‘उद्योग चलाउनुस्, लाइसेन्स दिनेले संरक्षण पनि गर्छ’ «

‘उद्योग चलाउनुस्, लाइसेन्स दिनेले संरक्षण पनि गर्छ’

देशमा उद्योगधन्धाको अपेक्षाकृत वृद्धि नभइरहेका बेला लाइसेन्स जारी गर्ने निकायबाटै झन्झट थपिएको उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन् । सरकारले समृद्ध नेपालको नारा अगाडि सारे पनि त्यसको आधार विन्दु उद्यम व्यवसायको संरक्षणमा ध्यान दिन नसकेको उनीहरूको भनाइ छ । सोमबार आयोजित पाचौं उद्योग दिवसको अवसरमा आयोजित अन्तत्र्रिmयामा उनीहरूले देशमा लगानी बढाउनका लागि उद्यम व्यवसायको संरक्षणकारी नीति आवश्यक रहेको बताएका हुन् ।
एकातर्फ सरकारले दुई दर्जन वस्तुमा आत्मनिर्भर हुन चालू वर्षको नीति तथा कार्यक्रमबाट घोषणा गरेको छ । अर्काेतर्फ उद्यमी व्यवसायीहरूले लाइसेन्स जारी गर्ने निकायबाटै संरक्षण नपाएको, स्थानीय तह, प्रदेश तह र संघीय सरकारबाट प्रशासनिक तथा कानुनी रूपमा छुट्टाछुट्टै प्रावधानले हैरानी बेहोर्नु परेको, ऐन कानुनले दिएको सुविधा समेत सहज ढंगले पाउन नसकेको जस्ता अवरोध सुनाएका थिए । देशमा उद्यम व्यवसाय बढाउन सरकारले वाह्य मुलुकको अभ्यासबाट सहजीकरणको नीति लिनुपर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर बताउँछन् । निर्यात गर्ने उद्यमीलाई विदेशमा शाखा खोल्न, बजारीकरण गर्न तथा सञ्जाल विस्तारका लागि आवश्यक पर्ने रकममा सहजीकरण गर्नुपर्ने भन्दै सरकारले थोरैमात्रै सहयोग गरे तत्कालै एक दर्जन वस्तुमा आत्मनिर्भर बन्न सक्ने बताएका छन् । उद्योग क्षेत्रमा धेरै समस्या भएकोले यही अवस्थामा आत्मनिर्भर बन्न भने निकै कठिन भएको उनको अनुभव छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान पनि उद्योग दर्ता र सम्बन्धित कामहरूका सम्बन्धमा सरोकारवाला निकाय जवाफदेही नभएको भन्दै यसका लागि निर्धारित समय तोक्नुपर्ने बताउँछन् । बढीमा कति दिनभित्र उद्योग दर्ताका प्रक्रिया सक्नुपर्ने भन्ने कानुनको कार्यान्वयन किन भएन ? भन्दै उनले उद्योग दर्तामै वर्षदिन वितेपछि कार्यप्रगति यसै शून्य हुने बताए । यस्तै, लघु घरेलु तथा साना उद्यमी महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले पनि सरकारले सहजीकरणको नीति लिएमा साना मझौला उद्योगबाट धेरै रोजगारी सिर्जना र अर्थतन्त्रमा टेवा दिनसक्ने बताए ।
उद्यमी व्यवसायीका कुरा सुनेपछि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले उद्योगीलाई अब ढुक्क भएर आफ्नो व्यवसाय लाग्न आग्रह गर्दै त्यसका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए । “म आफैँ पनि उद्योगी हुँ, उद्योगीलाई कस्ताकस्ता समस्या हुन्छन् भन्नेमा म जानकार छु ढुक्क हुनुस् अबको उद्योग मन्त्रालय पहिलेको जस्तो हुनेछैन,” उनले भने । उद्योगीलाई विभिन्न मन्त्रालयसँग सम्बन्धित समस्याहरू बोकेर उद्योग मन्त्रालय आएपछि उनले नै सबैसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । “देशमा उद्योगी तथा व्यवसायीका जेजस्ता समस्या छन, ती सबै समस्या मेरा पनि समस्या हुन्, उद्योगको विकास गर्ने जिम्मा मेरो काँधमा आएको छ,” उनले भने । यदि आफूले गरेर देखाउन नसके असफल घोषित गरिदिन पनि आग्रह गरेका छन् । राज्यमन्त्री दुगडले आफूमातहतको रहेका संस्थानलाई घाटामा समेत जान नदिने प्रतिवद्धता जनाए । लाइसेन्स जारी गर्ने निकायले संरक्षण पनि गर्ने भएकोले ढुक्क भएर उद्यम गर्न आग्रह गरे ।
उद्योगसचिव यामकुमारी खतिवडाले कुनकुन उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ भनेर उद्योग मन्त्रालयले निजी क्षेत्रसँग सूची मागेको बताइन् । सरकारले आफ्नो तवरबाट सूची बनाइरहेको र भने निजी क्षेत्रबाट पनि थप सूची मागेको उनले बताएकी छन् । उनले भनिन्, “तत्कालै आत्मनिर्भर बन्न सक्ने क्षेत्र कुनकुन हुन्, केही समय पछि आत्मनिर्भर बन्न सक्ने क्षेत्र कुनकुन हुन्, निजी क्षेत्रले त्यसको विस्तृत विवरण पठाएपछि सरकारले आवश्यक प्रक्रिया थाल्नेछ ।”
उद्योग परिषद्देखि दिवससम्म
१९९२ मंसिर ९ गते नेपालमा पहिलोपटक उद्योग परिषद् स्थापना भएको दिनलाई स्मरण गर्दै २०७२ सालदेखि यो दिवस मनाउन थालिएको हो । २०७१ चैत २० गते मन्त्रिपरिषद् बैठकले मंसिर ९ गतेलाई उद्योग दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । उद्योग विभागको तथ्याकअनुसार आर्थिक वर्ष ०७५-७६ सम्म ठूला, मझौला र साना गरेर विभागमा ८ हजार ९५ वटा उद्योगहरू दर्ता भएका छन् । यी उद्योगहरूमा २० खर्ब ३७ अर्ब हाराहारी कुल पुँजी परिचालन भएको विभागको तथ्यांकले देखाउँछ । यी उद्योगहरूले सवा ६ लाख मानिसलाई रोजगारी प्रदान गरेको उद्योग विभागले जनाएको छ । यो विवरणमा लघु, घरेलु तथा साना उद्योगको तथ्यांक भने पर्दैन । यी सबै गरेर नेपालमा कुल उद्योग संख्या भने ३ लाख ८७ हजारभन्दा धेरै रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्