Logo

बाँध सफा गर्न माथिल्लो तामाकोसीको उत्पादन बन्द

दोलखा– हिउँदका लागि विद्युत उत्पादन बढाउन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्र सरसफाइ गर्ने भएको छ । माथिल्लो तामाकोसी जलविद्युत केन्द्रले एक सूचना जारी गरी केन्द्रको आइतबार बाँध क्षेत्र सफाइ गर्न लागेको जानकारी दिएको छ । बाँध क्षेत्र सरसफाइ गर्दा पानी बाँध क्षेत्रमै जम्मा गर्दै खोल्दै गर्दा विद्युत उत्पादन बिहानैदेखि १७ घण्टाका लागि बन्द हुने भएको छ ।

बिहान ४ बजेदेखि उत्पादन बन्द गरेर बाँधस्थलमा जम्मा भएको बालुवा र गेग्रान हटाउने माथिल्लो तामाकोसी जलविद्युत केन्द्रका प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए । विभिन्न खोला खोल्सीबाट भू–क्षय र पहिराले ल्याएर बाँधमा जम्मा भएको बालुवा लगायतका सामग्री हटाउनका लागि सरसफाइ गरेको हो । दुई किलोमिटर लामो बाँध क्षेत्र बालुवा र गेग्रान थुप्रिँदा घट्दै गएको छ । हिँदका लागि पानी बढी जम्मा गरेर उत्पादन बढाउनका लागि बाँध सफाइ गर्ने गरिएको केन्द्र प्रमुख रञ्जितले जानकारी दिए ।

‘वर्षात्मा त पर्याप्त पानी हुन्छ, हिउँदमा नदीमा पानी घट्दै जान्छ,’ उनले भने, ‘दिन र रातमा नदीको पानी जम्मा गरेर बढी विद्युतको माग हुने समय बिहान र साँझमा उत्पादन बढाउन अहिले बाँध सफा गरेका हौं ।’ वर्षात् सकिन लागेकाले बाँध सफाइ गरेको हो । अहिले केन्द्रको उत्पादन बन्द गर्दा राष्ट्रिय प्रणालीमा समेत असर नगर्ने हुँदा यही बेला बाँध सफाइको कार्यक्रम बनाएको हो । दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा रहेको विद्युत केन्द्रको बिहान ४ बजेदेखि बाँधका ४ वटा ढोका पालैपालो खोलेर बालुवा बगाउने कार्यक्रम छ ।

दिनभर ढोका बन्द गर्दै खोल्दै गरेर बाँधमा जम्मा भएको सबै बालुवा बगाउने कार्यपछि विद्युत उत्पादन नियमित हुनेछ । यो वर्ष बाँध सफा गर्न लागेको दोस्रो पटक हो । गत असार १ गते माथिल्लो क्षेत्रमा भीषण पानी भएर बाढी आउँदा आयोजनाको बाँध खोलिएको थियो । त्यसबेला पनि १७ घण्टा विद्युत उत्पादन बन्द गरेर बाँध खोलेर गेग्रान बगाइएको थियो । अघिल्ला वर्षमा वर्षात् सकिएर हिउँद सुरु हुन लाग्दामात्रै बाँध सफाइ हुँदै आएकोमा यस वर्ष बाँध सफाइ तालिका ३ पटक राखिएको विद्युत उत्पादन केन्द्रका प्रमुख रञ्जितले बताए ।

लप्ची खोलामा निर्माणाधीन जलविद्युत आयोजनाले लामाबगरदेखिको माथिल्लो क्षेत्रमा सडक निर्माणका क्रममा निस्केको ढुंगा, माटो र पहिरो तामाकोसीमै आएकाले त्यो बगाएर माथिल्लो तामाकोसीकै बाँधमा ल्याएर भरिएको छ । आयोजनाको बाँध नदीको सतहबाट १४ मिटर उचाइमा पानी भर्ने गरी डिजाइन गरेको छ । समुद्री सतहबाट १९७९ मिटरसम्म मात्रै बालुवा गेग्रान भरिनु पर्नेमा अहिले त्यसभन्दा चार मिटर माथिसम्म भरिएको छ । यसले अर्धजलाशययुक्त आयोजना नदी प्रवाही जस्तो हुने भएकाले विगतभन्दा दुई पटक सफाइ बढी हुन लागेको हो ।

केन्द्र प्रमुख रञ्जितले बाँधका ढोका बन्द गरेर पानी जम्मा गर्ने र खोल्ने गर्दा ठूला ढुंगाबाहेक अरु बगाएर लैजाने बताए । बालुवा बगाएपछि पानीको मात्रा बढी जम्मा हुँदा हिउँको सुख्खा मौसममा बढी विद्युत उत्पादन गर्न सकिन्छ । बाँध क्षेत्रमा बालुवा बगाउनका लागि स्काभेटर जस्ता कुनै पनि उपकरण सडक असुविधाले लैजान नसकिने हुनाले पानी जम्मा गर्दै खोल्दै गर्नुपर्छ । बाँध क्षेत्रमा बालुवाको सतह बढेकाले बाँधको लम्बाइ र पानी जम्मा हुने मात्रा समेत घट्दै गएको छ ।

बाँधमा जम्मा भएको पानी फाल्ने जम्मा गर्ने गर्दा आइतबार बिहानदेखि राती १० बजेसम्म तामाकोसी नदीमा पानीको बहाव घटबढ भइरहेको छ । नदीको जलस्तर घटबढ हुँदा लामाबगरदेखि तल्लो तटीय क्षेत्रमा लुगा धुने, माछा मार्ने, मलामी जानेका लागि सतर्कता अपनाउन सूचना जारी गरेको छ । बाँध र बालुवा थिग्रयाउने दुईवटा पोखरी सरसफाइपछि राती १० बजेबाट विद्युत उत्पादन नियमित हुनेछ भने नेपाल विद्युत प्राधिकरणले पनि भारत निकासी नियमित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्