Logo

खारा खोलामा पुलको म्याद थप्दै, काम अलपत्र पार्दै ठेकेदार

वीरेन्द्रनगर (सुर्खेत)– छेडाचाँदे–जुम्ला सडक खण्डभित्र पर्ने जाजरकोटको साल्मा खोलामा (खारा) पक्की पुल निर्माण नहुँदा समस्या हुँदै आएको छ । पुल निर्माण कार्य सुरु भएको चार वर्षसम्म आधा पिल्लर उठाएर बीचमै छाडेको छ ।

छेडागाड नगरपालिका–१ र ४ जोड्ने साल्मा खोला (खारा)मा पुल निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीले बीचैमा काम छोडेपछि करिब चार वर्षदेखि अलपत्र परेको हो । पूर्वाधार विकास कार्यालय, जाजरकोटले लगाएको ठेक्काको काम बीचमै अलपत्र पर्दा दैनिक यो सडक खण्डभित्र चल्ने यातायातका साधनले सास्ती भोग्नुपरेको छ ।

पूर्वाधार विकास कार्यालय जाजरकोटले साल्मा खोलामा पुल निर्माण गर्न नेपाल मेघा सिस्ने जेभी नेपालगन्जसँग २०७८ साल असोज २९ गते सम्झौता गरेको थियो । चार करोड ८८ लाखमा २०८० साल माघ २८ गते सम्पन्न गर्ने जिम्मा लिएको निर्माण व्यवसायीले दुईवटा पिल्लरको काम गरेर बीचमै छोडेर अलपत्र परेको छ ।

जुनीचाँदे गाउँपालिका, कुसे गाउँपालिका र छेडागाड नगरपालिकाका सबै वडाका बासिन्दाको मुख्य सडकको साल्मा खोलामा पुल नभएपछि नेपालगन्ज, सुर्खेत, काठमाडौँ आवतवाजत गर्न, स्थानीय तहमा सेवा लिन आउँदाजाँदा स्थानीयले सास्ती भोग्ने गरेको छेडागाड नगरपालिकाका इन्जिनियर प्रेम केसीले जानकारी दिए ।

छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्काले पूर्वाधार विकास कार्यालयले पुल निर्माणमा ध्यान दिन नसकेको आरोप लगाए । ‘ठेक्का तोडेर अगाडि बढ्छु भन्नुहुन्छ कार्यालय प्रमुखले तर काम भने केही भएको छैन, उनले भने । निर्माण व्यवसायी पनि सम्पर्कमा आउन नसकेको अवस्था छ, ठेक्का अरुको भए पनि दु:ख हामीले पाइरहेका छौँ उनले थपे । मेयर खडका आफैँ पनि विभिन्न ठेक्का लिएर विभिन्न ठाउँमा काम गरिरहेका छन् ।

छेडागाड नगरपालिका–१ र २ बासिन्दाले प्रशासनिक केन्द्र आउनजान वैकल्पिक बाटो नहुँदा खोलामै पस्नुपर्ने बाध्यता छ । पूर्वाधार विकास कार्यालयका प्रमुख सोहिन्दर यादवका अनुसार २०८० असार मसान्तसम्म म्याद थप मागेपछि १३औँ संशोधनले निर्माणाधीन अवस्थाका योजनाको म्याद थप गर्ने व्यवस्थाअनुसार नेपाल मेघा सिस्ने जेभी नेपालगन्जले म्याद थपको निवेदन दिएपछि म्याद थप्दासमेत पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन । म्याद थप्ने काम कामबाहेक अन्य कुनै काम भएको पाइएको छैन ।

यही ठाउँमा छेडागाड नगरपालिका, जुनीचाँदे, कुसे गाउँपालिकाका अधिकांश बासिन्दालाई यातायातमा सहजता ल्याउन छेडागाड नगरपालिकाले पहिलो कार्यकालमा साल्मा खोलामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट करिब ८० लाखभन्दा बढी रकम खर्च गरी कजवे निर्माण गरेको थियो ।

असारमा निर्माण गरेको कजवे साउनको भेलले बगाएपछि बर्खाको समयमा सर्वसाधारणले सहज रूपमा आवतजावत गर्न मुस्किल भएको थियो । एउटै ठेक्काको काम चार वर्षसम्म काम पूरा नगरी अलपत्र पार्ने निर्माण व्यवसायीलाई यहाँका जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायले कुनै खबरदारी नगरेको स्थानीयबासीले आरोप लगाउँदै आएका छन् ।

जाजरकोट क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्य राजिवविक्रम शाहले पश्चिम क्षेत्रको विकास निर्माणमा भएको ढिलासुस्तीका विषयमा मतलब नगरेको उनी निकट दलकै कार्यक्रताको आरोप छ । यत्ता कार्यालय प्रमुख यादवले प्रशासनको साथ नपाएको बताएका छन् । पटकपटक काम गर्नका लागि पत्राचार भए पनि उपलब्धि हुन नसकेको उनको भनाइ छ । यही पुलबाट मध्यपहाडी लोकमार्ग र भेरी करिडोर जोडिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्