बैंकको निष्क्रिय कर्जा बढ्यो, चारले लाभांश दिन नसक्ने
काठमाडौं– अधिकांश वाणिज्य बैंकको निष्क्रिय कर्जा बढेको छ । गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार २० मध्ये १३ बैंकको निष्क्रिय कर्जा बढेको देखिएको छ । अर्थतन्त्रको सुस्तताका कारण ऋणीको ऋण तिर्न सक्ने क्षमता घटिरहेको अवस्थामा बैंकहरूले कर्जा असुल्न नसकेपछि यस्तो कर्जा बढेको हो । वित्तीय विवरणअनुसार सात वटा वाणिज्य बैंकको भने निष्क्रिय कर्जा घटेको छ ।
आव २०८०–८१ मा कुमारी, हिमालयन, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई र एभरेष्ट बैंकले मात्र निष्क्रिय कर्जा घटाएका छन् । तीन वटा वाणिज्य बैंकको निष्क्रिय कर्जा उच्च छ । उनीहरूको निष्क्रिय कर्जा ४.९ प्रतिशतभन्दा बढी छ । यसैगरी अरु ५ बैंकको निष्क्रिय कर्जा ४ प्रतिशतभन्दा बढी रहँदा सात बैंकको ३ देखि ४ प्रतिशतको बीचमा रहेको छ ।
यस्तै, २ देखि ३ प्रतिशतको बीचमा निष्क्रिय कर्जा रहेका बैंकको संख्या तीन छ । सानिमा बैंकको कुल कर्जाको १.३१ प्रतिशत निष्क्रिय कर्जा हुँदा एभरेष्टको ०.७१ प्रतिशतमात्रै छ । सबैभन्दा कम निष्क्रिय कर्जा हुने बैंकमा एभरेष्ट बैंक छ ।
एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी छ । यो बैंकको निष्क्रिय कर्जाको आकार ०.८८ प्रतिशतबाट २.५३ प्रतिशत बिन्दुले बढेर ३.४१ प्रतिशत पुगेको हो । लक्ष्मी सनराइज, माछापुच्छ्रे र ग्लोबल आइएमई बैंकको निष्क्रिय कर्जा पनि १ प्रतिशत बिन्दुभन्दा बढीले वृद्धि भएको छ । बैंकको निष्क्रिय कर्जाको साधारण औषत ३.०१ प्रतिशतबाट ३.५४ प्रतिशत पुगेको छ ।
चार बैंक लाभांश दिन नसक्ने अवस्थामा
गत असार मसान्तसम्ममा २० वाणिज्य बैंकको वितरणयोग्य नाफा ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ छ । अघिल्लो आवको असार मसान्तसम्म १५ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ वितरणयोग्य नाफा थियो । यो अवधिमा बैंकहरुको वितरणयोग्य नाफा ५१.२८ प्रतिशतले घटेको छ ।
वाणिज्य बैंकको नाफा गत आवको असार मसान्तसम्म ६४ अर्ब १५ करोड रुपैयाँ भए पनि त्यसको करिब १२ प्रतिशत अर्थात् ७ अर्ब ६२ करोड रुपैयाँमात्रै वितरणयोग्य नाफा रहेको छ । २० वाणिज्य बैंकमध्ये ५ वटाको वितरणयोग्य नाफा बढेको छ भने ९ वटाको घटेको छ । यस्तै, ४ वटा बैंक लाभांश दिन नसक्ने अवस्थामा छन् । लाभांश दिन नसक्ने बैंकहरूमा एनआईसी एशिया, नेपाल इन्भेष्टमेण्ट मेगा, कुमारी र हिमालयन बैंक छन् । यी बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।
गत वर्ष ऋणात्मक रहेका दुई बैंकको वितरणयोग्य नाफा धनात्मक भएको छ । अघिल्लो आवमा ऋणात्मक रहेको प्रभु बैंक र प्राइम बैंकको वितरणयोग्य नाफा गत आवमा क्रमशः १ अर्ब २२ करोड ३९ लाख र १ अर्ब १९ करोड ९६ लाख रुपैयाँ रहेको छ । २० बैंकमध्ये सबैभन्दा बढी वितरणयोग्य नाफा नबिलको छ । यस बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २१.०३ प्रतिशतले बढी हो ।
एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४.५० प्रतिशतले कम हो । कृषि विकास बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड २८ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो आवको तुलनामा ११४.१९ प्रतिशतले बढी हो । नेपाल एसबीआई बैंकको वितरणयोग्य नाफा ५.५८ प्रतिशतले बढेर १ अर्ब १३ करोड २ लाख पुगेको छ । यस्तै, नेपाल बैंकको पनि वितरण योग्य नाफा बढेर ७६ करोड ९३ लाख र राष्ट्रिय वाणिज्य बैंकको ८२.८२ प्रतिशतले बढेर ५८ करोड २१ लाख रूपैयाँ कायम भएको छ ।
स्टयाण्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा ७.८० प्रतिशतले घटेर असार मसान्तसम्म २ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । सानिमा बैंकको वितरणयोग्य नाफा ३६.२४ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २३ लाख, लक्ष्मी सनराइज बैंकको २५.५३ प्रतिशतले घटेर १ अर्ब २८ करोड ७१ लाख र ग्लोबल आइएमई बैंकको ६५.९४ प्रतिशतले घटेर १ अर्ब १० करोड ४६ लाख रुपैयाँ वितरणयोग्य नाफा कायम भएको छ ।
यता सिटिजन्स बैंकको २७.२६ प्रतिशतले घटेर ६१ करोड ६१ लाख, माछापुच्छ्रे बैंकको ६७.८० प्रतिशतले घटेर ४६ करोड ६४ लाख, सिद्धार्थ बैंकको ४४.७६ प्रतिशतले घटेर ३६ करोड ६६ लाख र एनएमबि बैंकको ७९.०५ प्रतिशतले घटेर २३ करोड ९० लाख रुपैयाँ वितरणयोग्य नाफा कायम भएको छ ।