चार सय बाख्राका धनी युवा

तत्कालीन नेकपा माओवादीको एक दशक लामो सशस्त्र युद्धमा कमाण्डरको जिम्मेवारी पाएका भरत धानुक अहिले बाख्रापालनमा सक्रिय भएका छन् । तीन वर्षअघि ५० वटा बाख्राबाट व्यवसाय सुरु गरेका उनीसँग हाल ४ सयभन्दा बढी बाख्रा छन् । उनले मिलन बन्धु बाख्रापालन फर्म नै दर्ता गराएका छन् ।
डडेल्धुराको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–७ स्थित सिमान्त गाउँ साँदनीमा बाख्रापालनसँगै उनले सहकारीमार्फत बंगुरपालनसमेत गर्दै आएका छन् । आफ्नै नेतृत्वमा सफल कृषक सहकारी संस्था स्थापना गरेर सोही सहकारी मार्फत व्यावसायीक बंगुरपालनमा उनी जुटेका हुन् । बाख्रापालनसँगै बंगुरपालन व्यवसाय प्रवद्र्धनका लागि उनलाई जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले अनुदान सहयोग गरेको छ ।
युद्धकालीन अवस्थामा बझाङ, बैतडी र डडेल्धुराको इन्चार्जको जिम्मेवारी निर्वाह गरेका धानुक कृषि उत्पादनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँछन् । “जीवन निर्वाहका लागि थुप्रै काम गर्न सकिन्थ्यो,” उनले भने, “तर, समाजमा बेरोजगार रहेका युवा र रोजगारीका लागि विदेश धाउने युवालाई उत्प्रेरित गरेर व्यावसायिक कृषि उत्पादनमा जोड दिने अभिप्राय लिएको छु ।”
१३ वर्षभन्दा बढी भारतको गोवास्थित होटलमा काम गरेका साँदनीकै युवा वीरेन्द्र भण्डारीले भारत जान छाडेर हाल लक्ष्मी कुखुरा तथा बंगुरपालन फर्म स्थापना गरेका छन् । उनले सरकारको कुनै निकायबाट अनुदान प्राप्त नभए पनि स्वलगानीमा थालेको व्यवसायबाट मनग्ये आम्दानी गरिरहेका छन् । “व्यवसाय सुरु गरेको डेढ वर्ष जति भयो,” भण्डारीले भने, “पहिलो वर्ष खासै मुनाफा आर्जन गर्न नसकिए पनि हाल बिस्तारै परिश्रमअनुसार आम्दानी हुन थालेको छ ।” उनले व्यवसाय विस्तारको सोच बनाइरहेको बताए ।
धानुक र भण्डारी मात्र होइन पछिल्लो समय परशुराम नगरपालिकाका विभिन्न भारतीय सिमावर्ती बस्तीका युवाहरु व्यावसायीक कृषि उत्पादनमा सक्रिय हुन थालेका छन् । राजधानी काठमाडौं बसेर स्नातकोत्तरसम्मको अध्ययन गरेका परशुराम नगरपालिका–७ बसेनीका जनक बमले गाउँमै बाख्रापालन फर्म खोलेका छन् भने भारतको हैदरावादमा लामो समय बिताएका सादनीकै वीरेन्द्र बिष्टले ब्रोइलर कुखुराको फार्म स्थापना गरेका छन् ।
“बस्ती–बस्तीमा व्यावसायिक कृषि उत्पादनका लागि युवाहरु सक्रिय हुन थालेका छन्,” परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले भने, “युवाले स्वरोजगारीका लागि थालेको अभियानलाई स्थानीय सरकारबाट सघाउने हिसाबले योजना तर्जुमा गरिरहेका छौं ।”
परशुराम नगरपालिकाका विभिन्न बस्तीमा हाल दर्जनौं कृषि फार्म सञ्चालन गर्ने होडबाजीनै चल्न थालेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । व्यावसायिक रूपमा जर्सी गाईपालनमा समेत युवाहरुको सहभागिता बढेको छ । परशुराम नगरपालिका–१० बेलडाँडीका अर्जुनबहादुर बोहरा गाउँमै युवाको अगुवाइमा जर्सी गाईपालन व्यवसायबाट स्वरोजगार हुन थालेको बताउँछन् । १० वटा जर्सी गाई पालेका बोहराले गाउँभरी एक सयभन्दा बढी जर्सी गाई रहेको बताए ।
युवाहरुको कृषि व्यवसायतर्फ बढ्दो आकर्षण कायमै राख्दै कृषि उत्पादन बढाउनका लागि परशुराम नगरपालिकाले युवा केन्द्रित कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरिरहेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले काम गर्ने जोस र जाँगर भएका युवालाई व्यावसायिक विकासमा सघाउने उद्देश्यले चालू आर्थिक वर्षदेखिनै युवा स्वरोजगार कार्यक्रम कार्यान्वयन गर्ने तयारी भइरहेको बताए । उनले कृषि उत्पादनको दिगो र व्यावसायिक विकास गर्न नगरपालिकाले सम्भाव्यता अध्ययन गरी सवसेक्टर विश्लेषणका आधारमा काम गर्न अनुदान सहयोग गरिने जानकारी दिए ।
–हरिश चन्द