बोक्सी आरोपमा दम्पतीलाई गाउँ निकाला गर्ने ९ जनाविरुद्ध किटानी जाहेरी

दोलखा-बोक्सीको आरोपमा दम्पतीलाई नै गाउँ निकाला गर्ने समूहका नाइके रत्न नारायण श्रेष्ठ पक्राउ परेका छन् । दोलखाको बिगु गाउँपालिका वडा नं. ५ स्याँखुमा जबरजस्ती बोक्सा–बोक्सीको आरोप लगाएर एक दम्पतीलाई सामाजिक बहिस्कार गराएको आरोप उनीमाथि छ । रत्ननारायण स्थानीय टोल सुधार समितिका अध्यक्ष समेत हुन् ।
उनी सहित सहित ९ जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ । चिलंखाको स्याँखु गाउँका रत्न बहादुर श्रेष्ठ र उनकी श्रीमती कृष्णकुमारी श्रेष्ठलाई जबरजस्ती बोक्सीको आरोप लगाएर सामाजिक बहिस्कार गरेको भन्दै स्याँखु टोल सुधार समितिका अध्यक्ष रत्न नारायण श्रेष्ठ सहित ९ जना विरुद्ध किटानी जाहेरी दर्ता भएको हो । पिडित दम्पतीका छोरा भाजुराम श्रेष्ठले आफ्ना बाबु आमालाई बोक्सा बोक्सीको आरोप लगाएर बहिस्कार गरेपछि इलाका प्रहरी कार्यालय सिंगटीमा जाहेरी दिएका थिए ।
जाहेरीपछि प्रहरीले स्याँखु टोल सुधार समितिका अध्यक्ष रत्न नारायण श्रेष्ठलाई पक्राउ गरेको छ । अन्य ८ जनाको भने खोजी भैरहेको दोलखाका प्रहरी निरिक्षक रेशम बोहोराले जानकारी दिए । बोहोराका अनुसार उनीहरु विरुद्ध बोक्सी सम्बन्धि आरोप कसुर र सजाय ऐन २०७२ अन्तर्गतको मुद्दा दर्ता भएको बोहोराले जानकारी दिए ।
गाउँमा हुने सामाजिक कार्यहरुमा पनि प्रतिबन्ध लगाइएका उनीहरुलाई धामीझाँक्रीले पटक पटक बकेको भन्दै अभद्र व्यवहार गरिँदै आएको थियो । यसअघि आरोप र दुव्र्यवहार मात्रै गर्दै आएका गाउँलेहरु आबद्ध भएको टोल सुधार समितिले मंसिर १ गते रत्न बहादुरलाई टोल समितिबाट हटाउने निर्णय गरेको थियो ।
उनलाई अन्यत्र कुनैपनि सामाजिक कार्यमा सहभागी नगराउने निर्णय गरेको बैठक पुस्तिका प्रहरीले सार्वजनिक गरेको छ । १ सय १३ जनाले हस्ताक्षर गरेको उक्त बैठक पुस्तिकामा बोक्सा बोक्सीलाई गाउँ निकाला गरिदिने, इन्द्रजाल किताब तत्काल उपलब्ध गराउनुपर्ने, झाँक्रीले स्पष्ट बकेकाले उनीहरु खास बोक्सा–बोक्सी हो भनेर निर्णय गरेपछि पिडितहरु गाउँ छोडेर न्याय खोज्न सदरमुकाम आएका हुन् ।
गाउँलेले उनीहरुलाई जबरजस्ती बोक्सा बोक्सी हुँ भनेर ल्याप्चे समेत लगाउन लाएका छन् । भक्कानिँदै रत्न बहादुरकी श्रीमती कृष्णकुमारीले भनिन्, “चार ठाउँमा सही थिचाए, होइन भन्दा उल्टै पटक पटक हामीमाथि कुटपिट भयो । अनि न्याय खोज्न जिल्ला आयौं ।” उनीहरुलाई यसअघि ३ पटकसम्म यातना दिएको पीडितहरुले बताएका छन् ।