Logo

धार्मिक पर्यटनमा सन्तानेश्वर महादेव

ललितपुर जिल्लाको झरुवाराशिस्थित कैलाश पर्वतमा ज्योतिर्लिंगस्वरूप सन्तानेश्वर महादेव तथा माता पार्वतीको उत्पत्ति भई शिवशक्ति स्वरूपमा विराजमान भएको पाइन्छ । यस स्थानलाई स्वस्थानी व्रतकथाको दसौँ अध्यायमा सतीदेवीको उपल्लो ओठ पतन भएको स्थानका रूपमा वर्णन गरिएको छ । यस पवित्र परिसरको संरक्षण, संवद्र्धन तथा नियमित पूजाआजाका लागि वि.सं. १९०७ मा स्थानीयवासीको सहयोगमा गुठी स्थापना गरेको पाइन्छ । सो महादेव मन्दिर संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले २०४७ सालमा सन्तानेश्वर महादेव कैलाश पर्वत संरक्षण, संवद्र्धन सेवा संघको स्थापना भएको थियो ।

सो सिलसिलामा २०६८ सालमा सन्तानेश्वर महादेव मन्दिर तथा परिसरको बृहत् विकासका लागि गुरुयोजना तयार पारी नेपाली परम्पराअनुरूपको दुईतले तामाको छानासहित कलात्मक मन्दिरको निर्माण, ४ सय किलोग्रामको मूल घण्टको स्थापना, अष्टमात्रिकासहितको स्वस्थानी माताको कलात्मक मन्दिर निर्माण, महाकाल भैरव मन्दिर र मन्दिर परिसर क्षेत्रमा अन्य भौतिक संरचना निर्माणका अतिरिक्त कैलाश पर्वत परिसरको पर्यटकीय विकास, प्राकृतिक संरचनाको संरक्षण तथा संवद्र्धनका लागि कार्ययोजना बनाई विभिन्न दानवीर भक्तजनहरूले देवादिदेव सन्तानेश्वर महादेवको कृपादृष्टि रहोस् भनी विभिन्न किसिमको आर्थिक तथा जिन्सी दान गरी हाल सुन्दर विशाल मन्दिरको स्थापना भएको पाइन्छ । मन्दिर अग्लो स्थानमा भएका कारण काठमाडौँ उपत्यकाको चारैतिरको मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले प्राकृतिक दृष्टिले अति रमणीय छ । सन्तानेश्वरमा विशेष गरी सन्तान र सुख आदि प्राप्तिका लागि पूजा–आराधना गर्ने बताइन्छ । सन्तानेश्र महादेवको धार्मिक र सांस्कृतिक दृष्टिले बढी नै महत्व भएको पाइन्छ ।

नेपालमा धार्मिक तथा ऐतिहासिक पर्यटनको सम्भावना अत्यन्त छ । छिमेकी मुलुक भारतमा पनि १ अर्ब ४० करोड मानिसको संस्कृति, भाषा, धार्मिक परम्परा एकैनासको रहेको छ । करिब ७९ प्रतिशत जनता हिन्दू धर्मावलम्बी छन् । भारतले धार्मिक पर्यटनका लागि चारधामको व्यवस्था गरेजस्तै नेपालमा पनि सो व्यवस्थापन गर्नु जरुरी छ । प्रत्येक वर्ष नेपालको कुल व्यापारघाटाको ६० प्रतिशत अंश भारतसँग रहने गरेको छ । यो व्यापारघाटा कम गर्न नेपालमा धार्मिक पर्यटन बढाई आयआर्जन गर्न सन्तानेश्वर महादेव मन्दिरजस्ता अन्य नयाँ धार्मिक स्थलको पहिचान र विकास गरी आकर्षण र आस्थाको केन्द्र बनाउन जरुरी छ ।

नेपाल धार्मिक, ऐतिहासिक, सांस्कृतिक धरोहरको धनी देश भएकाले धार्मिक पर्यटन भित्र्याई देशलाई समृद्ध बनाउने थुप्रै अवसर छन् । पर्यटनको अंश विश्वको निर्यातमा ७ प्रतिशत र सेवा निर्यातमा २९ प्रतिशत रहेको पाइन्छ । सरकारले धार्मिक तथा ऐतिहासिक पर्यटन उद्योगलाई गति दिन सन् २०२३ देखि २०३३ लाई नेपाल पर्यटन दशकका रूपमा मनाउने समाचार आएको थियो । यो कार्यक्रम सफल बनाउन सन्तानेश्वर महादेवजस्ता देशैभरका ऐतिहासिक तथा धार्मिक क्षेत्रलाई सर्किटको रूपमा जोडी माथि उल्लेख गरिएको विभिन्न देशका हिन्दू धर्मावलम्बी हाम्रो देशमा भ्रमण गर्न लालायित गराई पर्यटनबाट आयआर्जन गरी युवालाई विदेश पलायनबाट रोक्न अति जरुरी छ ।

विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र स्वदेशी तथा वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै धार्मिक पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा महामारीको रूपमा फैलिएको कोरोना महामारीले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्न धार्मिक पर्यटन व्यवसायलाई अगाडी बढाउनु अपरिहार्य छ ।

समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाको केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूका आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

यस क्षेत्रमा तुलनात्मक रूपमा मध्यम स्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक धार्मिक पर्यटन उद्योगको विकासबाट आर्थिक, सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले धार्मिक पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ, जसबाट यस क्षेत्रका जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ ।

हाम्रो देश प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदाहुँदै पनि सो स्थानको भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ, उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदा भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण सन्तानेश्वर महादेव क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आवागमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार धार्मिक पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।

यस क्षेत्रमा भएका विभिन्न मन्दिरको एकीकृत पर्यटकीय व्यवस्थापन गर्नु अति आवश्यक छ । योजनाको अभावले गर्दा यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थललाई पर्यटन सम्पदाको सर्किटका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा–सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रको समग्र आम्दानीमा धार्मिक पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत धार्मिक पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ ।

स्थानीय सरकारको समन्वयमा सन्तानेश्वर महादेव क्षेत्रमा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाएर गरिबी न्यूनीकरण गर्दै यस सन्तानेश्वर महादेव क्षेत्रभित्रदेखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । यो क्षेत्रमा धार्मिक पर्यटन आगमन वृद्धि साथै काठमाडौँ उपत्यकाकै प्रमुख दृश्यावलोकन स्थल हुने सम्भावना प्रचुर छ ।

प्रतिक्रिया दिनुहोस्