आर्थिक विकासमा पर्यटन
कोरोना महामारीपछि बिस्तारै हाम्रो पर्यटन क्षेत्रले लय लिँदै छ । सन् २०२४ को आरम्भसँगै नेपालमा पर्यटकको आगमन वृद्धिले सोको पुष्टि गरेको हो । नयाँ वर्ष जनवरीमा यहाँ पर्यटकको आगमन संख्या ७९ हजार १ सय जना, फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना, मार्चमा १ लाख २८ हजार १ सय ६७ हुँदै पहिलो ६ महिनामा ५ लाखभन्दा बढी भित्रिएका छन्, विगतको संख्यामा विद्यमान प्रतिशतमा २९ ले बढेको आकलन छ । भारतीयको यहाँ आगमन, चीनबाट पनि धेरै आउने गरेकोमा अब अमेरिकाबाट पनि धेरै पर्यटक यहाँ आउनुले हाम्रो पर्यटन क्षेत्र राम्रो भएको र यसैबाट हामीलाई आर्थिक विकासमा टेवा, सेवा हुने कुरामा अतीतझैं पुष्टि भएको छ ।
हाम्रो खाना कोदो, फापर, सिस्नो, सिमी, सिन्की, लप्सी, कागुनोको बजारीकरण भएको सायद उनीहरूलाई मन पर्ला । यहाँको हस्तकला, बख्खु, राडीपाखी, गुन्द्री, चकटी, दोचा, पहिरन बढी मन पर्ला । पंक्तिकार स्वयं पनि काभ्रेको पानीघट्टमा पीठो पिँधेर आएको यसै महिनामा हो । टोपी, नेपाली खुकुरी, बेतका कुर्सी, मुज्को डोरी, बाबियोको कुचो, परालको चकटी, नेपाली ढिकी, जाँतो, गग्रेटो, तुलसी, कुश, ढक्की, दाम्लो, दुना, टपरी, मुडा अनि बन्जी जम्पिङ, र्याफ्टिङ, पौडी, हात्ती, घोडचढी, दुर्लभ पाटेबाघ, कस्तूरी मृग अनि जनगणनामै १ सय ४२ भाषाभाषीको सौन्दर्य, १ सय २६ जाति सायद नेपाली मौलिक पन राष्ट्रिय परिचयपत्र बनाउँदा अराष्ट्रिय बनाएको विदेशीलाई मन नपर्नुपर्ने हो, तर विश्व बैंकको ऋणका सामु परिचयलाई झुकाइएको देशमा परिचयमा नाकको फुली, टाउकोको सिन्दूर पुछ्न लगाई अब यसमा केही सच्याइएको छ ।
विश्वले धूवाँरहित पर्यटन उद्योग खोजेको छ । पर्यटनको परिभाषा खोज्दा होटल, मोटल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे, पदयात्रा, पर्वतारोहण, जलयात्रा, जमेको हिउँ, आइस क्लाइम्बिङ, निकुन्ज, बर्ड वाचिङ, फिसरिङ, सिकार, स्काई वाक, साइक्लिङ, चट्टान आरोहण, जंगल सफारी, हाइकिङ, माउन्टेन फ्लाइट, कल्चरल टुर, गाउँ अवलोकन, बाइकिङ, एकल जातीय बस्ती, प्राचीन सहर, स्मारक, किल्ला, युद्धस्थलको अवलोकन, पुतली, जंगली जनावर यी सबै पाइन्छन् नेपालमा । देशैभरि १४ सयवटा ठूला होटल रहेकोमा निजी क्षेत्रले नै यसमा २५ खर्ब लगानी गरिसकेको बताइन्छ । गत आवमै १७ वटा पाँचतारे होटल थपिँदा यसकै संख्या अब ३६ पुगेको उद्यमीहरूको भनाइ छ । बेड संख्या नै यिनको ५ हजार २ सय ३४, जुन लक्जरी र डिलक्स सुविधा भएको भनिन्छ । बुटिक, चारतारे, तीनतारे, एकतारे, सामान्य होटल, गेस्ट हाउस त धेरै छन् ।
पर्यटक आकर्षण स्थल हामीसँग जिउँदो हिमाल छ, प्रकृति अरू धेरै छन्, जिउँदो देवी कुमारी पनि छन्, हिन्दू र बुद्ध सभ्यताको खानी नै हो यो देश, अनगिन्ती कलाकौशलले थप जीवन्त बनाएको छ । पंक्तिकार गत असारमा भक्तपुरको दत्तात्रयमा पुग्दा पर्यटकको धुइरो, नजिकै न्यातपोलमा पुग्दा उस्तै धुइरो र भक्तपुरको चाँगुनारायण पुग्दा पनि त्यस्तै देखेको हो । युएन, युनेस्को सम्बद्ध चाँगुनारायण, बुढानीलकण्ठ, ललितपुरलगायत काष्ठमण्डप र यहाँ वरिपरि रहेका सबै क्षेत्रको चर्चा गर्ने हो भने आलेखका श्रृंखला धेरै हुन्छन् र गोर्खाको मनकामना, गोरखा दरबारदेखि सुदूरपूर्व, सुदूरपश्चिम र तराईका तमाम क्षेत्र पर्यटकका केन्द्रबिन्दु नै रहेका छन् । ताप्लेजुङको पाथीभरा होस् या बाजुराको बडिमालिका वा खप्तड, अपर मुस्ताङको लोमान्थाङ होस् या कञ्चनपुरको ब्रह्मदेव जता पुग्दा पनि आन्तरिक मात्रै नभएर पंक्तिकारले बाह्य पर्यटनको अतुलनीय सम्भावना देखेको छ ।
नेपालीहरू चाडपर्वले धनी छन् र देशको अर्थ चलायमान चाडपर्वकै कारण बढी हुने गरेको छ, मौलिक संस्कृति, यहाँको रीतिस्थिति, रहनसहन, कला, धर्म–संस्कृति हेर्न हुरुक्क हुन्छन् विदेशीहरू । यहाँ आएर उनीहरू आत्मिक शान्ति चाहन्छन् पनि, बुद्धको भूमि लुम्बिनी पुग्दै पनि जीवनको अपार आनन्दको महसुस गर्छन् । यहाँका लेक, पाखा, पखेरी, तालतलैया सबै जिउँदा छन् र संसारलाई तान्न सक्ने क्षमता राख्छन्, यति हो कि हामीले हाम्रो नीति राम्रो तय गर्नुपरेको छ । यहाँको पर्यटक संख्या मात्रै होइन, उनीहरूको बासको संख्या पनि बढाउनुपर्छ । बाटाघाटा राम्रा छैनन् यहाँ, मौसम अनुकूल छैन र प्रदूषण नै धेरै छ भनौँ कुनै बेला प्रदूषण विश्वकै अग्रपंक्तिमा पर्ने गरेको छ र कति पर्यटकले प्राकृतिक मात्रै नभएर अन्य दुर्घटनाबाट पनि मृत्युवरण गर्ने गरेका छन् ।
काठमाडौँ महानगरले गत वर्षको कार्यक्रम फरक ढंगले राखेको थियो, महानगर प्रमुखले काठमाडौँलाई जीवन्त राख्ने प्रयास गरेका छन् । इन्द्रजात्राकै लागि महानगरले त्यतिबेला स्वदेशी र विदेशी गरी ३३ नगर प्रमुख एवं संस्था र स्थानीय तहलाई निम्तो दियो । भगिनी सम्बन्ध भएका १८, अन्तर्राष्ट्रिय ८, राष्ट्रिय ७, स्थानीय तहसमेतको उपस्थितिमा कुमारी एवं इन्द्रजात्रा मनाउने गरी उसले कार्यक्रम तय गरेको थियो, अहिले पनि काठमाडौँ सिँगार्न महानगर खटेर लागेको छ तर सवि भन्दै केन्द्र भने प्रदूषण थप्दै छ । काठमाडौं महानगरकै बाटाहरू हिलाम्मे र धुलाम्मे भएको अतीत छ र वर्षामा ठूलै दुर्घटना सडकमै हुने गरेका छन् । आन्तरिक पर्यटनकै क्रममा एयरपोर्टमै प्लेन जलेको छ, भर्खरै ।
विश्व पर्यटन दिवसकै क्रममा गत असोज १० गते यहाँ आउने विदेशीलाई कामपाले चार दिनसम्म बस्ने–खाने बन्दोबस्त गर्ने, ११ गतेको जात्रा देखाउने र १२ गते भक्तपुरको दरबार स्क्वायर देखाउने योजना पनि राख्यो । तीन दिनसम्म जात्रालाई भव्य रूपमा मनाउने निधो पनि गर्यो । कोभिड–१९ ले थलिएको हाम्रो पर्यटनमा सुधारका संकेत देखिए पनि पर्यटनका लागि हामीले विश्व आकर्षण गर्न सकेका छैनौँ । हाम्रा मान्छे यहाँका वस्तु खपततिर भन्दा देश छोड्नेतिर अग्रसर भएका छन्, आएको रकमभन्दा पढ्न जानेले वा यहाँबाट बाह्य पर्यटन गर्न जानेले विदेशमा गरेको खर्च बढी देखिएको छ । सँगसँगै उदाएको थाई एयर विश्वमा अब्बल हुँदै छ, हाम्रो वायु सेवा निगम ओइलाएर झर्न लागेको छ ।
सन् २०२३ देखि २०३३ सम्मलाई सरकारले नेपाल भ्रमण दशकको रूपमा हेरेको छ भने गत वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य र अहिले १६ लाखको लक्ष्य छ । अघिल्लो जनवरीदेखि जुलाईसम्ममा भनौँ अघिल्लो अहिलेको सिजनमा मात्र एकै महिनामा ५५ हजार ७ सय २६ पर्यटक र समग्रमा यतिबेला सार्कक्षेत्रबाट २ लाख २१ हजार ९ सय ६२, एसियाबाट ८१ हजार ७ सय ९४, युरोपबाट ९२ हजार १ सय ७९, आसियानबाट २० हजार ४ सय ८९, अमेरिकाबाट ६३ हजार २०, मध्यपूर्वबाट ५ हजार २४, अन्य देशहरूबाट ४९ हजार २ सय ४९ र यसमध्ये भारतबाटै ३५ प्रतिशत र चीनबाट ५ प्रतिशत पर्यटक आएको तथ्यांक थियो ।
विगतमा युएन, डब्लुटिओले सेप्टेम्बर २७ मा ४३ औँ विश्व पर्यटन दिवस रि–थिंकिङ टुरिजम थिम भन्दै विश्वभर मनायो । यहाँ पर्यटनका सम्भावना धेरै छन्, जसबाट आर्थिक पुनरुत्थान गर्न सकिन्छ, केवल प्रयास चाहिएको छ सामूहिक, निजी तथा सरकारी । पर्यटन मन्त्रालयले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्य योजना, २०७९ ल्याएको छ । बाह्रै महिना पर्यटक सिजनका रूपमा अभियान लिइएको छ । पर्यटन नीति–२०६५ छ, जसले यहाँको प्राकृतिक, सांस्कृतिक, जैविक एवं मानवनिर्मित सम्पदाहरूको संरक्षण, प्रवद्र्धन गर्दै देशलाई विश्व मानचित्रमा आकर्षक, रमणीय, सुरक्षित र मनोरम पर्यटकीय गन्तव्य हुने सोच राखेको छ । नेपाललाई पर्यटकीय अग्रणी स्थानका रूपमा देखाउन खोजेको छ ।
कोरोना त्रासले पर्यटन क्षेत्र खल्लो भएको थियो हाम्रो । कीर्तिमानी आरोही, बिनाअक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गर्दै विश्व कीर्तिमान कायम गर्ने सोलुका हिमचितुवा अर्थात् आङरिता शेर्पाको निधन, स्वयं पर्यटन मन्त्री पनि ताप्लेजुङ हेलिकप्टर दुर्घटनाबाट मृत्यु, पछिल्लो समय डिंगोले देशैभरि प्रभावित हुँदा हाम्रो लागि सुखद क्षण रहेन । हरेक वर्ष प्राकृतिक घटना पनि कम छैनन्, देशमा ठूला हवाई दुर्घटना पनि भएकै हुन् विगतमा र कोरोनाले उत्रन थालेपछि हवाई भाडा अचाक्ली बढ्नाले, पछि टिकटमा भ्याट लाग्नाले पनि आन्तरिक र बाह्य दुवै पर्यटन क्षेत्रमा हलुवामा बालुवा भएको थियो । भ्रमण वर्ष–२०२० मा चीनबाट धेरै पर्यटक यहाँ आउने अपेक्षा तर त्यहीँबाटै कोरोनाको मुस्लो उठ्दा र संसार घुमेको त्यो मुस्लोको लप्काले अर्को छिमेकी देश भारतलाई दोस्रो श्रेणीमा राख्दा हामीलाई थप असहज भएकै हो ।
विश्वकै हिन्दूहरूको राजधानी नेपाल र पञ्चमुखी शिवलिंग पशुपतिको मन्दिर गजुर आर्यघाटमा बसेर फोटो खिच्नेहरू दिनदिनै देखिन्छन् । संसारमा सवा अर्ब हिन्दू र नेपाल–भारतमै पनि १ सय १५ करोड जति बताइन्छ, ६४ ज्योतिर्लिंग यहीँ छन्, पंक्तिकार यसको उजागर गर्न यसैमा खटेर लागेको छ र नेपालका चारधाम उसको अभियान छ । सहरका कुरूप संरचना भत्कँदै छन् भने बाटो सफा हुँदै छ । भूकम्पले क्षति भएका धरहरा, रानीपोखरी, दरबार स्कुलहरू सजिएका छन् । सरकारले केही वर्षभित्रै ९ लाख मानिसलाई यसैबाट रोजगारी दिने सपना बाँडेको छ ।
आधुनिक युग पर्यटकीय युग हो । विश्वभरि यस क्षेत्रको प्रभाव अधिक छ । संसारभर पर्यटन क्षेत्रबाट हाल १० करोडले रोजगारी प्राप्त गरेका छन् । वल्र्ड टुरिजम अर्गनाइजेसनका अनुसार संसारमा आतिथ्यता सत्कारकै लागि भनौँ पर्यटन क्षेत्रकै लागि २.२ ट्रिलियन युएस डलर बढीको लगानी छ । संसारभर घुमफिर गर्ने, बिदा मनाउने, मनोरञ्जन गर्ने बानी प्रायः आर्थिक हैसियत भएका सबैलाई बसेको छ । नेपाल पर्यटकीय गन्तव्यको पहिचान भएको देश भएर पनि पर्यटन क्षेत्रमा संलग्न जनशक्तिको गुणस्तरीयतामा कमी छ । यस क्षेत्रमा आवश्यक सक्षम जनशक्ति तयार गर्ने क्रममा सरकारी स्तरमा पर्र्यटन मन्त्रालयमातहत पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानहरू धेरै छन् । ४० भन्दा बढी कलेज एवं अन्य शैक्षिक संस्थाहरूले यस्तै खाले जनशक्ति तयार गर्दै छन् । यस क्षेत्रको जनशक्ति साबिकभन्दा बढे पनि गुणस्तरमा बढोत्तरी छैन । तालिमप्राप्त जनशक्ति ७० प्रतिशत त बिदेसिएका छन्, टुर गाइडकै कमी छ यहाँ । प्रतिष्ठान आफैंले तयार गरेका टुर गाइड ५ हजारजति मात्र छन् । प्रतिष्ठानले पर्यटकीय क्षेत्र पोखरा, लुम्बिनी, पाल्पा, चितवन आदि क्षेत्रमा यस्तो जनशक्ति कम छ ।
अहिले सबैको मुखमा सुनिन्छः पर्यटन, टुरिस्ट, पर्यटक, टुरिजम आदि । टुरिजम वास्तवमा फ्रेन्च शब्द हो । १९ औं शताब्दीदेखि यस शब्दले बढी प्रश्रय पाएको हो । पर्यटक भनाँै वा टुरिस्ट शब्द लेटिन भाषाको हो । कुनै कामले, उद्देश्यले मुलुकभित्र वा बाहिर घुम्न जाने व्यक्ति वा समूह भनेको पर्यटक हो । पर्यटक आन्तरिक र बाह्य दुई थरीका हुन्छन् । पर्यटन भन्नु र पर्यटक भन्नु पर्याय हुन् । डब्लुटिओको परिभाषाअनुसार स्वदेश वा अर्को देशमा बिदा, बिजनेस वा कुनै मिसनले भ्रमण गर्नेलाई पर्यटक भनिन्छ । समयावधि भने एक दिनदेखि सय दिनसम्मको बसाइ उद्देश्य राखी भ्रमण गर्नेलाई पर्यटक भनिन्छ । पर्यटक भित्र्याउन गरिने पूर्वाधार विकासमा हामी पछाडि छौं । राम्रो सडक, खानेपानी, सरसफाइ, शौचालयको प्रबन्ध, धूवाँधूलोरहित यात्रा, दुर्घटनारहित र भरपर्दो सुरक्षा पनि न्यूनतम आवश्यकताका विषयहरू हुन् ।
प्राचीन समयदेखि नै देश देवभूमि, वैदिक भूमि, पवित्र भूमि हो । भैरहवा, पोखरा विमानस्थलमा यात्रु नै छैनन्, हाम्रो मुलुकमा अधिकांश पर्यटकीय तीर्थ क्षेत्र हिन्दू धर्म, दर्शन, संस्कृतिमा आधारित छ । भारतीय र चिनियाँको आगमन पनि हामीलाई धेरै हुन्छ । पर्यटकको बसाइ अवधि कम हुनु विगतको समस्या हो । हाल पर्यटकको औसत बसाइ एक साताभन्दा पनि कम छ । बसाइ अवधि नबढाएसम्म र उनीहरूको औसत खर्च वृद्धि नगरेसम्म यहाँको राजस्वमा बढोत्तरी हुन्न ।
पर्यटकीय पूर्वाधारको विकासबाट रोजगारीको सिर्जना, गरिबी न्यूनीकरण, राष्ट्रिय अर्थतन्त्रको विकास, जीवनस्तरमा सुधार हाम्रो आवश्यकता हो । राजनीतिक संक्रमणमा पर्यटन विकासमा गम्भीर चोट लाग्न पुग्यो विगतमा । पर्यटन पूर्वाधार विकासतिर खासै चासो भएन । विनाशकारी भूकम्पले अर्को घाटा लगायो । आर्थिक समृद्धिका लागि पर्यटन विकास भन्ने राज्यको सोच छ । यसका लागि पर्यटन क्षेत्रको विकासमार्फत आर्थिक वृद्धि र रोजगारीको अवसर सिर्जना गर्ने सरकारी लक्ष्य भने नाम मात्रको छ ।