काँकडभिट्टाबाट तेस्रो देशका नागरिकलाई प्रवेश खुल्यो
बिर्तामोड– चार वर्षदेखि बन्द पूर्वी नाका काँकडभिट्टा नाकाबाट तेस्रो देशका नागरिकलाई नेपाल प्रवेश गर्न खुला गरिएको छ । यो भन्दाअघि भारतले त्यस्ता नागरिकलाई प्रवेशमा रोक लगाएको थियो । कोरोना संक्रमणका कारण लकडाउनसँगै भुटान बाहेकका तेस्रो देशका नागरिकलाई काँकडभिट्टा भएर नेपाल प्रवेशमा भारतले रोक लगाउँदै आएकोमा १७ साउनदेखि खुला गरेको हो ।
२०७६ चैतमा कोरोना महामारीका कारण पूर्वी नाका बन्द भएसँगै भारतले नेपाल प्रवेश गर्ने भुटानी नागरिक र भारत आउन भिसा आवश्यक नपर्ने तेस्रो देशका नागरिकलाई मात्र नेपालतर्फ पठाइ रहेकोमा काँकडभिट्टा नाका खुलेसँगै तेस्रो देशका पर्यटकले काँकडभिट्टा नाका प्रयोग गर्न थालेको अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख मोहन पनेरुले बताए ।
कोभिडपछि भारतीय अध्यागमन कार्यालयले तेस्रो देशका सबै नागरिकहरूलाई आउने र सबै भिसा दिन बन्द गरेकोमा अहिले टेलिफोनमार्फत तेस्रो देशका लागि पूर्वी नाका खुलेको भारतीयपक्षले जानकारी गराएको उनले बताए । पूर्वी नाका खुलेदेखि बंगलादेशको २, यूकेको १, यूएसएको ३, स्वीजरल्याण्डका ४, भुटानका १७ जना पर्यटक नेपाल प्रवेश गरेको उनले जानकारी दिए । त्यस्तै नर्वेका २, जापानीज १, स्वीजरल्याण्डका १, यूकेको १, भुटानका २३, बंगलादेशको १ जना नागरिक काँकडभिट्टा नाका भएर बाहिरिएका छन् ।
नेपाल प्रवेशको सुदूरपूर्वको द्वार काँकडभिट्टासँग सोझै जोडिएको भारतको पश्चिम बंगाल राज्यको पानीट्याँकीमा रहेको अध्यागमन ‘चेकपोष्ट’ रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानी बाहेक तेस्रो मुलुकबाट नेपाली घुम्न आउने पर्यटकलाई प्रवेशाज्ञा (आगमन अनुमति ) नदिएका कारण पूर्वी नाकाबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा कमी आएको अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख पनेरुले बताए ।
यस विषयमा नेपाल तथा भारततर्फका अधिकारीहरूको औपचारिक तथा अनौपचारिक रूपमा पटक पटक छलफल भए पनि सुरक्षाको कारण देखाएर भारतीय अध्यागमन कार्यालयले प्रवेशाज्ञ नदिएको बताउँदै उनले लामो छलफल र बहसपछि भारतीय पक्षले नाका खुलाएकोमा खुसी व्यक्त गरे ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदय श्रेष्ठले आफूहरूले तत्कालीन नागरिक उड्ड्यन तथा पर्यटन मन्त्री सुदन किराँतीलाई भेटेर भारतीय अवरोधको समस्याबारेमा जानकारी गराएको र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा समेत यो विषयमा छलफल भए पनि समस्याको समाधान हुन नसकेको बताए ।
दार्जिलिङका सांसद तथा भारतीय जनता पार्टीका युवा नेता राजु विष्टलाई समेत भेटेर पटक पटक यस विषयमा जानकारी गराउँदासम्म समस्याको समाधान नभएको बताउँदै उनले कोभिडको असर नियन्त्रणमा आएर सहज बनेपछि भारततर्फको नाकालाई सहजताको लागि पहल गर्न कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालयलगायत सबै क्षेत्रमा आग्रह गरे पनि समस्या समाधान नभएकोमा अवस्थामा अहिले नाका खुलेको हो ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले मेची भन्सारबाट तेस्रो देशका नागरिक आवत जावत बन्द हुँदा यहाँको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको बताउँदै अब नाका खुला भएपछि तेस्रो देशका नागरिक आउने र यहाँको पर्यटन, होटल व्यवसाय फस्टाउने बताए । पूर्वी नाका भएर नेपाल घुम्न आउने तेस्रो देश तथा बंगलादेशी पर्यटकहरूको आवत जावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईले बताए ।
तेस्रो देशका नागरिकको आवत जावत बन्द हुँदा पर्यटन, होटेल व्यवसायमा ठूलो प्रभाव परेको बताउँदै उनले भारतीय अध्यागमन कार्यालयले नाका खुलाएसँगै यहाँको पर्यटन फस्टाउनेमा जोड दिए । नाट्टा कोशी प्रदेशका महासचिव नवीन खरेलले यहाँबाट विगतमा सबैभन्दा धेरै बंगलादेशी, भुटानी र भारत घुम्न आएका अन्य देशका नागरिक नेपालतर्फ आउने गरेको र नाका खुला भएसँगै उनीहरू पुन: नेपाल घुम्न आउने बताए ।
नेपाल घुम्न आएका विदेशीले काठमाडौं, पोखरा, लुम्बिनी, चितवन, गोर्खा, मनकानमालगायतका धार्मिक एवं पर्यटकीयस्थल घुम्न मन पराउने उनको भनाइ छ । तेस्रो देशका नागरिकलाई आवतजावत खुला गरेकोमा ट्राभल्स संघ झापाका अध्यक्ष नेत्र कार्कीले खुसी व्यक्त गर्दै अब यो नाका पर्यटकको रोजाइमा पर्ने बताए ।