३ करोडमाथिको ठेक्का अंक घटाएर १६ लाखमा झारियो

इलामको माई नगरपालिकामा तीन करोडमाथिको ठेक्का १६ लाखमा झारिएको छ । तीन करोड २० लाखमा लगाउन बोलपत्र आह्वान गरिएको ठेक्का नलागेपछि १६ लाखमा झारिएको हो ।
चालू आवको चार महिना बितिसक्दा पनि माई नगरपालिकाको मुख्य आन्तरिक आम्दानीको स्रोतको रूपमा रहेको ठेक्का लाग्न नसकेपछि बाध्य भएर नगरपालिकाले ठेक्का लगाउनकै लागि मात्र पनि ठेक्का अंक घटाएर बोलपत्र आह्वान गरेको छ । चालू आवमा लगाउनु पर्ने त्यस्तो ठेक्काको बोलपत्र सूचना गत आवकै अन्त्यमा निकालेर आवको सुरुदेखि नै ठेक्का कार्यान्वयन गर्नुपर्नेमा नगरपालिकाले चालू आवको भदौ १४ गतेमात्र एक महिना म्यादसहितको पहिलोपटक दहत्तर बहत्तरको ठेक्काको बोलपत्र सूचना निकालेको थियो । पहिलो सूचनामा कसैले ठेक्का नहालेपछि दोस्रो पटक असोज १५ गते १५ दिनको म्यादमा, असोज २८ र कात्तिक ७ गते सात दिनको म्यादमा सो ठेक्काको पुनः सूचना निकालिएको थियो । तर चारपटक सूचना निकाल्दा पनि ठेक्काको बोलपत्र भर्ने कोही ननिस्किएपछि नगरपालिकाले अहिले सुरु ठेक्का अंकको ९५ प्रतिशत घटाएर जम्माजम्मी पाँचौ पटक कात्तिक २७ गते अर्को बोलपत्र सूचना निकालेको छ ।
आवको सुरुदेखि नै आम्दानी हुने गरी लगाउनु पर्ने ठेक्का, चार महिनासम्म सूचना निकाल्दा निकाल्दै बितेको छ । पछिल्लोपटक कात्तिक २० गते बसेको माई नगरपालिका कार्यापालिकाको बैठकले ठेक्का अंक घटाएर भए पनि सूचना निकाल्ने निर्णय लिएको हो । बैठकमा सदस्यहरूले थोरै रकम अंक राखेर बोलपत्र आह्वान गर्दा बढीमा ठेक्का हाल्ने प्रतिस्पर्धा हुने भएकाले धेरै रकममा ठेक्का लाग्न सक्ने मत राखेपछि त्यसैमा बहुमत भएर यस्तो सूचना निकालिएको हो । तर यो मत तर्कसंगत नभएको जानकारहरू बताउँछन् । ठेक्का नलाग्नुमा अरु नै कारण भएको हुनसक्ने भन्दै अंक घटाउँदैमा न्यायिक नहुने स्थानीय बासिन्दाको तर्क छ ।
गत आव ०७५÷७६ मा पनि माई नगरपालिकाले दहत्तर बहत्तरको ठेक्का लगाउन सकेको थिएन । गत वर्ष यो ठेक्का नलाग्दा नगरले आन्तरिक रूपमा सञ्चालन गरेका योजनामा प्रयोग भएको ढुंगा, गिटी, बालुवाको कर कार्यालयबाटै योजनाको फस्र्योट गर्ने क्रममा संकलन गरेर चित्त बुझाएको थियो । यस्ता योजनामा प्रयोग भएको दहत्तर बहत्तरको करबाट गत वर्ष ६६ लाख रुपैयाँ आम्दानी भएको नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका लेखाअधिकृत क्षेत्रनाथ शर्माले जानकारी दिए । लेखा अधिकृत शर्माका अनुसार यस वर्ष पनि नगरबाट सञ्चालन हुने योजनामा प्रयोग हुने दहत्तर बहत्तरको कर कार्यालयबाटै गत वर्षजस्तै तरिकाले उठाउने गरी ठेक्का अंक घटाएर पछिल्लो पटक सूचना निकालिएको हो । यसवर्ष योजनाबाट पनि गत वर्षभन्दा बढी रकम संकलन हुने उनको दाबी छ । पछिल्लो पटक निकालिएको सूचनामा नै नगरले सञ्चालन गरेका योजनामा प्रयोग भएकोबाट कर नगरले नै संकलन गर्ने तथा बाहिरी जिल्ला निकासी हुने र निजी प्रयोजनमा जानेको मात्र कर उठाउन ठेक्का लगाइने जनाइएको छ ।
कतिपय जानकारका अनुसार १६ लाखमा पनि ठेक्का लाग्न सक्दैन । माई नगरपालिकाको क्षेत्र ठूलो भएको, यो ठेक्का लिएर कर उठाउन २५ देखि ३० जना जनशक्ति आवश्यक पर्ने, नगरले सञ्चालन गर्ने योजनामा जाने सामानको कर ठेकेदारले उठाउन नपाउने जस्ता कारणले ठेक्का नलाग्ने अनुमान गरिएको हो ।
ठेक्का नलागे पनि अहिले माई नगरपालिकाका खोलाबाट ढुंगा, गिटी तथा बालुवा संकलन गरेर निकासी भइरहेको छ । यसरी निकासी भएको सामानको कर हालसम्म नगरले उठाउन सकेको छैन । इलाम जिल्लामा दहत्तर बहत्तरको आम्दानी सबैभन्दा बढी लिनसक्ने सम्भावना भएको स्थानीय तह माई नगरपालिका हो । जिल्लाको सबैभन्दा ठूलो नदी माई यही नगरपालिकाको बीच भागबाट बहन्छ । त्योबाहेक सानातिना नदी पनि यो नगरपालिकामा थुप्रै छन् । ती नदीबाट संलन भएको गिटी, बालुवा इलामका विभिन्न स्थानीय तहसँगसँगै झापा, मोरङसम्म लगेर निर्माण कार्यमा प्रयोग हुने गरेको छ । पटकपटक नलागेको ठेक्का अब लाग्ने अनुमान गरिएको छ ।
टीका खतिवडा