Logo

काँक्रोको बिउबाट दुई करोड आम्दानी

पर्वत– पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका कृषकले काँक्रोको बिउ बिक्रीबाट दुई करोड रुपैयाँ बढी आम्दानी गरेका छन् । व्यावसायिक रूपमा तरकारी उत्पादनमा सक्रिय सल्यान गाउँका करिब ७० घरधुरीले दुई करोड रुपैयाँबराबरको काँक्राको बिउ उत्पादन गरेका हुन् । उनीहरूले भक्तपुरका लोक्कल जातको काँक्रो खेती गरेका थिए । यस वर्ष करिब दुई हजार केजीभन्दा बढी काँक्रोको बिउ उत्पादन भएको अगुवा किसान एकनारायण पौडेलले जानकारी दिए ।

गत वर्षभन्दा यस वर्ष उत्पादित बिउले राम्रो मूल्य पाएको उनले बताए । यहाँका कृषकले विगत दुई दशकदेखि व्यावसायिक रूपमा काँक्राको बिउ उत्पादन गर्दै आएका छन् । पौडेलले भने, ‘गतवर्ष प्रति किलो पाँच हजार देखि ६ हजार रुपैयाँमा बिक्री भएकोमा यसपटक मूल्य बढेर १० हजारदेखि १० हजार पाँच सय रुपैयाँसम्ममा बिक्री भयो ।’ व्यवसायीहरूले गाउँमै आएर बिउ खरिद गरेको उनको भनाइ छ । काँक्रोको बिउ बिक्री गरेर यस वर्ष न्यूनतम तीन लाख जति आम्दानी गर्नेले १० लाख रुपैयाँसम्म आम्दानी गरेको उनको भनाइ छ ।

राम्रो मौसम परेकाले यसपाली सल्यानको फाँटमा काँक्रोको बिउ उत्पादन राम्रो भएको कृषक बलराम आचार्यले बताए । कृषक आचार्यले भने,‘गतवर्ष ४० किलो उत्पादन भएकोमा यो वर्ष ७५ किलोउत्पादन गरें ।’ प्रतिकिलो १० हजारका दरले बिक्री गर्दा सात लाख ५० हजार रुपैयाँ आम्दानी भएको उनको भनाइ छ । यहाँ उत्पादन भएको काँक्रोको बिउ संकलन गरेर एक हजार किलोग्राम काठमाडौंस्थित न्यू ग्रेसको सिट सप्लायर्सलाई पठाइएको कृषक पौडेलले बताए ।

पौडेलका साथै वडाध्यक्ष टुंगनाथ आचार्य, गोपाल आचार्य, इन्द्र पौडेलले गाउँमा उत्पादन भएको बिउ संकलन गरेर बिक्रीका लागि काठमाडौं, पोखरा र बेनी पठाउने गर्छन् । स्थानीय नवराज शर्मा यस वर्ष गाउँभरीमा सबैभन्दा धेरै ९७ किलोग्राम काँक्रोको बिउ उत्पादन गरेर नौ लाख ७० हजार रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । उत्पादन भएको काँक्रोको बिउले राम्रो मूल्यपाएपछि किसानहरू उत्साहित भएका छन् । यहाँका किसानले २० वर्षदेखि निरन्तर रुपमा काँक्रो र गोलभेडाको बिउ उत्पादन गरेर गाउँमा दुईदेखि तीन करोड रुपैयाँसम्म भित्र्याउने गरेका छन् ।

पछिल्ला केही वर्ष यता काँक्रो र गोलभेडाको बिउले राम्रो मुल्य पाउन थालेपछि विदेश पुगेका युवाहरू समेत गाउँ फर्किएर कृषि खेतीमा लागेको युवा किसान टेकनारायण आचार्यले बताए । तरकारी र बिउ उत्पादनको पकेट क्षेत्र रहेको धाइरिङका किसानहरूले व्यावसायिक रुपमा ताजा तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिने गरेका छन् । यहाँ उत्पादन भएको तरकारी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, मुस्ताङ, बागलुङ, कुस्मा र पोखरासम्म पुग्ने गर्छ ।

ताजा तरकारी र बिउ उत्पादन गरेर यहाँका किसानहरूको जीवनस्तरमा सकरात्मक परिवर्तन भएको जलजला गाउँपालिका– ७ का वडाध्यक्ष टुंगनाथ आचार्यको भनाइ छ । बिउ बाहेक यहाँ मौसमी तथा बेमौसमी तरकारीको पनि व्यावसायिक खेती हुने गरेको छ । धान, कोदो जस्ता अन्नबाली छाडेर तरकारी खेतीलाई मुख्य पेशाको रुपमा अपनाएका छन् । धाईरिङ बाहेक जिल्लाको फलेवास नगरपालिका–१० कर्घा, ११ पाङराङ र विहादी गाउँपालिका–१ बाच्छामा पनि काँक्रोको बिउ उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्