तीन वर्षभित्र चीनबाट पनि पाइपलाइनमा तेल ल्याउँछौं : मन्त्री भट्ट «

तीन वर्षभित्र चीनबाट पनि पाइपलाइनमा तेल ल्याउँछौं : मन्त्री भट्ट

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल गार्हस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पु-याउनेगरी काम गर्ने बताएका छन् । आगामी तीन वर्षभित्र चीनबाट पाइपलाइनमा नेपालमा तेल ल्याउनेपनि उनको दाबी छ ।
मन्त्री भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारामा ठूलो कुरा लुकेको पनि बताए । ‘जबसम्म जनता सुखी हुँदैनन्, तबसम्म मुलुक समृद्ध हुँदैनन् । मुलुक समृद्ध नभएसम्म फेरि जनता सुखी हुँदैनन् । यसमा द्वन्द्वात्मक सम्बन्ध छ ।’ उनले भने, ‘कृषि, पर्यटन सबैलाई उद्योगको रुपमा विकास गर्छौं । हामी कृषिमा आत्मनिर्भर हुँदैछौं । त्यहीअनुसार कृषि मन्त्रालयले योजना र तयारी गरिरहेको छ ।’
उनले अहिले सञ्चालनमा रहेका केही सरकारी रुग्ण उद्योगहरुलाई गतिका साथ सञ्चालनमा ल्याउने तयारीमा लागेको पनि दावी गरे । ‘सरकारी उद्योगहरुले मुनाफा हासिल गर्न सकेका छैनन् । अब यसलाई मुनाफातर्फ लैजानको लागि हामी छलफल गरिरहेका छौं ।’ उनले भने ।
त्यस्तै, निजी क्षेत्रको लागि पनि औद्योगीकरणको वातावरण बनाउनको लागि आफूले आवश्यक पहल गरिरहेको मन्त्री भट्टले सुनाए । उनले भने,‘औद्योगीकरणको लागि वातावरण बनाउनको लागि आवश्यक पहल भइरहेको छ । कतिपय ऐन, कानूनहरु बनिसकेका छन् । कतिपय कार्यविधिहरु बन्ने प्रक्रियामा छन् ।’ आफू भर्खरै मन्त्रालयमा आएकोले अहिले छलफलको क्रममा नै रहेको पनि उनले सुनाए । उनले भने, ‘अब सुस्त गतिमा हिँडेर काम छैन्, हामी गतिमा काम गर्नेगरी अघि बढ्छौं ।’
पछिल्लो समय मुलुकको व्यापार घाटा कम भइरहेको सुनाउँदै यत्तिमा नै आफूहरुले सन्तोष मान्नुपर्ने स्थिति भने नभएको उनको भनाइ छ । उनले भने,‘कृषिमा हामी आत्मनिर्भर हुँदैछौं । कृषि मन्त्रालयसँग हामी समन्वय गर्दै अघि बढ्छौं । अरु, मन्त्रालयसँग पनि हामी समन्वय र छलफल गर्दै अघि बढ्छौं । आपूर्तिले नेपालमा आन्तरिकतर्फ ध्यान दिएर काम गर्छ भने वाणिज्यले भने बाह्य मुलुकसँगको व्यापारको लागि काम गर्छ ।’
उनले मुलुकमा औद्योगीकमैत्री वातावरण बनाउनका लागि आफ्नो पहिलो काम हुन पनि विश्वास दिलाए । उनले भने, ‘औद्योगिकमैत्री वातावरण बनाउन सकियो भने मुलुकमा आन्तरिक र बाह्य पुँजी आकर्षण हुन्छ । म त्यो काममा लागिरहेको छु । पछिल्लो समय बाह्य पुँजीपनि देशमा आकर्षण भइरहेको छ ।’ उनले स्थानीय तहमा छरिएर रहेका ग्रामोद्योगलाई अब एकै ठाउँमा ल्याएर व्यवस्थित् गर्ने योजना रहेको पनि उनले सुनाए ।
त्यस्तै, उनले केही नयाँ औद्योगिक क्षेत्रपनि घोषणा भएका र केही घोषणा हुने क्रममा रहेको सुनाए । उनले भने, ‘केही क्षेत्रहरु घोषणा भइसकेका छन् । कतिपयहरु घोषणा हुने क्रममा छन् । कतिपयको डीपीआर र आईईए. भइरहेको छ ।’ मन्त्री भट्टले दुई मुलुकसँग बन्दरगाहा र नाका खोल्ने काम पनि भएको बताए । उनले भने, ‘हाम्रो राज्यमन्त्री औद्योगिक क्षेत्रकै व्यक्तित्व हुनुहुन्छ, हामी सामुहिक छलफल र निर्णयमा जान्छौं । हिजो मात्रै पनि मैले उहाँसँग छलफल गरेको छु ।’ उनले निजी क्षेत्रका उद्योगहरु नाफामा गएका तर सरकारी उद्योगहरु घाटामा जानुको कारणबारे पनि आफूहरुले अध्ययन तथा अनुसन्धान गरिरहेको बताए ।
उनले भने, ‘निजी क्षेत्रको व्यवस्थापन चुस्तदुरुस्त छ । सरकारी उद्योगहरु हाम्रो हो भन्ने भावना नै भएन् । व्यवस्थापनमा बसेकाहरुको व्यक्तिगत स्वार्थ लुकेको देखियो । अब त्यस्तो हुँदैन् । व्यवस्थापनमा बसेकाहरुले सरकारी उद्योगपनि हाम्रो हो भन्ने भावनासहित अघि बढ्नुपर्छ । यसको लागि योग्य व्यवस्थापक दिनुपर्छ । काम गर्ने कार्यशैली र सोच बदल्नुपर्छ । सरकारले त्यसतर्फ पर्याप्त ध्यान पुर्याउँछ ।’
केही वस्तुमा आत्मनिर्भर हुनासाथ मुलुकको अर्थतन्त्रमा ठूलो र सकारात्मक योगदान पुग्ने उनको विश्वास छ । उनले भने,‘म त निमित्त मात्रै हुँ, सबैले सकारात्मक भएर आफ्नो ठाउँबाट योगदान दिनुपर्छ । मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’
उनले बजार अनुगमनको लागि पनि आफूले कडा कदम चाल्ने विश्वास दिलाए । उनले भने, ‘बजार अनुगमन गर्ने हो । तर, अनुशासन स्थापित गर्ने कुरामा सबैले इमानदारीपूर्वक लाग्नुपर्छ । स्व–अनुशासनको पनि कुरा हुन्छ । राज्यले सधैं अनुगमन गरेरमात्रै पुग्दैन् । हामी व्यवसायीहरुलाई जनता र देशप्रति उत्तरदायी बनाउने दिशामा लाग्नेछौं ।’ आफूले समस्या समाधानको लागि कडा कानून ल्याउने तयारी गर्न लागेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्