धनगढी–दिपायल द्रुतमार्गमा २८ किमि सडक कालोपत्रे
निर्माण लगत्तै सडकमा खाल्डाखुल्डी
धनगढी– धनगढी–दिपायल द्रुतमार्ग अन्तर्गत कैलालीको धनगढीदेखि खुटियासम्मको सडक खण्ड निर्माण भएको छ । कालोपत्रेको काम सकिएर लेन छुट्याउने र जेब्रा क्रसिङ बनाउने काम पनि सकिएको छ । आयोजना कार्यालयबाट अन्तिम अनुगमनको काममात्रै बाँकी रहेको धनगढी–खुटिया–बिपीनगर–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडक आयोजना कार्यालयले जनाएको छ ।
आयोजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले सम्पूर्ण काम सम्पन्न गर्न अझै एक हप्ता लाग्ने बताए । धनगढी जिरो प्वाइन्ट पिपल चौतारादेखि स्यालेमा पर्ने पूर्वपश्चिम राजमार्गभन्दा केही उत्तरसम्म १३.४ किलोमिटर सडक खण्ड डबल विटुमिन सरफेर ट्रिटमेन्ट (डिबिएरटी) प्रविधिबाट कालोपत्रे गरिएको छ । डिबिएसटी प्रविधि पुरानो र कमजोर सडक संरचना बन्ने खालको प्रविधि भएको हुनाले पिपल चौतारादेखि तीन किलोमिटर सडकमा खाल्डाखुल्डी देखिन थालेको छ ।
सडक कम गुणस्तरको बनाइएकाले निर्माणसँगै बर्खाको पानीले भत्किने सम्भावना बढेको स्थानीयले बताएका छन् । धनगढी उपमहानगरपालिका–११ का वडाध्यक्ष रुपबहादुर कुँवरले खडकमा खाल्डाखुल्डी पर्न देखिएको हुनाले आयोजना कार्यालयले सडक पास गर्नुभन्दा पहिले ल्याब टेस्ट गर्न आवश्यक रहेको बताए । यस सडकमा दुई वटा खण्डमात्रै हालसम्म कालोपत्रे सम्पन्न भएको छ । डोटीको दिपायल–मेल्लेख सडक खण्डअन्तर्गत एयरपोर्टदेखि तिखासम्मको १५ किलोमिटर सडक सम्पन्न गरेको आयोजना कार्यालयले जनाएको छ ।
यस खण्डसहित २८.३ किलोमिट सडक कालोपत्रे भएको छ । यस सडक खण्ड निर्माणका लागि खड्का कृष्ण, नारायणम्, बंगलामुखी जेभीले १६ करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेकोमा १५ करोड ७३ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको छ । २०७८ असार ७ गतेबाट सुरु भएको ठेक्काको म्याद थपसहित गत जेठ म्याद सकिएको सूचना अधिकार रैखोलाले बताए । उनले कुल लागतमध्ये अन्तिम किस्ता निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको बताए ।
सम्पूर्ण काम सकिएपछि निर्माण कम्पनीले आयोजना कार्यालयलाई निर्मित सडक खण्ड हस्तान्तरण गर्ने उनले बताए । उनले निर्माण कम्पनीले सम्झौताअनुसार हस्तान्तरण भएको मितिले एक वर्षसम्म मर्मत सम्भारको समेत काम गर्ने बताए । उनले सोहीअन्तर्गत सडकमा देखिएको खाल्डाखुल्डी समेत पुरेर बराबर बनाउन लगाइने बताए ।
‘निर्माणको क्रममा बिटुमिन र गिट्टी छुटेर खाल्डो परेको हो कि गिट्टी र बिटुमिन हुँदा पनि खाल्डो देखिएको हो । हामीले अनुगमन गर्छौं,’ सूचना अधिकारी रैखोलाले भने, ‘निर्माण कम्पनीले पनि वर्षा सकिएपछि मर्मत गर्ने प्रतिबद्धता जनाएको छ । हस्तान्तरणपछिको एक वर्षसम्मको मर्मत खर्च निर्माण कम्पनीले नै बेहोर्छ । अन्य प्रविधिबाट बनाइएको सडकजस्तै यस प्रविधिबाट बनाइएको सडक पनि खाल्डाखुल्डी रहित हुन्छ ।’
द्रुतमार्गमा कैलालीतर्फ थप सात किलोमिटर खण्ड कालोपत्रेका लागि संरचना निर्माणको काम भइरहेको छ । १३.४ किलोमिटर खण्ड सकिएको ठाउँदेखि हातखोलीसम्मको सात किलोमिटर सडक कालोपत्रेका लागि सडक संरचना निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको इन्जिनियर रैखोलाले बताए । कालिका वेदान्सी जेभीसँंग २०७९ असार १६ गते १४ करोड २० लाखमा २४ महिनामा काम सक्ने गरी सम्झौता भएको थियो ।
गत असार १५ मा सो कम्पनीलाई दिएको म्याद सकिएपछि म्याद थपका लागि प्रक्रिया अगाडि बढाइएको छ । इन्जिनियर रैखोलाले सबबेस, बेस र कालोपत्रेको काम बाँकी रहेकाले थप समय माग गरिएको बताए । यसैगरी, दु्रतमार्ग अन्तर्गत मेल्लेख सडकमा नौ किलोमिटर थप कालोपत्रेका लागि ठेक्का लगाइएको छ । सो सडक खण्डमा निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ भने तीन किलोमिटरमा कालोपत्रेसमेत गरिएको छ ।
यस सडक खण्ड निर्माणका लागि कालिका मेदान्त जेभीसँंग १४ करोड २२ लाखमा २०८२ साउन ४ गतेभित्रै निर्माण गर्ने सम्झौता भएको इन्जिनियर रैखोलाले बताए । द्रुतमार्गमा पर्ने आठवटा खोला तथा नदीमा पुल निर्माणका लागि समेत ठेक्का गरिएको छ । २०७९ मा लगाइएका यी पुलको काम ३० प्रतिशतसम्म सम्पन्न भएको छन् भने यी पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने म्याद अब एक वर्षमात्रै बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ ।