Logo

वर्षाले जाजरकोट खलंगा सडक अवरुद्ध

वीरेन्द्रनगर (सुर्खेत)– नेपालमा संघीयता लागू नहुँदै सुरु भएको जाजरकोट–खलंगा– पाँचकाटिया सडकमा हालसम्म स्ट्रेचरमा बिरामी सदरमुकाम पुर्‍याउने अवस्था छैन । यही सडकलाई संघीयतापछि लुम्बिनी–रारा राजमार्गको नामबाट परिचित गराएको छ । वर्षाको कुरै छोडौं, हिउँदयाममा समेत यातायातका साधन चल्न मुस्किल हुने यो सडक, हाल सडक डिभिजन चौरजहारीको मातहतमा रहेको छ ।

पटकपटक ठेक्का लाग्ने तर काम भने जहाँको तही रहने यो राजमार्ग नामको मात्र चर्चित बन्न पुगेको छ । तत्कालीन जिल्ला विकास समितिदेखि हाल संघीय सरकारले भारी मात्रामा लगानी गरेको यो राजमार्गमा हाल स्थानीयबासीलाई पैदल हिँडनसमेत गाह्रो हुँदै आएको छ । कुशे गाउँपालिका दम्दालाका बुद्धि ओलीले लथालिंग अवस्था देखेर चुनाव आउन अब तीन वर्षमात्र बाँकी रहेकाले सो समयमा फेरि चुनावी मुद्दा बन्ने छ भन्दै आक्रोष पोखेका छन् ।

उनले भने, ‘बत्तीको पोल ढलेको दुई महिना बित्यो (जाजरकोट–कुशे, दम्दाला) विद्युत कार्यालयलाई थाहा छैन ।’ उनले थपेका छन्, ‘१५ वर्षदेखि नबगाएको खोलाको ग्याबिन जाली ठेकेदारले खोलाको ढुंगा–बालुवा निकाल्यो (लुम्बिनी–रारा सडकको रिसाङ खोला), सबै जाली बग्यो ? न प्रशासनलाई थाहा छ, न सडक विभागलाई थाहा छ । नेतालाई थाहा हुने कुरै भएन किनकि चुनाव प्रचार गर्न जानेबेला भाकै छैन, चुनाव सकिएको दुई वर्ष भइसक्यो । चुनाव आउन अझै तीन वर्ष बाँकी नै छ, ठेकेदार यी माथिका सबैलाई चलाउने डन पो पर्‍यो किन बनाउला सडक ? जनता बिचरा उकालो हिँड्दा हिँड्दै बाटैमा सास रोकेर प्राण त्यागिरहेका छन् ।’

उनले हप्ता दिन अघिमात्र स्ट्रेचरमा बिरामी राखेर लिने बाटो नहुँदा घरमै एक जनाको मृत्यु भयो भन्दै पीडा पोखेका छन् । वलीजस्तै पीडा पोख्नेको ठूलै संख्या छ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ध्रुव आचार्यले जनताको पीडा बुझ्ने कोही नभएको भन्दै आक्रोष पोखेका छन् । आचार्यले सामाजिक सञ्जालमा भेरी नगरपालिका–२ कोटखोलामा पहिरोका कारण तीन दिनदेखि अवरुद्ध सडकको तस्बिर सामाजिक सञ्जालमा राख्दै सदरमुकामभित्रैको अवस्था यस्तो छ ।

जाजरकोट खलंगादेखि पाँचकाटिया सडक खण्डको खलंगानजिकै कोटखोलामा गएको पहिरोले दुई दिनदेखि बाटो अवरुद्ध छ । दृढ इच्छा शक्तिका साथ काम गर्ने हो भने १ घण्टामा सडक खुल्छ, सम्बन्धित निकायको किन ध्यान पुगेको छैन ? तत्काल सडक मर्मत गरी सडक सुचारु गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु भन्दै सुझाव दिएका छन् । २१ वर्षभन्दा लामो समयसम्म २१ किलोमिटर सडक सञ्चालनमा आउन नसक्नु यस क्षेत्रका राजनीतिज्ञदेखि अन्य सरोकारवाला निकायको काम गर्ने तरिकामै प्रश्न उठेको छ ।

यही राजमार्ग भएर कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भाम्र जाने र आउने गरिन्छ । भेरी नगरपालिका र कुशे गाउँपालिकाको भागमा यो राजमार्गको मुख्य भाग पर्दछ । ठेक्का लागे पनि समयमै काम नहुँदा र भएको कामसमेत गुणस्तर नहुँदा दैनिक यस क्षेत्रका नागरिकले हैरानी खेप्दै आएका छन् । जाजरकोट संघीयता यताका वर्षमा मन्त्री नछुट्ने जिल्लामा पर्दछ ।

प्रदेश वा संघमा सधै मन्त्री मात्र पाउने जिल्ला जाजरकोट हो । तर यहाँ निर्माणको काम हेर्दा पीडा बोध भएर आउने गरेको एसका केन्द्रीय सदस्य कमानबहादुर खडकाले बताए । आफै जनप्रतिनिधि आफै निर्माण व्यवसायीदेखि नेताले चन्दाबाट चुनाव लड्दा निर्माण व्यवसायीले विकास निर्माणको काममा ढिला सुस्ती गरेको उनको भनाइ छ । चालु आबमा समेत यो राजमार्गमा बजेट तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्