ठेकेदारले काम नगरे आफैं अनसन बस्छुः प्रचण्ड «

ठेकेदारले काम नगरे आफैं अनसन बस्छुः प्रचण्ड

बारा-नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा विकास निर्माणको काम समयमा पूरा गराउन सरकारलाई घच्घच्याउने र ढिलो गर्न थाले आफू अनसन बस्न पनि तयार रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पाटी प्रदेश २ ले मंगलबार आयोजना गरेको प्रदेशस्तरीय सभामा अध्यक्ष प्रचण्डले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै पूरा गर्न सरकारलाई खबरदारी गर्ने बताए ।
उनले आफूले शिल्यान्यास गरेको निजगढ—काठमाण्डौ द्रूतमार्गको काम युद्धस्तरमा भएकोले अन्य प्रदेशका महत्वपूर्ण आयोजनाहरु पनि सोही गतिमा अघि बढेको दावी गरे । उनले समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई सरकारले कारवाही गर्नेसमेत चेतावनी दिए । ‘ ठेकेदार कम्पनीले युद्धस्तरमा काम गर्दैन भने तिनलाई के कारबाही गर्नुपर्ने म सरकारलाई भन्छु’ उनले भने, ‘यदि सरकारले सुन्न गाह्रो पर्यो भने म नै अनसनमा बसेर भए पनि तपाइहरुको साथमा रहने छु ।’
अध्यक्ष प्रचण्डले मधेशमा राजधानी भन्दा बढी विकास हुने र त्यसका लागि आफू लागिपरेको समेत बताए ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले निजगढ विमानस्थल बन्न कसैले राक्न नसक्ने बता । उनले काठमाडौं निजगढ द्रूत मार्गको काम युद्धस्तरमा भइरहेकाले तराई मधेसका जनताको विकास र समृद्धिको यात्रामा ध्यान केन्द्रित गर्ने जिम्मेवारी सरकारले लिएको बताए ।  उनले प्रदेश २ मा विकासको नाममा व्यापक भ्रष्टाचार भइरहेको बताउँदै त्यसमा संलग्न रहेको पाइएमा जनप्रतिनिधि जोसुकै भएपनि सरकारले कारवाही गर्ने बताए ।
उनले बारा, रौतहट, सर्लाहीका खेतमा पानीको अभाव हुन नदिने, सुनकोशी कमला डाइभर्सन आयोजनाबाट सप्तरी, सिराहा र धनुषाको सिँचाई समस्या समाधान गर्ने पनि बताए । हुलाकी राजमार्गलाई निर्धारित समयमा निर्माण सक्न रकमको अभाव हुन नदिने पनि रक्षामन्त्री पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्