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि उल्लेखनीय काम गर्दै आएको उनको भनाइ छ ।

तातोपानी गाउँपालिका–३ का वडाध्यक्ष गोर्कण रावलले गत आवको २३ लाख बजेट लगानीमा बुद्बुदीमा शुक्लेश्वर महादेवको नयाँ मन्दिरलगायत संरचना निर्माण गरेको बताए । उनका अनुसार २३ लाख लगानीमा मन्दिर, पक्की घेराबार, खानेपानी धारा, प्रतीक्षालय, शौचालय, गेटलगायतका संरचना बनाइएको छ । हरेक पूर्णिमा उक्त क्षेत्रमा स्नान गर्नेको भीड हुन्छ । भने बाहिरी जिल्लामा बाबिरो मष्टो पुज्न आउने भक्तजनसमेत उक्त क्षेत्रमा पुग्ने गरेका छन् । विगतमा व्यवस्थित नहुँदा निकै समस्या थियो ।

भक्तजनको समस्यालाई मध्यनजर गरी बुद्बुदीको संरक्षणका लागि नयाँ संरचना बनाइएको वडाध्यक्ष रावलले उल्लेख गरे । उनले भने, ‘वडा नजिकको सरकारको हो । आश्यकता पहिचान गरि कृषि, पर्यटन, खानेपानी, धर्म सांस्कृति सबै क्षेत्रमा समान विकास गर्नुपर्छ । स्थानीयको माग पनि यही हो । बुद्बुदिलाई तातेपानीको प्रमुख पर्यटकीय गन्तव्य बनाउन लागि पर्छु । सोहीअनुसार विकास पनि हुँदैछ ।’ बुद्बुदीमा नयाँ मन्दिरसहित अन्य संरचना बनेर व्यवस्थित भएपछि तातोपानीबासी उत्साहित भएका छन् ।

शुक्रबार मन्दिर उद्घाटनमा पनि स्थानीयको उत्साहजनक रूपमा सहभागिता थियो । मन्दिरमा नियमित पुँजा आजा गर्ने गरी एकजना पुजारी राख्ने तयारी भइरहेको वडाध्यक्ष रावलको भनाइ छ । तातोपानी गाउँपालिकाले पछिल्लो दुई वर्षमा पर्यटन क्षेत्रमा विशेष प्राथमिकता दिएर लगानी गर्दै आएको छ । वर्षौदेखी गुमनाम रहेको गिडिदहलाई एकाएक चर्चामा ल्याउन र पर्यटकको आकर्षणको केन्द्र बनाउन जनप्रतिनिधि खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्