Logo

मेरो पालिका

मेलुङको लक्ष्य पूर्वाधार विकास र आयआर्जन बढाउने हो

गाउँपालिकाको विकास र सेवा गर्ने उत्साहका साथ दुई वर्षअघि निर्वाचनमा होमिएको थिएँ । मेलुङ गाउँपालिकावासीको समृद्धि नै मेरो मुख्य लक्ष्य हो । आफ्नै माटोको उत्पादनबाट सबै नागरिक सम्पन्न हुन्छन् भन्ने लक्ष्यअनुसार कृषि क्षेत्रलाई नै व्यवसायीकरण गर्ने र पूर्वाधार विकास त्यसमा पनि सडकलाई प्राथमिकता दिएर गाउँपालिकाको काम सुरु भयो ।

कृषिलाई आधुनिकीकरण गर्न ठाउँअनुसार मौसमी तथा बेमौसमी फलफूलका बिरुवा किसानलाई वितरण गरियो र आवश्यक तालिम पनि दिइयो । केरा, सुन्तला, किबी, एभोकाडो, लिची, आँप र स्याउका बिरुवा किसानलाई पकेट क्षेत्र बनाएर वितरण भएको छ । सुरुमा लगाएका बिरुवाले केही ठाउँमा फल दिन थालेका छन् । मेलुङ–१ पवटी सुन्तला पकेट क्षेत्र हो । सुन्तलामा रोगकिराले उत्पादन घट्दा किसानहरु दुःखी भएको बेला रोगकिरा नियन्त्रण अभियान सञ्चालन भयो । जसको फलस्वरुप यस वर्ष सुन्तला उत्पादन दोब्बर भएर एउटै वडाबाट ११ करोडको सुन्तला किसानहरुले बेचे । यसको क्षेत्र विस्तार गर्ने अभियान जारी छ ।

माथिल्लो भेगमा आलु खेती र तल्लो क्षेत्रमा केरा खेती अभियानकै रुपमा बढाउने अभियान चलिरहेको छ । कृषि र पशुपालनमा व्यावसायिक बनाउने साझेदारी कार्यक्रममार्फत काम भइरहेको छ । जसले आयआर्जन वृद्धि गराउने र युवालाई गाउँमै स्वरोजगार बनाउने लक्ष्यका साथ काम भइरहेको छ ।

गाउँगाउँसम्म सडकका ट्रयाक त पुगेकै थिए । तर कतिपय वक्ररेखा कोरेजस्तो मात्र, न त त्यहाँ राम्रोसँग गाडी नै चल्न सक्थ्यो, न त अर्को गाडी आइहाले पास दिने ठाउँ नै । यस्तो अवस्थामा भएका सडक फराकिला बनाउँदै १२ महिना चल्न सक्ने सडक बनाउने अठोट लिएरै काम सुरु भयो । यो वर्षबाट मुख्य सडकहरु वर्षात्मा पनि चल्छन् । यसअघि १२ किमी सडक कालोपत्रे थियो । नयाँपुल–पवटी सडकको टेण्डर भइसकेको छ भने अप्ठ्यारो ठाउँहरुमा ढलान भइरहेको छ । सोलिङ दिगो बनाउन बक्स सोलिङ भइरहेको छ ।

गाउँपालिकाभित्रका मुख्य रणनीतिक सडकका रूपमा १४ वटा सडक छनोट गरेर डीपीआर भएको पुराना सडकहरुलाई नै पक्की बनाउने काम जारी छ । सडकले अहिले गाउँपालिका केन्द्रदेखि हरेक वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवनलाई छोएको छ । गाउँपालिकाभित्रका हरेक वडामा सडक पुगेको छ ।

आफ्नो निर्वाचन घोषणापत्रअनुसार समीक्षा गर्दा उल्लेखनीय काम गर्न सकेकोमा म सन्तुष्ट छु । ५ वर्ष तत्कालीन घ्याङसुकाठोकर गाविसको वडाध्यक्ष र अघिल्लो कार्यकालमा मेलुङ–३ को वडाअध्यक्षसमेत भएको अनुभवका कारण थोरै कर्मचारी, जनताको अत्यधिक महत्वाकांक्षा, अव्यवस्थित कार्यालयका बाबजुद काम सुरु गरेर सन्तुष्ट हुने गरी काम भएको छ ।

अघिल्लो कार्यकालमा केन्द्र विवाद हुँदा गाउँपालिकाको आफ्नै कार्यालय बन्न सकेन । अहिले पनि गाउँपालिकाको छरिएर कार्यालय राख्नु परेको छ । त्यसलाई मिलाएर अहिले गाउँपालिकाको कार्यालय भवनको टेण्डर गरेर काम सुरु भइसकेको छ । २ वडा बाहेकको वडा कार्यालय भवन पूरा भएको छ । स्वास्थ्य चौकी अत्याधुनिक भवन बनेका छन् । अस्पताल निर्माणाधिन छ ।

आगलागी वा कुनै विपतबाट घर पूर्ण क्षति भएमा एक प्रहरी प्रतिवेदन आएलगत्तै ३ लाख पाउँछन् । पोस्टमार्टम खर्च सबै गाउँपालिकाले बेहोर्छ । त्यस्तै सुत्केरी खर्च ५ हजार उपलब्ध हुन्छ, तर सुत्केरी हुन नसकेर अन्यत्र रिफर गर्नुपरे सबै खर्च गाउँपालिकाले बेहोर्ने गरेको छ । काजक्रिया खर्च ५ हजार समेत गाउँपालिकाले नै बेहोर्छ । मुटु, कलेजो, क्यान्सरजस्ता रोगको उपचारका लागि १० हजार उपचार खर्च दिने गरिएको छ ।

पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि गाउँपालिकाले सार्वजनिक स्थल र बजार क्षेत्रमा सोलार बत्ती राखेको छ । मठमन्दिर गुम्बा र पोखरी संरक्षणको काम गरिएको छ । पञ्चे बाजा र परम्परागत स्थानीय बाजा संरक्षणका लागि समेत गाउँपालिकाले सहयोग गरेको छ ।

कर्मचारी धेरै नबस्ने समस्या छ । लोकसेवाबाट आएका कर्मचारीहरु हिँडिहाल्ने भएकाले अधिकांश कर्मचारी करारमा राखेर काम गर्नुपरेको छ । वडा सचिव पनि कृषि र स्वास्थ्यका कर्मचारीमार्फत सञ्चालन गर्नुपरेको छ । थोरै कर्मचारी भए पनि नागरिककको सेवालाई नरोक्ने र विनियोजित बजेट खर्च गर्न लागिपरेका छौं । यस वर्ष पुँजीगत बजेट शतप्रतिशत खर्च हुने सम्भावना छ ।

प्रदेशः बागमती
जिल्लाः दोलखा
गाउँपालिकाः मेलुङ
वडा संख्याः ७
क्षेत्रफलः ८६.५४ वर्गकिलोमिटर
जनसंख्याः १५,८९३
उपाध्यक्षः गायत्री आचार्य
प्रमुख प्रशासकीय अधिकृतः सञ्जय शिवाकोटी

प्रतिक्रिया दिनुहोस्