Logo

८४ करोडको कृषि जन्य वस्तु निर्यात

दाङ– दाङबाट करिब ८४ करोड मूल्यका तरकारी तथा खाद्य वस्तुको निर्यात भएको छ । जिल्लाबाट आर्थिक वर्ष २०८०–०८१ मा ८३ करोड ६९ लाख मूल्यको तरकारी तथा खाद्यवस्तुको निर्यात भएको कृषि ज्ञान केन्द्रले जनाएको हो । ताजा तरकारी, फलफूल, मह, मकै, धान, गहुँ, तोरीको बिउ, उन्नत तथा हाइब्रिड बिउको निर्यात भएको हो ।

ज्ञान केन्द्रका अनुसार ५८ करोड बढी मूल्यको तरकारी निर्यात भएको छ । जिल्लाबाट आर्थिक वर्ष २०८०–८१ मा ५८ करोड १२ लाख मूल्यका ताजा तरकारी निर्यात भएको हो । एक वर्षमा १९ हजार ३ सय ७५ टन ताजा तरकारी निर्यात भएको ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ एवं सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिए । ३ सय ३५ जना व्यावसायिक कृषकद्धारा उत्त्पादन गरेको तरकारी निर्यात भएको उनले बताए ।

जिल्लामा उत्पादन भएको ताजा तरकारी बुटवल, महेन्द्रनगर, सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौंलगायतका सहरमा जाने गरेको केन्द्रले जनाएको छ । पछिल्लो समय तरकारी उत्पादनको हिसाबले जिल्ला आत्मनिर्भर रहेको लामिछानेले बताए । ‘उत्पादनको हिसाबले हामी तरकारीमा आत्मनिर्भर रहेका छौ’ उनले भने । जिल्लामा उत्पादन भएको तरकारी जिल्ला बाहिर समेत निर्यात हुने गरेको छ । उत्पादन बढेको समयमा बाहिर पठाउने र कम भएको समयमा आयात गर्ने गरिएको छ ।

पछिल्लो समय कृषिमा लाग्नेको संख्यामा समेत वृद्धि भएको कारण उत्पादन बढ्दै गएको ज्ञान केन्द्रको भनाइ छ । कृषिमा युवाहरुको आकर्षणसँगै लगानी समेत बढेको केन्द्रको भनाइ छ । तरकारी बाहिर निर्यात गरेर जिल्लामा धेरै रकम भित्र्याउने गरिएको छ । घोराहीमा मात्रै दैनिक करिब ७० क्विन्टल तरकारी खपत हुने गरेको सूचना अधिकारी लामिछानेले बताए । यसैगरी एक वर्षको अवधिमा ६ करोड ८९ लाख मूल्यको फलफूल निर्यात भएको छ ।

३५ जना व्यावसायिक कृषकबाट उत्पादन भएको ९ सय १५ टन फलफूल निर्यात भएको सुचना अधिकारी लामिछानेले बताए । जिल्लाबाट आँप, केरा, तथा ड्रागन फु्रट, स्टवेरी, खरबुजा निर्यात गरेको हो । निर्यात भएको फलफूल बुटवल, पोखरा, नेपालगञ्ज, काठमाडौंका सहरमा निर्यात भएको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । यसैबीच ४ करोड ४९ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । मकै, धान, गहुँ, तोरी तथा हाइब्रिड बिउ निकासी भएको हो ।

गोर्खासिङ, कम्पनी, नासिक सिड, हरितक्रान्ती कृषि सहकारी संस्था र सुर्योदय कृषक वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मकै, धान, गहुँ, तरकारी एवं तोरीको उन्नत तथा हाइब्रिड बिउ उत्पादन गरेर निर्यात गरेका हुन । जिल्लाबाट २ सय २१ मेट्रिक टन खाद्यवस्तु निर्यात भएको छ । १४ करोड १७ लाख मूल्यबराबरको मह निर्यात भएको छ । जिल्लाबाट एक वर्षको अवधिमा उक्त मूल्यको मह निर्यात भएको हो । ३ सय १५ टन मह निर्यात भएको केन्द्रले जनाएको छ ।

जिल्लामा करिब १८ हजार माहुरीको गोला रहेको माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताए । धेरै मेलीफेरा जातको माहुरीको घार रहेको उनले बताए । जिल्लामा वार्षिक पाँच सय टनभन्दा बढी मह उत्पादन हुने गरेको महासंघको भनाइ छ । जिल्लामा करिब एक हजार माहुरी पालन कृषक रहेका छन् । माहुरी पालन गर्ने कृषकको संख्या ६ सय बढी रहेको बताइएको छ ।

उनका अनुसार मेलीपेरा माहुरी पालन गर्ने ५२० भन्दा बढी रहेका छन् । सेराना जातका व्यावसायिक रूपमा पालन गर्ने १५० बढी रहेको उनी बताउँछन् । ५० भन्दा बढी घार पालन गर्नेलाई व्यावसायिक कृषकको रूपमा लिने गरिन्छ । पछिल्लो समय माहुरीपालन गर्ने कृषकको संख्या बढ्दै गएको उनको भनाइ छ । माहुरी पालन कृषक बढ्दै गएका छन् भने व्यवसायमा समेत समस्या बढ्दै गएको माहुरी पालन महासंघ दाङका अध्यक्ष श्रेष्ठले बताएँ । माहुरी चरणका लागि सामुदायिक वन, क्लबहरूले समेत रकम लिने गरेको छन् ।

धेरै निकायसँग मह बिक्री नभएको समस्याको बारेमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको कृषकहरु बताउँछन् । पछिल्लो समय माहुरीपालन गर्ने कृषकहरुका संख्या बढ्दै गएको उनको भनाइ छ । पछिल्लो समयमा माहुरी पालन व्यवसायमा समस्या बढ्दै गएको उनी बताउँछन् । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले कृषकहरु बढदै गएका हुन । दाङ जिल्ला माहुरी पालनको लागि उर्वर जिल्ला मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्