Logo

बजेट नहुँदा बेलिब्रिज जडान रोकियो

वीरेन्द्रनगर (सुर्खेत)– संघ सरकारले उपलब्ध गराएको बेलिब्रिज पुलको सामान प्रदेश सरकारले जडान गर्न पैसा नदिँदा खोलाको किनारमा थन्क्याएको छ । तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहको पालामा उक्त सामान नेपालगन्जबाट बुझेर जाजरकोटको छेडागाड नगरपालिकाको मनघाट, नलगाड नगरपालिका, बारेकोट गाउँपालिकाको सिमाना खारामा लिएर थन्क्याइएको थियो । २०८० माघ २२ गते उक्त पुलका सामान यी दुई ठाउँमा पुर्‍याएको थियो ।

यो विषयमा जानकारी लिनका लागि भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा र सचिव विष्णु भण्डारीलाई सम्पर्क गर्न खोज्दा फोन नउठदा प्रतिक्रिया लिन सकिएन । मनघाट छेडागाड नगरपालिकाको प्रशासकीय केन्द्र हो भने खारा नलगाडबाट बारेकोट जानका लागि मुख्यद्वार हो । नलगाडको खारामा नलगाड जलविद्युत आयोजनाले निर्माण गर्नका लागेको पुल छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खडकाले निर्माण नगर्दा १० वर्षदेखि अलपत्र परेको छ ।

उक्त अलपत्र परेको पुलकै ठाउँमा बेलिब्रिज पुल निर्माण गर्नका लागि सामान लिइए पनि पुलका सामान नै अलपत्र अवस्थामा छन् । नलगाड नगरपालिका–५ र बारेकोट–८ को बीचमा रहेको खारामा छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले पक्की पुल निर्माण गर्नका लागि लिइएको ठेक्काको पुल लामो समयदेखि निर्माण नभएपछि उक्त ठाउँमा बेलिब्रिज निर्माण गरी तत्काल समस्या हल गर्न पहल थालिएको भए पनि काम अगाडि बढ्न नसकेको पूर्वजलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।

त्यस्तै पश्चिम जाजरकोटको लाइफलाइन सडकभित्र पर्ने छेडागाड नगरपालिकाको प्रशासकीय केन्द्र मनघाटमा पुल नहुँदा परेको समस्या हल गर्न बेलिब्रिजकै सहारा लिइएको भए पनि सो कामसमेत अलपत्र परेको छ । छेडागाड नगरपालिका–१२ र ५ को बीचमा रहेको छेडाखोलामा पुल निर्माण गरी मनघाट जान र आउनका लागि पनि बेलिब्रिज बनाउन लागिएको हो । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो । यी दुई पुलको सामान कर्णाली प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बुझेका थिए ।

तीन महिनाभित्र पुल दुई ठाउँमा जोडनका लागि काम हुने भनिए पनि झण्डै आठ महिना बित्दासम्म काम अगाडि नबढेपछि समस्य हुँदै आएको छ । संघीय सरकारले उपलब्ध गराएको दुई पुलको सामान सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले तत्कालीन मन्त्री सिंहलाई हस्तान्तरण गरेका थिए । संघीय सरकारले उपलब्ध गराएको उक्त बेलिब्रिजका सामान प्रदेश सरकारले जडानको जिम्मेवारी भए पनि प्रदेश सरकारले उक्त काम गर्न चुकेको छ ।

यी दुई स्थानमा पक्की पुल बनेपछि बेलिब्रिज सडक डिभिजनलाई नै फिर्ता गर्ने सहमति रहेको छ । यी दुई स्थानमा पुल नहुँदा परेको समस्याबारे यहाँका स्थानीयबासीले तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई ज्ञापन पत्रसमेत बुझाएका थिए । तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुरोध गरेपछि तत्काल दुई ठाउँमा बेलिब्रिज बनाउनका लागि सामान दिइएको थियो ।

खारामा अहिले अस्थायी रूपमा काठहरू नलगाड खोलामाथि राखेर यातायात सञ्चालन गर्दै आएकोमा उक्त काठ खोलाले बगाएपछि यातायात सेवा ठप्प भएको छ । हिउँद याममा मात्र उक्त ठाउँमा काठको लाप्को प्रयोग हुन्छ भने वर्षायाममा खारामा यातायात सेवा विच्छेद हुँदै आएको छ । संघ सरकारले उपलब्ध गराएको बेलिब्रिज प्रदेश सरकारले ढुवानी तथा जडानको काम गर्ने योजना रहेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरिले जानकारी दिए ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयबाट फाइल उठाएर प्रदेशस्थित पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत सुनिश्चित गरेमा मात्र उक्त पुल जडानका लागि टेन्डर हुने कार्यतालिका रहेको छ । यत्ता पूर्वमन्त्री सिंहले तत्कालीन राजकुमार शर्मा नेतृत्वको सरकारले पुल निर्माणका लागि बजेट नदिँदा काम रोखिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्