रोपाइँ गर्न आकाशे पानीकै भर
१ वर्षमा २० करोडका सय बढी सिँचाइ कुलो निर्माण
बाजुरा– बाजुरामा गत आर्थिक वर्ष २०८०/०८१ मा २० करोड बढी लागतमा एक सय तीनवटा सिँचाइ कुलो बनेका छन् । गत आर्थिक वर्षमा जिल्लाका नौवटै स्थानीय तहमा २० करोड ६५ लाखमा १०३ वटा पक्की कुलो निर्माण भएका हुन् । जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय बाजुराको तथ्यांकअनुसार गत वर्षमा मात्रै करोडौं बढी लागतमा जिल्लाभर एक सय तीन सिँचाइ योजना सम्पन्न भएको जनाएको छ ।
केही तटबन्धन बने पनि सय बढी पक्की कुलोमात्रै निर्माण भएको तथ्यांकमा उल्लेख गरिएको छ । एक वर्षमा सबैभन्दा बढी १२ करोड लागतमा जिल्लाको बूढीगंगा नगरपालिकामा एक तटबन्धनका साथैं पक्की कुलो निर्माण भएका छन् । जिल्लामा सबैभन्दा कम सिँचाइको सुविधा पुगेका हिमालीमा ३० लाख लागतमा दुई र जगन्नाथ गाउँपालिकामा ४५ लाख लागतमा दुई वटामात्रै कुलो निर्माण भएको कार्यालयका निमित्त कार्यालय प्रमुख नरबहादुर हमालले जानकारी दिए ।
ती पालिकामा कुल खेतीयोग्य जमिनको ९७ प्रतिशत जमिनमा आकाशेपानीको भरमा खेति गरिँदै आएको छ । त्यस्तै करिब १० प्रतिशत सिँचाइ सुविधा पुगेको कर्णाली पारिको स्वामिकार्तिक खापर गाउँपालिकामा एक करोड बढी लागतमा आठवटा कुलो निर्माण भएका छन् भने जिल्लामै सबैभन्दा बढी सिँचाइको सुविधा पुगेको बडिमालिका नगरपालिकामा तीन करोड बढी लागतमा १७ वटा सिँचाइ योजना बनेको जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय बाजुराका निमित्त प्रमुख हमालले बताए ।
यस वर्ष सिँचाइ कार्यालयमा संघ तथा प्रदेशबाट २३ करोड ८१ लाख बजेट विनियोजन भएकोमा २० करोड ६५ लाख खर्च भएको निमित्त प्रमुख हमालले बताए । वास्तविक स्थान र जनताको आवश्यकताका आधारमा नभई पहुँच र शक्तिका आधारमा योजना ल्याउने प्रवृतिले जिल्लामा हरेक वर्ष करोडाैं रुपैयाँ खर्च गरेर सिँचाइ योजना निर्माण भए पनि नतिजा भने निकै कम देखिएको निमित्त कार्यालय प्रमुख हमालले बताए ।
निमित्त कार्यालय प्रमुख हमालले भने, ‘जुन ठाउँमा प्रमुख आवश्यकता हुन्छ त्यहाँ कम बजेटका योजना आउने र जसको पहुँच र पावर छ त्यहाँ करोडौंका योजना हरेक वर्ष आउँछन् ।’ यसरी हरेक वर्ष संघ तथा प्रदेशबाट करोडौं बजेटका योजना गाउँगाउँमा पुगेपछि केही ठाउँका किसानलाई राहत भए पनि केही गाउँका वास्तविक किसानलाई भने खेती गर्न आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता रहँदै आएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांकले देखाउँछ ।
हरेक वर्ष करोडौंको लगानीमा टाढाका खोला तथा नदीको पानी खेतबारीसम्म पुर्याउन पक्की कुलो बने पनि जिल्लामा हालसम्म १८ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको छ भने बाँकी खेतीयोग्य जमिनमा आकाशे पानीकै भरमा खेती गरिँदै आएको छ ।
जिल्लाको दुई लाख ३० हजार ३७ हेक्टर क्षेत्रफल जमिनमध्ये २८ हजार १३५ हेक्टर जमिन खेतीयोग्य रहेको छ । हालसम्म ३५ सय २५ हेक्टर जमिन सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांकमा छ । अझै २२ हजार नौ सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न नसकेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांकमा उल्लेख गरिएको छ ।