धानमा आगो लगाउँदै झापाका किसान

झापा-पाक्न लागेको धानमा फड्के कीरा लागेपछि यतिबेला झापाका किसान खेतमा धमाधम आगो लगाइरहेका छन् । कीराको सङ्क्रमणले धानबाली सखाप भएपछि खेतमै आगो लगाउन किसान बाध्य भएका हुन् ।
फड्के कीराको संक्रमणका कारण धान उत्पादनको भण्डार मानिने झापामा २ सय २५ बिघामा उत्पादन भएको धान खेतमा नै आगो लगाउनु परेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । धान पसाउने बेलामा फौजी कीराको सङ्क्रमण झेलेका किसान धान पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण झेलिरहेका छन् ।
मेचीनगर नगरपालिका–९ का कमलमणि पौडेलले फड्के कीराले धानको जरा काटेपछि १० कठ्ठामा आगो लगाइसकेको बताए । भुसुनाजस्तो देखिने कीराले एकैरातमा पाकेको धानको दाना भुस बनाउने गरेको उनी बताउँछन् । दुईचार दिनमै खेतको धान कीराले सखाप बनाएपछि किसानको लगानी नै खेर गएको छ । मेचीनगरकै अर्का कृषक धनमायाले ९ कठ्ठा धान खेती डढाएकी छन् । उनले डेढ बिघामा धान लगाएकी थिइन् । “धान पोटाउँदै थियो, बिस्तारै बोट सुक्न थाल्यो,” उनले भनिन्, “अन्य आम्दानीको स्रोत छैन, यही धान बेचेको पैसाले घर खर्च गर्ने, फेरि अर्को साल खेती गर्ने काम गथ्र्यौँ, धान पाक्यो अब थन्काउने भन्ने बेलामा यस्तो बिपत आइलाग्यो ।” प्रत्येक वर्ष सय मन धान भिœयाउने उनी यो वर्षको धानले आफूलाई खान पनि नपुग्ने दुखेसो गर्छिन् ।
झापाको गौरीगञ्ज गाउँपालिका–३का पदम ठाकुरले १ कठ्ठा जग्गा बराबरको धानमा आगो लगाए । उनी भन्छन्, “एक कठ्ठा धानमा एउटै दाना देखिएन, यसले अरु बाँकीलाई पनि असर गर्ला कि भन्ने डरले आगो लगाउनु प¥यो ।” पाकिसकेको धान खेतमा नै आगो लगाउनु पर्दा लगानी नै खेर गएको उनी बताउँछन् । “सरकारले यसलाई गम्भीरतापूर्वक हेरिदिएन भने किसान भोकभोकै मर्नुपर्ने अवस्था आउँछ, किसानको क्षतिको अवस्थाको अनुगमन गरेर राहत दिनुपर्छ,” ठाकुरले भने ।
कीरा लागेको पराल गाईवस्तुलाई पनि खुवाउन नमिल्ले भएकाले खेतमै आगो लगाएर नष्ट गर्नु परेको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत शेषराज पौडेलले बताए । उनले भने, “पराल समेत गाईवस्तुलाई खुवाउन मिल्दैन, आगो लगाएपछि अरु ठाउँमा कीरा पनि नसर्ने, मल पनि हुने भनेर आगो लगाइएको हो ।” बढी जसो सेपिलो खेतमा फड्के कीरा लागेको उनी बताउँछन् । झापाको बुद्धशान्ति, मेचीनगर, भद्रपुर, हल्दीबारी, गौरीगञ्ज र कमल गाउँपालिकाका किसान फड्के कीराको सङ्क्रमणबाट बढी पीडित छन् । बढी मात्रमा मेचीनगर नगरपालिका– ९, १४, ४, २, ३ वडा, भद्रपुर नगरपालिकाको –२, हल्दीबारी गाउँपालिका– ५, गौरीगञ्ज गाउँपालिका –३, शिवसताक्षी नगरपालिका –८ र ६ वडामा फड्केले बढी असर गरेको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । पीडित किसानको माग भने सम्बोधन भएको छैन ।
कृषि ज्ञान केन्द्रले अहिले क्षतिको विवरण संकलन गरिरहेको छ । फड्के कीराको प्रकोप प्रारम्भिक चरणमा देखिएको अधिकृत पौडेल बताउँछन् । ज्ञान केन्द्रले किसान कै खेतमा पुगेर अनुगमन गरिरहेको उनले बताए । कीरा लागेको समयमा नै थाहा पाएको भए औषधि गर्न सकिने पौडेलको भनाइ छ । समयमै थाहा नपाउँदा झापाका किसानले फड्के कीराबाट धानबालीमा भइरहेको क्षति रोक्न नसकेको पौडेल बताउँछन् । अहिले झापाका स्थानीय तहमा क्षतीको विवरण संकलन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
झापामा पहिलो पटक फड्के कीरा देखिएको भने होेइन । तर, विगतका वर्षमा धान डढाउनै पर्ने अवस्था भने आएको थिएन । झापाका किसानले लगाएको धानखेतीमा एकपछि अर्काे समस्या देखिइरहेको छ । सुरुमा फौजी कीराको आतंक सहेका झापाली किसान अहिले अधान काट्ने सिजनमा बालीसखाप हुन थालेपछि कसरी अन्नको जोहो गर्ने भन्ने चिन्तामा छन् । झापामा गत वर्षभन्दा यो वर्ष ०.१ प्रतिशतले धानको उत्पादकत्व घटेको अनुमान ज्ञान केन्द्रको छ । कृषि प्रसार अधिकृत पौडेलका अनुसार पर्याप्त वर्षा नहुनु, युरिया मलको अभाव हुनु, र विभिन्न किसिमका कीराको प्रकोपका कारणले उत्पादकत्व घटेको हो ।