बूढीगंगा नदीको कटानले खेतीयोग्य जमिन मासिँदै
नदी किरानाराका दर्जनाैं बस्ती जोखिममा
बाजुरा– वर्षायम सुरु भएसँगै बूढीगंगा नदिको कटानले गर्दा बाजुरा र अछाम जिल्लामा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । बूढीगंगा नदीमा आएको बाढीले खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गरेको थियो । यो वर्ष पनि वर्षात्को समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौ बस्ती नदीको जोखिममा रहेको स्थानीयले बताएका छन् ।
गत वर्ष बूढीगंगा नगरपालिका १ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमिन बूढीगंगा नदीले कटान गरेको थियो । सोही नगरपालिका–३ ताप्रीसेरामा रहेको ५० परिवारको जग्गा बगरमा परिणत भएको स्थानीय हिरा थापाले बताए । बडिमालिका नगरपालिका–२ घागरमा विगतका वर्षमा खेतीयोग्य जमिन कटान हुँदै आएकोमा यो वर्ष पनि नदीले कटान गर्न सुरु गरेको छ ।
आफ्नो १९ मुरि धान फल्ने खेत बगाएको छ, घर पनि पूर्ण रुपमा जोखिममा भएकाले घर नै छोडेर लेखतिर बसाइँ सर्न लागेको स्थानीय हिरा पाध्यायले बताएका छन् । धान फल्ने खेत नै नदीले कटान गरेपछि खाद्य संकटको सम्भावनासमेत बढेको छ । नदीका कारण बडिमालिका नगरपालिका–२ पानीनाउलामा २५ परिवारको जग्गा नदीले पूरै कटान गरेको स्थानीय धन बडुवालले बताए । प्रत्येक वर्ष कटान गर्दै आएको थियो, यो वर्षदेखि पूणरूपमा खेतीयोग्य जमिन बगाएको उनले बताए ।
त्यस्तै त्रिवेणी नगरपालिका–३ र बूढीगंगा नगरपालिका–३ वडाको खेतीयोग्य जमिन नदीले कटान गदै आएको स्थानीय दिपक शाहले बताए । नदीको छेउमै रहेका ताप्रीसेरा, राप्का, बार्जुगाड, मौरे लगायतका बजारसमेत उच्च जोखिममा रहेको शाहले बताए । तलबाट नदीले कटान गर्दै गएपछि बजार जोखिममा रहेका छन्, केही विस्थापित भइसेको उनले बताए । त्यस्तै बूढीगंगा नदीले अछाम जिल्लामा पनि खेतीयोग्य जमिन कटान गदै आएको साँफेबगर नगरपालिका–२ बस्ने कमल साउँदले बताए ।
साँफेबगर नगरपालिकाको बुढाबगर, ठाँटी, साँफे र कालिमाटीमा खेतियोग्य जमिन कटान गर्दै आएको छ । जग्गा कटान गर्दै आएपछि बस्तीसमेत जोखिममा रहेको स्थानीयले बताए । बूढीगंगा नदीले अछाममा रहेको धार्मिकस्थल बजैनाथ क्षेत्रको केही भूभाग पनि कटान गर्दै आएको छ । मन्दिर पनि नदिको चपेटामा परेको छ । हरेक वर्ष नदीको मारमा साँफे मार्तडी राजमार्ग पनि पर्दै आएको छ । अछामको साँफेदेखि बाजुराको मार्तडीसम्म ५७ किलोमिटरमध्ये अधिकांश सडकखण्डको नदीकै किनारमै रहेका छन् ।
बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका, बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाका तटीय क्षेत्रका जोखिम बस्तीको व्यवस्थापनमा कसैको ध्यान गएको देखिँदैन । बुढीगंगा नदिको बहावसँगै तटीय क्षेत्र कटान गर्दा दर्जनौ बस्ती बगाएको छ तर तिन ओटै सरकारबाट भने कुनै पहल हुन सकेको छैन । तत्कालीन अवस्थामा पाल, दाल, चामल दिएको भए पनि दीर्घकालीन योजना नबनाएकै कारण आउने वर्षात्को समयमा पनि दर्जन बढी बस्ती झन जोखिममा रहने देखिन्छन् ।
२०७९ को साउन २५ गते गएको बाढीले एक गाउँपालिका र तीन नगरपालिकाका गरी दर्जन बढी बस्ती जोखिममा परेका भए पनि स्थानीयले सरकारबाट कुनै सहुलियत नपाएको गुनासो गरेका छन् । बूढीगंगा नदिले तिन झोलुंगे पुल र गाडी गुडने एउटा बेलिब्रिज बगाएको थियो । त्यो बेला बाजुरा जिल्ल्लादेखि अछामको साफेँसम्मका तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा रहेका बेला तकालीन गृहमन्त्री रामबहादुर थापासहित प्रदेशका मुख्यमन्त्री र मन्त्रीसमेत बाजुरा पुगेर अनुगमन गरेको भए पनि कटान रोक्नका लागि कुनै काम नगरेको पाइएको छ ।