मानवीय लापरबाहीका कारण डुम्रे–बेसीसहर सडक जोखिममा

लमजुङ– लमजुङ र मनाङ प्रवेश गर्ने एकमात्र सडक मानवीय लापरबाहीका कारण जोखिममा परेको छ । बेसीसहर नगरपालिका–१, उदिपुरस्थित अँधेरी खोला र दलालमा जथाभावी ढुंगा निकाल्दा सडक जोखिममा परेको हो ।
ढुंगाखानीबाट ठूला ठूला चट्टानसहितको बाढी आएपछि अंधेरी खोलामा सडक नै भास्सिने गरी भत्किएको छ भने दलालमा केही घर र विद्युत प्राधिकरणको सबस्टेसन नै जोखिममा परेको छ । मनसुन सुरु भएसँगै अधेरी खोला र दलालमा पटक–पटक यातायातसमेत अवरुद्ध हुँदै आएको छ । दुवै स्थानमा अनपेक्षित पहिरो जानुमा मानवीय लापरबाही भएको लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताए । ‘सडकमा पहिरो झरेपछि हामी विपद व्यवस्थापन समितिका साथीले स्थलगत अवलोकन गरियो,’ प्रजिअ गुरुङले भने, ‘विकास निर्माणका काम गर्दा वातावरणीय पक्षमा ध्यान नदिएको पाइयो ।’
प्रजिअ गुरुङका अनुसार अहिले ढुंगा निकाल्ने काममा रोक लगाइएको छ । ‘सडक जोखिमलाई ध्यानमा राखेर विपद व्यवस्थापन समितिको बैठकले ढुंगा निकाल्न रोक लगाइएको छ,’ प्रजिअ गुरुङले भने । सडक नै भास्सिने गरी बाढीले क्षति पुर्याएपछि डुम्रे–बेसीसहर–चामे सडक योजनाले सडक मर्मतको काम सुरु गरेको छ । यद्यपि दैनिकजसो वर्षा र बाढीले अपेक्षित काम हुन नसकेको डुम्रे बेसीसहर चामे सडक योजना निमित्त प्रमुख किरण पोख्रेलले बताए ।
‘सडक जीर्ण र जोखिम बढेपछि थप क्षति हुन नदिन उपलब्ध स्रोत र साधन परिचालन गरेर सडक मर्मतलाई प्राथमिकता दिएका छौँ ।’ योजना प्रमुख पोख्रेलले भने, ‘निरन्तर वर्षासँगै बाढी र आवश्यकता अनुसार जनशक्ति नहुँदा पनि सोचे अनुरुप काम हुन सकेको छैन ।’
डुम्रे बेसीसहर सडकअन्तर्गत अहिले सवैभन्दा जोखिमपूर्ण स्थान सोही अँधेरी खोला बनेको छ । ठूलो वर्षासँगै बाढी आएको बेला सो खोलामा पटकपटक यातायातसमेत अवरुद्ध हुँदै आएको छ । सो सडक खण्डअन्तर्गत उदिपुर दलालमा पनि पहिरोका कारण पटक पटक यातायात अवरुद्ध हुने गरेको छ ।
पहिरोले सडकसँगै बस्ती नै जोखिममा पारेपछि दलालको बस्तीलाई सुरक्षित स्थानमा सर्न प्रशासनले आगह गरेको छ । जोखिम सडकका कारण लमजुङ सदरमुकाम बेसीसहरसहित हिमाली जिल्ला मनाङ सम्मको यातायात प्रभावित हुने गर्दछ ।
अघिल्ला वर्षमा अधेरीखोला नजिकै ठूलो पहिरो जाँदा धेरैपटक सडक अवरुद्ध भएको थियो । पहिरोले सडक भत्किएपछि लमजुङ सदरमुकाम बेसीसहरसहित हिमाली जिल्ला मनाङसम्मको यातायात प्रभावित हुँदै आएको थियो । उपयुक्त वैकल्पिक सडक नहुँदा अहिले पनि सोही प्रकारको जोखिम रहेको प्रशासनले जनाएको छ ।
डुम्रे बेसीसहर सडकबाहेक बेसीसहर चामे सडकअन्तर्गत बेसीसहर–६, स्थित खरखरे पहिरोले पनि यातायात सञ्चालन चुनौती दिँदै आएको छ । सामान्य वर्षा र पानी नपरेको बेला पनि सुक्खा पहिरो निरन्तर खस्ने हुँदा खरखरेमा दिनहुँ जसो सडक अवरुद्ध हुने गरेको छ । जसले गर्दा दिनहुँ यात्रुले दु:ख पाउने गरेका छन् ।