भ्रष्टाचारमा विश्वको ५८ औं «

भ्रष्टाचारमा विश्वको ५८ औं

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नेपाल लगातार असफल बनेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको सर्वेक्षणअनुसार सुशासन, पारदर्शिता, छिटो–छरितो न्यायसम्पादन, चुस्त र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलगायत विषयमा नेपालको स्थिति निराशाजनक देखिएको हो ।
विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीइएमले तयार पारेको सर्वेक्षणका आधारमा ट्रान्सपरेन्सीले यो प्रतिवेदन सर्वजनिक गरेको हो । ट्रान्सपरेन्सीले सन् १९९५ देखि हरेक वर्ष प्रतिवेदन सार्वजनिक गर्दै आएकोमा नेपाल सन् २००४ देखि समेटिँदै आएको छ ।
नेपाल विश्वको ५८ औं र दक्षिण एसियामा तेस्रो स्थानमा छ । ट्रान्स्परेन्सीको ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१७’ मा समेटिएका १ सय ८० मुलुकमध्ये नेपाल ३१ अंक सहित १ सय २२ औं स्थानमा छ । यो अंक कुल प्राप्तांकको अनुत्तीर्ण प्रतिशत हो । सन् २०१३ मा पनि नेपाल १७७ मुलुकमध्ये ३१ अंकसहित १ सय १६ औं स्थानमा थियो । सन् २०१४ र २०१६ मा नेपालले समान २९ र सन् २०१२ र २०१५ मा समान २७ अंक पाएको थियो ।
गत वर्षको तुलनामा नेपालले २ अंक बढी पाए पनि उत्तीर्णका लागि यो पर्याप्त छैन । सन् २०१६ मा नेपाल २९ अंकसहित १ सय ३१ औं स्थानमा थियो । सबैभन्दा बढी सुशासन कायम गर्ने मुलुकमा न्यूजिल्याण्ड ८९ अंकसहित पहिलो नम्बर र बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया ९ अंकसहित १ सय ८० औं स्थानमा समेटिएको छ । दक्षिण एसियाका ८ मुलुकमध्ये भुटान सबैभन्दा कम भ्रष्टाचार गर्ने मुलुकको सूचीमा परेको छ भने त्यसपछि क्रमशः भारत, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र अफगानिस्तान रहेका छन् । उत्तरी छिमेकी चीन भने ४१ अंक सहित ७७ स्थानमा समेटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्