महेशपुर भन्सार स्तरोन्नतिपछि पनि छोटीकै संरचनामा

बुटवल– नवलपरासी पश्चिममा रहेको महेशपुर भन्सार कार्यालय स्तरोन्नतिपछि पनि छोटी भन्सारकै संरचनामा रहेको छ । उक्त भन्सार २०७५ असोजमा छोटीबाट मूल भन्सार कार्यालयमा स्तरोन्नति भएको हो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले मूल भन्सारको रूपमा उद्घाटन गरेका थिए । महेशपुर भन्सारका कार्यालय प्रमुख बुद्धिकुमार चुडालले मुल भन्सारको लागि अझै थप संरचना चाहिने बताए ।
‘पुरानो छोटी भन्सारलाई नाम मात्र मुल भन्सार दिइयो । तर पूर्वाधारहरू तयार भएका छैनन्,’उनले भने,‘मुल भन्सारको लागि थप जग्गाहरू आवश्यक पर्छ । पार्किङको व्यवस्था हुनुपर्यो ।’ महेशपुर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टाइन छैन । खाद्य सामग्रीहरू आउँदा चेक गर्नलाई नमुना लिएर भैरहवा भन्सार कार्यालयमा पठाउनुपर्ने भन्सार प्रमुख चुडालको भनाइ छ । ‘क्वारेन्टाइन भन्सारमै भएको भए भैरहवा ओहोर दोहोर गर्नुपर्दैन थियो’ उनले भने ।
क्वारेन्टाइन नभएकाले हरियो तरकारी फलफूलहरू यो नाकाबाट निकै कम मात्रमा आउने गर्छन् । चेक जाँचका लागि ओहोर दोहोर गर्न झन्झट हुन्छ भनेर तरकारी तथा फलफूल भैरहवा भएरै आउने गरेका छन् । भन्सारमा गोदामको पनि अभाव छ । सामान्य अवस्थामा गोदाम काम चले पनि बरामद सामान राख्न समस्या हुने गरेको चुडालको भनाइ छ । ‘जति आवश्यक पर्छ त्यो अनुसारको गोदाम छैन । बरामद भएर आएका सामान लिलाम गर्न राख्नुपर्ने हुन्छ । त्यसको लागि गोदामको अभाव छ ।’ उनले भने ।
महेशपुर भन्सार नाकाबाट मुख्य रूपमा सेनेटरी, बाथरुम सेटिङका सामानहरू आयात हुन्छ । रेडिमेड कपडा, मोटर पार्टका समान, साइकिल पार्टस् र खाद्यान्नहरू आउने गर्छन् । महेशपुर भन्सार कार्यालयमा गत आर्थिक वर्षमा लक्ष्यको ९२.४१ प्रतिशत राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०–८१ म १६ करोड ३५ लाख राजस्व संकलनको लक्ष्य थियो । तर, १५ करोड ११ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।
संकलन भएको राजस्वमध्ये भन्सार महशुल आयात शीर्षकमा १० करोड ३ लाख रुपैयाँ जम्मा भएको छ । कृषि सुधार शुल्कमा ६ लाख ३१ हजार, अग्रिम आयकरमा ३६ हजार, मूल्य अभिवृद्धि करतर्फ ४ करोड ४७ लाख, अन्त:शुल्क ४५ लाख ८० हजार, अन्यतर्फ ८ लाख ४५ हजार गरी कुल १५ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।
महेशपुर भन्सारमा केही वर्ष यता लगातार राजस्व संकलन दर घट्दै गएको छ । आर्थिक वर्ष २०७७–७८ मा २७ करोड ३० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । २०७८–७९ मा २२ करोड ३३ लाख उठेको थियो । २०७९–८० मा १० करोड ७३ लाख राजस्व संकलन भएको हो । यो वर्ष ३३ करोड २६ लाख राजस्व तोकिएको थियो । त्यसको ३२.८६ प्रतिशत संकलन भएको हो ।