Logo

धनगढी–दिपायल–चैनपुर–उरै सडक डिबिएसटी प्रविधिबाटै कालोपत्रे गरिने

बजेट अभावमा आयोजना निर्माणको गति सुस्त

धनगढी– डिबिएसटी प्रविधिबाट बनेको सडक कमजोर हुने भए पनि धनगढीदेखि थलारासम्मको सडकलाई डिबिएसटी प्रविधिबाटै निर्माण गरिने भएको छ । सडक विभागले धनगढीदेखि थलारासम्मको १८६ किलोमिटर सडक निर्माण गर्न आयोजना कार्यालय स्थापना गर्नुअघि नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएको थियो ।

सो प्रतिवेदनमा डिबिएसटी प्रविधिबाट कालोपत्रे गर्न स्टिमेट गरिएको धनगढी–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी दिनेश रैखोलाले बताए । ‘हाम्रो लागि डिपिआर संविधानजस्तै हो,’ उनले भने, ‘डिपिआरमा उल्लेख भएको प्रविधिभन्दा फरक प्रविधिबाट बनाउन मिल्दैन । बरु २/३ वर्षमा मर्मत गर्न सकिन्छ । अन्य प्रविधि प्रयोग गर्नका लागि अर्को डिपिआर गरी स्वीकृत गराउनुपर्छ ।’

डबल बिटुमिन सरफेर ट्रिटमेन्ट (डिबिएसटी) नेपालमा सडक निर्माणको एकदमै पुरानो र सस्तो प्रविधि हो । गड्डाचौकी–काँकडभित्ता पूर्वपश्चिम राजमार्ग पनि डिबिएसटी प्रविधिबाट बनाइएको पूर्वाघार क्षेत्रका विज्ञ बताउँछन् । इन्जिनियर रैखोलाका अनुसार यो प्रविधि पुरानो र सस्तो प्रविधि हो । यसै प्रविधिबाट बनाइएको धनगढीको कनरी–के गाउँ सडक खण्ड तीन वर्षमा भत्किएको थियो ।

यस प्रविधिबाट बनेको सडकले निरन्तर मर्मत गरिएमात्रै यसको आयु लम्बिँदै जान्छ । ‘डिबिएसटी प्रविधिबाट बनेको सडकको आयु नै ४/५ वर्षको हुन्छ,’ इनिजनियर रैखोलाले भने, ‘तर नियमित मर्मत सम्भार गरेमा डिबिएसटी गरिएको सडक पनि वर्षौं टिक्छ । ३/४ वर्षमा कम्तीमा एक पटक मर्मत गर्दा सडक लामो समयसम्म चल्छ ।’

प्रतिवेदनअनुसार धनगढी–दिपायल–उरै भन्ज्याङ द्रुतमार्गको धनगढीदेखि थलारासम्म निर्माण सम्पन्न गर्न नौ अर्ब २१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । २०६४ सालमा यस सडकको डिपिआर गरिएको हुनाले वास्तविक लागत पनि बढेको छ । यस सडकले कैलालीको धनगढी, खुटिया, हातखोली र डोटीको बिपीनगर, जोरायल, केआई सिंह गाउँपालिका हुँदै ९६ किलोमिटरमा दिपायलसँग जोडिन्छ भने डोटीकै दिपायलबाट तिखा, अछामको मेल्लेख, बझाङको थलारासम्म पुग्छ ।

त्यहाँबाट सेती लोकमार्गमा मिसिन्छ । सेती लोकमार्ग बझाङकै चैनपुर हुँदै उरै भन्ज्याङसम्म पुग्छ । जहाँ नेपाल र चीनको उरै नाका पर्छ । यो सडक निर्माण सुरु भएको १६ वर्षमा २८ किलोमिटर कालोपत्रे भएको छ भने १४ किलोमिटर कालोपत्रेका लागि ठेक्का लगाइएको छ । धनगढी–दिपायल खण्डमा ३० करोड रुपैयाँ खर्च गरेर २०७८ चैतमा ट्रयाक खोल्ने काम सम्पन्न गरिएको थियो । ट्रयाक खुले पनि बाह्रै महिना गाडी चल्न सक्ने अवस्थामा सडक पुगेको छैन ।

धनगढीदेखि ५५ किलोमिटरसम्म निरन्तर जीप चल्न सक्ने गरी सडक निर्माण भएको इन्जिनियर रैखोलाले बताए । उनले ट्रयाक खुलेको भएपनि बर्खामा पहिरो जाँदा सडक अवरुद्ध भएको बताए । दिपायलबाट थलारासम्म पहिले नै बाटो खुलेको भए पनि सडकको चौडाइ बढाउने र अपग्रेड गर्ने कार्य गर्न बाँकी छ । यो खण्डमा भने जीप बाह्रै महिना सञ्चालन हुने स्तरको सडक रहेको इन्जिनियर रैखोलाले बताए ।

उनका अनुसार धनगढीदेखि उरैसम्म नै ९ मिटर चौडाइको सडकमा सात मिटर चौडाइको कालोपत्रे गरिने छ । बजेट अभाव र भौगोलिक कठिनाइका कारण यो सडक निर्माणले तीव्रता पाउन सकेको छैन । लगाइएका ठेक्का पनि सुस्त गतिमा काम भइरहेको छ । आयोजनाका इन्जिनियर रैखोलाले बजेट अभावकै कारण आयोजना कार्यालयले थप ठेक्का लगाउन नसकेको बताए । उनका अनुसार २०६४ मा आयोजनाको अध्ययन सुरु भई सडक डिविजन कार्यालय महेन्द्रनगरले काम गरिरहेको थियो ।

२०७२/०७३ बाट पहिलो प्राथमिकता प्राप्त आयोजनामा राखी छुट्टै आयोजना कार्यालय स्थापना गरी आयोजना कार्यान्वयन गरियो । तर प्रत्येक वर्ष आवश्यकता भन्दा निकै कम बजेट विनियोजन हुँदा सडक निर्माणको ठेक्का पनि खण्डमा लगाइरहेको इन्जिनियर रैखोलाले बताए । उनले डिपिआर अनुसार बजेट विनियोजन भए आयोजना सञ्चालन गरेको १० वर्षमा सकिनु पर्नेमा १६ वर्षको अवधिमा पनि सुरुवाति अवस्थामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्