कम्पनी नवीकरणमा डिजिटल हस्ताक्षर अनिवार्य

काठमाडौं– कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रवाह हुने सेवा अब पूर्ण रुपमा अनलाइन हुने भएको छ । कम्पनी दर्ता, नवीकरणलगायत सेयर लगत राख्नेजस्ता सेवाहरु अनलाइन प्रणालीबाटै उपलब्ध गराउन कार्यालयले हाल चालु रहेका कम्पनी सञ्चालकहरुको डिजिटल हस्ताक्षर अनिवार्य गरेको छ ।
पहिलो चरणमा पब्लिक लिमिटेड कम्पनीका सञ्चालकको डिजिटल हस्ताक्षर अनिवार्य गरिएको र यसका निमित्त ३० दिनको समय प्रदान गरिएको कम्पनी रजिष्ट्रार प्रदीपराज अधिकारीले जानकारी दिए । पब्लिक कम्पनीबाट कार्यालयमा विवरण पेश गर्दा डिजिटल हस्ताक्षर अनिवार्य गर्ने गरी तयारी भइरहेको छ । यसका निमित्त परिपत्र जारी गरिसकेको र यससम्बन्धी सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्रत्येक पब्लिक कम्पनीले कम्पनी ऐन तथा अन्य सम्वद्ध कानुनबमोजिम कार्यालयमा पेश गर्नुपर्ने विवरण डिजिटल हस्ताक्षर गरी कार्यालयमा पेश गर्नुपर्ने उनले बताए । भदौ १४ भित्र सबै पब्लिक कम्पनीहरुले डिजिटल हस्ताक्षर गरी रजिष्ट्रारको कार्यालयमा विवरण पेश गर्नु पर्नेछ । कम्पनीहरुले वार्षिक साधारणसभा तथा सञ्चालक समितिको निर्णयसहित अन्य विवरण, कम्पनीको तर्फबाट प्रमाणित गर्नुपर्ने कागजात तथा विवरणहरुमा डिजिटल हस्ताक्षर गरी कार्यालयमा पेश गर्नु पर्नेछ ।
कम्पनी रजिष्ट्रारको कार्यालयवाट प्रवाह गरिने सेवालाई चरणबद्ध रुपमा पूर्ण अनलाइन प्रणालीमा आवद्ध गर्ने उद्देश्यले कार्यालयले नयाँ सफ्टवेयर निर्माण गरी हाल कार्यान्वयनमा रहेको अधिकारीले बताए । ‘नयाँ सफ्टवेयर पूर्ण कार्यान्वयनमा आएपछि नयाँ कम्पनी दर्ताको सेवा प्राप्त गर्न सेवाग्राही कार्यालयमा भौतिक रुपमा उपस्थित हुनु पर्दैन । कार्यालयबाट प्रमाणित गर्नुपर्ने कागजात डिजिटल हस्ताक्षरमार्फत प्रमाणित गरी सिष्टममार्फत नै सेवाग्राहीकोमा सम्प्रेषण हुने व्यवस्था मिलाउन सक्ने गरी सेवा प्रवाह भइरहेको छ,’ अर्का एक कर्मचारीले भने । उनका अनुसार कार्यालयबाट प्रवाह हुने सेवाका साथै समग्र कम्पनी प्रशासनमा सूचना–प्रविधि प्रयोगको दायरालाई विस्तार गरी सेवालाई सरल, सहज, मितव्ययी, पारदर्शी बनाई संस्थागत सुशासन अभिवृद्धि गर्ने उद्देश्यले कार्यालयले प्रत्येक कम्पनीहरुले कानुनबमोजिमको विवरण पेश गर्दा डिजिटल हस्ताक्षरको प्रयोग गरी कागजात प्रमाणित गर्नुपर्ने व्यवस्थालाई चरणवद्ध रुपमा लागु गर्न लागिएको हो ।
कम्पनीबाट भएका निर्णय तथा अन्य विवरणहरुमा हस्ताक्षर गर्दा कम्पनीको तर्फबाट अधिकार प्राप्त अध्यक्ष वा कम्तीमा एक जना सञ्चालक वा पदाधिकारीले डिजिटल हस्ताक्षरमार्फत उक्त निर्णय वा विवरणलाई प्रमाणित गर्नु पर्नेछ । अन्य सेयरधनी वा सञ्चालकले हालको प्रचलन बमोजिम नै हस्ताक्षर गर्न सक्ने उल्लेख छ । जसअनुसार निर्णय वा विवरणमा सम्पूर्ण सेयरधनीले म्यानुअल हस्ताक्षर गरिसकेपछि अधिकार प्राप्त अध्यक्ष वा सञ्चालक वा पदाधिकारीले डिजिटल हस्ताक्षरवाट प्रमाणित गरी पेश गर्नुपर्ने उल्लेख छ ।
डिजिटल हस्ताक्षर सम्बन्धी प्रावधान नयाँ सिस्टममा मात्र लागु भएको छ । कम्पनीहरुले दर्तापछिका क्रियाकलापको सेवा लिन कार्यालयको पुरानो सूचना प्रणालीमा भएका डाटालाई सीएएमआइएसमा स्थानान्तरण गरिसक्नुपर्ने भएकोले प्रत्येक पब्लिक कम्पनीले ३० दिनभित्रै डाटा स्थानान्तरणको प्रकृया सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । पब्लिक कम्पनीले डिजिटल हस्ताक्षर गर्न कम्पनीको अध्यक्ष वा कुनै एक जना सञ्चालक वा पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरी उक्त सञ्चालक वा सेयरधनीको नाममा डिजिटल हस्ताक्षर खरिद गर्न नेपाल सरकारबाट इजाजत प्राप्त निकायमा सम्पर्क गर्नुपर्ने व्यवस्था छ । डिजिटल हस्ताक्षर हाल तेस्रो पक्षबाट उपलब्ध हुँदै आएको छ ।
पब्लिक कम्पनीमा डिजिटल हस्ताक्षरको व्यवस्था लागु भएसँगै दोश्रो चरणको कार्यक्रम लागु हुने जनाइएको छ । जसमा नयाँ कम्पनी दर्ता गर्दा, प्राइभेट कम्पनी तथा मुनाफा वितरण नगर्ने कम्पनीले विवरण पेश गर्दा समेत अनिवार्य रुपमा डिजिटल हस्ताक्षर गर्नुपर्ने व्यवस्थालाई चरणवद्ध रुपमा कार्यान्वयन गरिने उल्लेख छ । सबै सेवाग्राहीले डिजिटल हस्ताक्षर खरिद, डाटा स्थानान्तरण लगायतको कामको लागि आवश्यक पूर्वतयारी गर्न कार्यालयले आग्रह गरेको छ ।
के हो डिजिटल हस्ताक्षर ?
प्रिन्ट गरिएका कागजात प्रमाणीकरणका लागि हस्ताक्षरको प्रयोग भएजस्तै समान प्रयोजनका लागि डिजिटल तथा विद्युतीय सामग्रीमा हुने हस्ताक्षर नै डिजिटल हस्ताक्षर हो । त्यसबाट वास्तविक निवेदकको पहिचान अथवा प्रामाणिकता पहिचान हुन्छ । तर, यस्तो हस्ताक्षरलाई प्रत्यक्ष रूपमा देख्न भने सकिन्न । सूचनामूलक सामग्रीमा डिजिटल हस्ताक्षर गोप्य रूपमा समावेश भएको हुन्छ । डिजिटल सिग्नेचर विद्युतीय माध्यमबाट कामकारबाही गर्नको लागि कार्डमा दिइने एउटा पिन कोड हो, जुन कोडले सूचनाहरु सुरक्षित माध्यमबाट आदानप्रदान गर्न सकिन्छ । यसको प्रयोगबाट सूचनाहरु कम्युटरमा मात्रै सुरक्षित किसिमले भरपर्दो गरी आदानप्रदान गर्न सकिन्छ ।
सरकारले डिजिटल हस्ताक्षरलाई पूर्ण रुपमा लागु गरेको छ । डिजिटल हस्ताक्षर बनाउन सम्बन्धित व्यक्तिले निवेदन दिनुपर्छ । निवेदनका साथमा नागरिकता, पासपोर्ट वा सवारी चालक अनुमतिपत्र जस्ता सरकारको आधिकारिकता प्राप्त कागजात पेस गर्नुपर्छ । यसपछि सम्बन्धित कार्यालयले डिजिटल हस्ताक्षर बनाएर दिन्छ । हाल नेपाल सर्टिफाइङ कम्पनीमार्फत डिजिटल हस्ताक्षर बनाउन सकिन्छ ।