सडक डिभिजनको पुँजीगत खर्च ८८ प्रतिशत
जुम्ला– सडक डिभिजन जुम्लाको पुँजीगत खर्च ८८ प्रतिशत भएको छ । जुम्ला, मुगु र कालिकोट कार्यक्षेत्र रहेको सडक डिभिजनले गत आर्थिक वर्षमा पुँजीगततर्फ ८८.२५ प्रतिशत खर्च गरेको हो । मौसम प्रतिकूलता, भौगोलिक विकटता, जिम्मेवार रूपमा काम नगर्ने ठेकेदारलगायतका चुनौतीबीच डिभिजनको बजेट खर्च सन्तोषजनक देखिएको छ ।
सडक डिभिजन जुम्लाले कर्णाली राजमार्गको दैखोला–जुम्ला १०४ किमी, नाग्म–गमगडी सडकको ९३ किमीको स्तरोन्नति सुधारलगायत अन्य आठ ठूला सडक आयोजनाहरू सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा पुँजीगततर्फ विनियोजित १ अर्ब ४३ करोडमध्ये असार मसान्तसम्ममा १ अर्ब २५ करोड बजेट खर्च भएको सडक डिभिजन जुम्लाका निमित्त डिभिजन प्रमुख चेतन कुमार मण्डलले बताए ।
उनका अनुसार विनियोजित पुँजीगत बजेटमध्ये १८ करोड ३१ लाख खर्च हुन नसकेर फिर्ता भएको छ । साधारणतर्फ विनियोजित १ करोड ८८ लाखमध्ये १ करोड ४५ लाख अर्थात् ७६.९६ प्रतिशत खर्च भएको छ । साधारणतर्फ ४३ लाख रुपैयाँ बढी फ्रिज भएको छ । डिभिजनको प्रगति विवरण अनुसार तीन जिल्लामा एक वर्षभित्र कालोपत्रे ६ किमी, ग्राभेल ६ किमी, सडक चौडा १० किमी, नयाँ ट्रयाक निर्माण ४ किमी, ३० किलोमिटर पटके सडक निर्माण गरिएको मण्डलले बताए ।
त्यस्तै, कार्यक्षेत्रका तीन वटै जिल्लामा सबैभन्दा धेरै २ सय ३० किलोमिटर नियमित सडक मर्मत गरिएको प्रगति विवरणमा उल्लेख छ । आवधिक सडक मर्मत कार्य २ किमी र आकस्मिक सडक मर्मत कार्य ९५ किमी गरिएको छ । बाढी पहिरो आइरहने र पटक पटक सडकहरू अवरुद्ध भइरहने भएकोले नियमित सडक मर्मत कार्य बढी देखिएको हो । अविरल वर्षाका कारण कर्णाली राजमार्ग र नाग्म–गमगडी सडक पटक पटक अवरुद्ध हुने गरेको छ ।
साबिक कर्णालीको जनजीवनसँग जोडिएका दुई राजमार्ग खुलाउन र नियमित खाल्डा खुल्डी पुर्नेलगायतका काम गर्न सडक डिभिजनले विशेष प्राथमिकताका साथ सडक मर्मत गर्ने गरेको छ । जसका कारण गत वर्ष सबैभन्दा बढी २ सय ३० किमी सडक नियमित सडक मर्मत कार्य गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ । नाग्म–गमगडी सडकको ९३ किमीमध्ये ६ किमी सडक कालोपत्रे गरिएको छ ।
आयोजनाको खर्च विवरण
सडक डिभिजन जुम्लाले एक अर्ब बढी लगानीका आठ वटा सडक आयोजना सञ्चालन गरिरहेको छ । कर्णालीको भौगोलिक विकटतालाई मध्यनजर गर्दै सञ्चालित सडक आयोजना द्रुत गतिमा अघि बढी रहेको छ । जसमा ‘सुर्खेत–दैलेख बजार–महावुलेक–गाल्जे भात्तडी, रत्तडा–नाग्म–गमगडि–नाक्चेलाग्ना’ सडक आयोजनामा ३५ करोड ५० लाख विनियोजन भएकोमा २९ करोड खर्च भएको छ ।
स्थानीय सडक पुल निर्माणतर्फ २ करोड ६३ लाख विनियोजन भएकोमा २ करोड ५४ लाख खर्च भएको छ । रणनीति सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण कार्यक्रममा १ करोड ३७ लाख विनियोजन भएकोमा एक करोड खर्च भएको छ । राजमार्ग स्तरोन्नति तथा पुनस्थापना कार्यक्रममा ९ करोड विनियोजन भएको थियो । जसमा ३ करोड ७५ लाख खर्च भएको छ ।
मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनामा ३ करोड ८१ लाख विनियोजन भएकोमा सबै बजेट खर्च भइसकेको छ । यद्यपि उक्त आयोजनामा बजेट अभाव देखिएको छ । वैकल्पिक सहायक मार्ग निर्माण कार्यक्रममा ३ करोड १८ लाख रुपैयाँ विनियोजन भएकोमा १ करोड ७२ लाख खर्च भएको छ । यो आयोजनामा रकमान्तर नहुँदा बाँकी बजेट फ्रिज भएको छ । निर्माण क्षेत्र रणनीति सडकका लागि ५ करोड ५० लाख विनियोजन भएकोमा विनियोजित रकम सबै खर्च भएको छ ।
जुम्लामा संघतर्फ निर्वाचन क्षेत्र एउटा मात्रै रहेको छ । सडक बोर्ड नेपालअन्तर्गतको आकस्मिक मर्मत कार्यका लागि ७३ करोड ८९ लाखमध्ये असार अन्तिमसम्ममा ६८ करोड १० लाख खर्च भएको छ । कर्णाली राजमार्ग र नाग्म–गमगडी सडक सडक सञ्चालन भएको वर्षाै बित्दा पनि संघीय सरकारले प्राथमिकता नदिनु र जुम्ली सांसदहरू एकजुट भएर पहल कदमी नगर्दा सडक हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने गरेको छ ।