पर्वतमा ५५ वटा पर्यटकीय पूर्वाधार निर्माण
पर्वत– पर्वतमा गत आर्थिक वर्षमा ५५ वटा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लामा सञचालित पर्यटन तथा उद्योग कार्यालय पर्वतले जिल्लाका सात पालिकामा गरी ५५ वटा पूर्वाधारका योजना सम्पन्न गरेको हो । बजेट विनियोजन भएका ५६ वटा योजनामध्ये एक योजनाको ढिला सम्झौता भई काम सम्पन्न हुन नसकेको कार्यालय प्रमुख अशोक नेपालीले जानकारी दिए ।
कार्यालय प्रमुख नेपालीका अनुसार जिल्लाभर ३१ वटा पदमार्ग निर्माण गरिएको छ । गत आर्थिक वर्षमा मात्रै ३१ स्थानमा गरी ६ किलोमिटर, ३१९ मिटर लामो पदमार्ग निर्माण गरिएको हो । त्यसैगरी १९ वटा धार्मिक पर्यटकीयस्थलमा मर्मत, सम्भार, पुनर्निर्माण तथा नयाँ संरचना निर्माण गरिएको कार्यालयले जनाएको छ भने तीनवटा पार्क र दुईवटा सामुदायिक प्राकृतिक संरचना निर्माण गरिएको छ ।
कार्यालयका अनुसार कुश्मा नगरपालिकामा २८, फलेवासमा आठ, मोदी गाउँपालिकामा आठ, पैंयूमा चार, जलजलामा चार, विहादीमा दुई र महाशिला गाउँपालिकामा दुई स्थानमा पूर्वाधार बनाइएको हो । पर्यटन पूर्वाधार निर्माणका लागि गत आर्थिक वर्ष विसं २०८०/०८१ मा तीन करोड ९० लाख रुपैयाँ विनियोजन भएको थियो । जसमध्ये तीन करोड ५९ लाख रुपैयाँ खर्च भएको कार्यालय प्रमुख नेपालीले जानकारी दिए ।
नेपालीका अनुसार पूर्वाधार निर्माणपछि पर्यटकीय स्थलसम्म जान आउनका लागि सहज भएको छ भने पर्यटकीय स्थलहरू आकर्षक देखिनुका साथै पर्यटकलाई अवलोकनका लागि सहज भएको छ । पर्यटकीय संरचनामा मन्दिर निर्माण, तथा जीर्णोद्धार र रङ्गरोगन, विश्रामस्थल निर्माण, पदमार्ग, सामुदायिक भवन, उद्यान, बगैचा तथा पार्क निर्माणलगायतका संरचना बनाइएको थियो ।
पछिल्लो समय साहसिक पर्यटनको हब बन्दै गएको पर्वत सदरमुकाम कुश्माबजारमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा रहेका पर्यटकीयस्थलमा समेत पुर्याउन सकियोस् भन्ने उद्देश्यले ग्रामीण क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा पूर्वाधार थप गरिएको हो । पर्वतका सातवटै पालिकामा गरी ६२ वटा घरबास सेवासमेत सञ्चालनमा छन् ।
कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ११, फलेवास नगरपालिकामा पाँच, मोदी गाउँपालिकामा १९, जलजला गाउँपालिकामा ६, महाशिला गाउँपालिकामा नौ, पैंयुँमा तीन र विहादीमा सातवटा होम–स्टे सेवा सञ्चालनमा छन् । यी सामुदायिक होम–स्टे हुन् भने दुईवटा निजी होम–स्टेसमेत सञ्चालनमा रहेको कार्यालय प्रमुख नेपालीले बताए । यसबाहेक जिल्लामा सञ्चालित सामाजि विकास कार्यालयले पनि विभिन्न मठमन्दिर र पर्यटकीय क्षेत्रमा विभिन्न पूर्वाधार निर्माणमा काम गरेको जनाएको छ ।
पर्यटकीय पूर्वाधारले होम–स्टेमा आउने पर्यटकलाई समेत सुविधा पुगेको छ भने थप आकर्षणसमेत थपेको उनको विश्वास छ । योसँगै जिल्लामा भित्रिने बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरी जिल्लामै उत्पादित वस्तु तथा सामानको बजारीकरण गर्ने उद्देश्यले कोसेली घरसमेत सञ्चालन गरिएको छ । पाँच लाख रुपैयाँको लागतमा उद्योग वाणिज्य संघनजिकै कोसेली घर सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयमा स्थापना कालदेखि हालसम्म दर्ता भएकामध्ये एक हजार २३२ वटा उद्योग खारेज भएका छन् । उद्योग ७२१ र वाणिज्यतर्फका ५११ वटा फर्म खारेज भएका हुन् । अब जिल्लामा उद्योग र वाणिज्य गरी ६ हजार ४९१ उद्योग तथा वाणिज्य फर्म कायम छन् । कार्यालयले गत आर्थिक वर्ष २०८०/०८१ मा ९७ दशमलव ७७ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ भने वित्तीय प्रगति ८७ प्रतिशत रहेको छ ।